७ आश्विन २०७९, शुक्रबार

चाड आउने बित्तिकै कन्चट रन्किने नबनाउँ





तीज महिलाहरूले मनाउने एउटा महत्त्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्त्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलि आएको परम्परा हो । आफू जन्मेको घर, मातापिता, दाजुभाई दिदीबहिनी आफन्तबाट टाढा पतिको घर गैसकेपछि त्यहाँका तितामिठा अनुभवहरु माइती तथा साथीभाइहरुसँग गीतको रुपमा पस्कने महत्त्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्त्व रहेको छ । तीजमा विशेष गरि घ्युँ र दुधमा पकाईएका मिठा परिकारहरु चेलीलाई खुवाईन्छ। महिलाहरूलाई परार्इ घरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै बर्त बसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी बर्त बस्छन ।

तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको,विशेष गरि तिजलाई नै लक्षित गरेर कोदालोले खनेर रोपेको धानबाट बनाइएको चामल वा अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमानले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ ।
तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ । धार्मिक संस्कारयुक्त तीज सर्वमान्य हुन्छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । ह्दय स्वच्छ भए मनोकाँक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तरनिहित छ ।

आजको तीज धेरै आधुनिक भैसकेको छ । आजकल तीज धार्मिक महत्त्व र चाडको रुपमाभन्दा पनि अरुलाई देखाउन, गरगहना प्रदर्शन गर्न अनि हैसियत मापन गर्नका लागि जस्तो देखिन थालेको छ । पार्टी प्यालेसको जमघट, वाइन र बियर मासुको खानपान, महँगा साडी र सुनका झरिझट्टै गहनाको प्रदर्शनले हाम्रो मौलिक तिज कता गुम हुन पुग्यो कुन्नी ? हाम्रा आमा फुपुहरुले गाएका मौलिक गीतहरु सुन्दा आधुनिकतामा आँच आँएको जस्तो गरि ‘मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए’मा रमाउनुले तिजको रौनकता, भित्री मनमा बसेको मौलिक संस्कारलाई लात हानेर आधुनिकतामा कति रमाउने हो ?

हुनत गत बर्ष र यस बर्ष पनि कोभिडका कारण पार्टी प्यालेसको जमघट केही कम चाहिँ नभएको होइन । कम भएता पनि तीज अझ भड्किलो हुदैँछ । मेरो आसय हिजो जस्तै घरमा पीडित भएर बस्नुपर्छ । माइती लिन आए मात्रै जानुपर्छ । पीडाहरु संगालेर राखेर माइतीमा मात्रै पोख्नुपर्छ भन्ने होइन ।
आधुनिक युगमा समय अनुसार परिवर्तन हुनै पर्छ । तर, परिवर्तनका नाममा देखावटी चाड मनाएर कसरी चाडको महत्व रह्यो र ?

एक्काइसौं शताब्दीको समय हो । समानताका नाराहरु हरेक क्षेत्रमा घन्किएका छन् । जसमध्ये महिलाहरुका समान अवसर, आर्थिक समानता बढि नै छलफलमा आउने कुरा हुन् । त्यसलाई पनि यहाँ जोड्न चाहें । पार्टी प्यालेसमा महँगा कपडाहरु, झपक्कै गरगहना लगाएर ‘पोइला जान पाम’ भन्ने गित बजाएर बियरको तालमा सम्पन्न नारी नाचीरहेकी छन् भने अर्कोतिर अर्की महिला च्यातिएको लुँगी बेरेर पसिना पुछ्दै तिनै खाएर नाचेका महिलाले फालेको फोहोर सोहोर्दै र जुठा भाँडा उठाउँदै हुन्छिन् । यस्ता दृश्यले समानताका बिषयलाई गिज्याउदैन र ? मान्छेको मन हो देखासिकी गर्न खोज्छ । रहर पनि लाग्छ । त्यस्तै, जमघट, पार्टी, गरगहनाको रहरले कैयौँ नरनारी ऋणले घरबारबिहिन भएका छन् । कैयौँ महिलाका घरबार बिग्रेका छन् । चाडलाई भड्किलो नपारि मनाउनु त कता हो कता झन् देखावटी हाडले घाँटी छेडिसक्यो ।

मौलिकता छैन् । आर्थिक अवस्थाको ख्याल छैन् । व्रत बसेपनि देखावटी, लुगाकपडा देखावटी गरगहना देखावटी अनि पिडाका कुरा ? व्रत बस्ने धार्मिक आस्थाका कारण कि देखाउन ?

केही कामकाजी महिलाहरुलाई साच्चै नै फुर्सद छैन् । चाडवाड पनि मान्नुपर्यो अफिसियल काम पनि गर्नुपर्यो उनिहरुले दर खान जान पनि समय मिलाउनु पर्छ । उता श्रमिक महिला हुन्छिन्, दिनभर काम नगरे बेलुका चुल्हो जल्दैन, अनि तीज त उनको पनि चाड होला १ उनलाई पनि मन लाग्ला । तर, न उनको हैसियत गाउँभरिका साथीलाई बोलाएर खुवाउने हुन्छ न त आफुलाई कसैले बोलाउँछ। अरुका अवस्था देखेर चित्त दुखाउनु र आफैलाइ धिक्कार्नु बाहेक उनको चाडमा नयाँ केही हुदैन।

हुनेले खाने हो लाउने हो । तर, नहुनेलाई असर नपर्ने गरिन्छ भनेर देखाउन जरुरत छैन् । चाडलाई चाड जस्तै बनाउँ । चाड आउने बित्तिकै कन्चट रन्किने नबनाउँ । अलिकति मौलिकतालाई बचाउँ । हामीमा आत्मियता छ भने रुखासुखा खानपानले पनि त खुशिसाथ चाड बिदा गर्न सकिन्छ ।

बन्धनका नेल तोड्छौं भन्ने दिदीबहिनीहरु अझ पनि सुनका नेलमा आफुखुशि जकडिएको देख्दा उदेक लाग्छ । साउन महिना लाग्न नभ्याउँदै भारतीय चुराले पसलको आयु बढाउन छनकछनक गरेर आफैले नेल लगाउने, तिजको एकमहिना अगाडिदेखि शरिरभरी झुण्ड्याउन मिल्ने ठाउँ बाँकी नराखेर नेलमा जकडिने अनि कुन मुक्तिलाई हो बोलाउने ? अझैपनि हामी नेपाली महिलाले हाम्रो अर्थतन्त्रलाई कति असर पारेका छौँ । एकपल्ट गहन भएर हेर्नुछ । महिलाले लगाएका वस्तुसँग मेरो गुनासो छैन् । तर, ती वस्तुसँग आँफुलाई दाजेर अस्तित्व जोखिममा पार्ने निरीह दिदीबहिनीसँग बेसरी गुनासो छ ।

तीज हाम्रो मौलिक चाड हो । आज हाम्रो समाजमा अन्य जातजाति, भाषाभाषी, धर्मका महिलाले पनि यो पर्व खुशि साथ मनाएको देखिन्छ । धार्मिक सहिष्णुता सायद यहि हो । तीज हामी नेपाली महिलाका लागि महत्वपूर्ण चाड पनि हो । यसले हाम्रा खुसी, बेदना, पीडा, असन्तुष्टि सबै सार्वजनिक ठाउँमा पोख्न अवसर दिन्छ र त्यो एउटा सन्चार पनि हो जसका कारण समाजका यथार्थतालाई उजागर गरिदिन्छ । तीज मिलन हो । तीज आत्मियताको कडि हो । तीज हाम्रा पुर्खाहरु सम्झाउने माध्याम हो । समाजको ऐना हो । यस्तो चाडलाई हामी किन बिकृतिको रुपमा पुर्याउने ?

तीजलाई सबैले खुशिसाथ मान्न सक्ने चाड बनाऔं न । भड्किलो बनाएर कसैलाई खुशि कसैलाई दुखी किन बनाउने ? साथी, आफन्त आफ्नै घरमा जमघट गरौँ । घरमै मौलिक रुपमा मनाऔँ ।

शुभकामना !!!


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको