१५ आश्विन २०७९, शनिबार

‘रानीबारी हत्याकाण्ड’का मुख्य आरोपी गुरुङ बन्दीगृहको चौकिदार नियुक्त



३० साउन, काठमाडौं । ‘रानीबारी हत्याकाण्ड’का मुख्य आरोपी मनराज गुरुङ केन्द्रीय कारागार सुन्धारास्थित ‘भद्र बन्दी गृह’मा चौकीदार नियुक्त भएका छन् ।

कारागार व्यवस्थापन विभागले दुई दशकअघिको चर्चित हत्याकाण्डका मुख्य आरोपी गुरुङलाई साउनदेखि लागू हुने गरी चौकीदार नियुक्त गरेको हो ।

केन्द्रीय कारागारका जेलर उपसचिव डोलेन्द्र निरौलाले सह–नाइके, नाइके, मुख्य नाइके हुँदै उनी अहिले चौकीदार बनेको जानकारी दिएका छन् ।

उपसचिव निरौलाका अनुसार केन्द्रीय कारागारमा आन्तरिक प्रशासनको विभिन्न तहमा काम गरेपछि मात्रै चौकीदार हुन पाउने व्यवस्था अनुरुप विभिन्न भूमिका निर्वाह गरेर उनी चौकीदार बनेका हुन् ।

अघिल्लो वर्ष चौकीदार रहेका विष्णुबहादुर तामाङ भने एक तह घटुवा भएर मूल नाइकेमा बसेका छन् । कानूनतः एक वर्षसम्म चौकीदार हुन पाइन्छ, त्यसपछि सम्बन्धितले चाहे एक तहमुनिको मूल नाइकेमा बस्न दिने चलन केन्द्रीय कारागारमा रहिआएको छ ।

एक वर्षलाई आन्तरिक प्रशासनको नेतृत्व गर्नेगरी चौकीदार नियुक्त भएका गुरुङलाई अन्य नाइके र सह–नाइके नियुक्त गर्ने अधिकार पनि हुन्छ । चौकीदार नियुक्त भएवापत गुरुङ प्रतिदिन अतिरिक्त भत्ता र सजायमा छुट पनि पाउँछन् ।

उनले कारागारमा चाहिने सामग्री खरिदका लागि जेल बाहिर जाने सुविधा पनि पाउनेछन् भने टेलिफोनको नियमित प्रयोगमा पनि छेकबार हुने छैन ।

गुरुङ ३१ असार २०५९ मा भएको इञ्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जलीको खुकुरी प्रहार गरी भएको हत्यामा संलग्न भएको पुष्टि भएपछि कैद जीवन बिताइरहेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले २०७२ चैतमा पक्राउ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको