१ आश्विन २०८०, सोमबार

चैत्र १२ मा पनि उँ फर्केन, तर उँ जिउँदै छ




बुँकी पाटनका
गुराँसका बोटमा छ
डाली र फूलमा छ
उँ अस्ति भर्खर झरेका
हिउँका फिल्का सँगै छ ।

उँ चैत्र १२ मा पनि फर्केन ,
तर उँँ जिउँदै छ् ।

गोलाघाट
राजापुर
र, त्रिकुनियाबाट
चिसापानी हुँदै
कर्णालीका छालैछाल
कहिले वारी
कहिले पारी
उत्तर तिर लम्केका
काउँजुहरुको लस्करको
बायाँ छाती भित्र
गुलाव बनेर
ढक्क बसेको छ ।

चैत्र १२ मा उँ किन फर्केन ?
के उmँ जिउँदै छ ?

उँ ,
अस्ति
फागुन मध्यतिर
हाउडी काट्दै
तिला किनारमा झरेका
र,
चैत्र नलाग्दै
घर आगन उक्लेका
हरेक हटारुहरुका
पटुकी र फेटामा
पिपलमेटको पुरियाँ भएर आएको छ ।

उँ
हिउँदभर कुरेका
आफ्ना प्रियजनहरुका लागि
मुग्लानेहरुले ल्याइदिएका
सुन्दर सपना नानाहरुमा छ ।

उँ
हिमा र तिलाका जिउँलाहरुमा
बर्ष भरि पुग्ने अन्न फलाउन
आजै राती भिजाइने
मार्सी धानको
दाना दानामै त छ ।

उँ चैत्र १२ मा पनि फर्केन !

प्रशान्त महासागरको
डिलमा बसेर
नूनिलो पसिनाले
नीलो पानी
उकेरा लगाउँदा लगाउँदै
एक दुर्इ घडी ढिलै भयो होला,
रेगिस्तानमा
बालुवाको कान्जिरोवा
पन्छाउँदा पन्छाउँदै
हजार छालेचौर जस्ता
मरुभूमीमा उँट धकेल्दा धकेल्दै
एक दुर्इ घडी ढिलै भयो होला,
हिमाञ्चल, यूरोप र अम्रिकामा
हिउँका ढिस्का फुटालेर
बाटो सम्म्यौदा सम्याउदै,
लामा अनकन्टार सुँरुग भित्रका
कोइलाखानीको माटो टकटक्याएर
लालीघाट तर्न ढिलै भयो होला
तर पनि उँ जिउँदै छ ।

बायाँ छातीमा
तातो कर्णाली बोकेर
दायाँ हातमा रातो मसाल बालेर
यो बसन्त नसकिदैँ
उँ आउने छ
पक्का उँ आउने छ ।

बायुपंखी घोडा चढेर होइन
आफ्नै पैतालामाथि उभिएर
उँ लमक लमक लाम्रा आइ पुग्नेछ,
डोकोमा बेर्ना बोकेर
दिलौरीमा गुराँस चाख्दै
फेरी बिनम्र सिञ्जा आइपुग्ने छ
उँ आइ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको