भाजपा नेत्री सोनाली फोगाटको बलात्कारपछि हत्या भएको दाबी, दुई जना पक्राउ
एजेन्सी । भारतीय जनता पार्टीकी नेत्र सोनाली फोगाटको हत्यामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । फोगाट भूतपूर्व टिकटक स्टार थिइन् ।
ती सन्दिग्ध व्यक्तिहरू बिहीवार साँझ पक्राउ परेका हुन् ।
फोगाटको पोस्टमोर्टमका क्रममा उनको शरीरमा कैयौँ चोट पाइएपछि ती व्यक्तिहरू पक्राउ परेका हुन् ।
फोगाट ४२ वर्षकी थिइन् र उनको अगस्ट २२ मा पश्चिमी राज्य गोवा भ्रमणका बेला मृत्यु भएको थियो ।
सुरुमा उनको हृदयाघातका कारण उनको निधन भएको बताइएको थियो ।
तर उनको परिवारले उक्त दाबीलाई अस्वीकार गर्दै फोगाटकै सहयोगीहरूले उनको हत्या गरेको आरोप लगाएका थिए ।
उनका दुईजना निजी सहयोगीको नाम लिँदै सोनाली फोगाटका भाइले ती सहयोगीहरूले भिडिओ बनाएर ब्ल्याकमेल गर्ने गरेको आरोप लगाएका छन् ।
उनले फोगाटको बलात्कारपछि हत्या भएको दाबी गरेका छन् ।
धम्कीको आरोप
समाचार च्यानल एनडीटीभीलाई उनले बताएअनुसार ती व्यक्तिले फोगाटलाई उनको राजनीतिक जीवन ध्वस्त बनाइदिने भन्दै धम्की दिने गरेका थिए ।
त्यस्तै उनले फोगाटका सम्पत्तिसम्बन्धी कागजपत्र र एटीएम कार्डसहित केही व्यक्तिगत सामग्रीहरू ती व्यक्तिले कब्जा गरेको आरोप लगाएका छन् ।
परिवारले पत्रकारहरूलाई फोगाटले उनको मृत्यु हुनुभन्दा केही समयअघि उनीहरूसँग कुरा गरेको बताएको छ ।
त्यस बेला उनको बोली निकै डराएको र विचलित भए जस्तो सुनिएको थियो ।
समाचारहरूमा जनाइएअनुसार फोगाटले आफ्ना सहयोगीहरूसँग रेस्टुराँमा भएको बेला असहज महसुस गरेकी थिइन् ।
उनलाई अस्पताल लगियो त्यहाँ फोगाटलाई मृत घोषणा गरिएको थियो ।
द टाइम्स अफ इन्डिया अखबारले उद्धृत गरेका विधिविज्ञान विज्ञले उनको शरीरमा आलो घाउ रहेको र त्यसको कारण मुक्का प्रहार वा उनी लड्दा भएको हुनसक्ने बताएका छन् ।
पोस्टमोर्टम प्रतिवेदन सार्वजनिक भएको घण्टौँपछि गोआ प्रहरीले आरोपितहरूलाई पक्राउ गरेको जनाएको हो ।
को हुन् फोगाट ?
फोगाट उत्तर भारतीय राज्य हरियाणाकी हुन् ।
उनी सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाकी सदस्य हुन् ।
उनी भाजपाका तर्फबाट सन् २०१९ मा राज्य विधानसभाको निर्वाचनमा उठेकी थिइन् तर उनी पराजित भएकी थिइन् ।
राजनीतिक जीवनका साथसाथै उनले भारतको मनोरञ्जन उद्योगमा पनि आफ्ना पाइला राखेकी थिइन् ।
उनी टेलिभिजन रीयालिटी शो बिग बोसकी चर्चित प्रतिस्पर्धी थिइन् ।
बिग बोस अमेरिकी टीभी रीयालिटी शो बिग ब्रदरको भारतीय संस्करण हो ।
त्यसका अतिरिक्त फोगाट भूतपूर्व टिकटक स्टार पनि हुन् ।
उनले क्षेत्रीय चलचित्रहरू, टेलिचलचित्रहरू र वेब सिरीजहरूमा अभिनय पनि गरेकी थिइन् ।
एकजना सरकारी कर्मचारीलाई आफ्नो चप्पलले कुटेको आरोपमा सन् २०२० मा उनी पक्राउ परेरपछि धरौटीमा छुटेकी थिइन् ।
उनले त्यसबेला उक्त व्यक्तिलाई आफूमाथि अभद्र र अपमानजनक शब्दका साथ गाली गरेको आरोप लगाएकी थिइन् ।