सिन्धुपाल्चोकको लिदीमा भिषण पहिरोः १३ घर पुरिए, ३६ जना बेपत्ता
३० साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदीमा शुक्रबार बिहान गएको भिषण पहिरोले १३ घर पुरिएका छन् । भत्कीएका घरमा परेर ३६ जना बेपत्ता भएको आशंका गरिएको छ ।
गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालका अनुसार बिहान ६ बजेतिर गएको पहिरो बलेफी खोलासम्म पुगेको छ ।
पहिरोबाट २५ घर परिवार प्रभावित भएका छन् । बिहानै उद्धार कार्यमा सक्रिय वडा नम्बर २ कय वडाअध्यक्ष प्रताप लामाले पहिरोमा पुरिएका १ जनाको शव भेटिएको बताएका छन् ।
अहिलेसम्म १ जनाको शव भेटिएपनि मृतकको सनाखत हुन सकेको छैन । पुरिएका ५ जनालाई सेनाको हेलिकप्टरबाट उदार गरी अस्पताल लगिएको छ । ४ जनालाई जिल्लाको चौतारा अस्पताल र १ जनालाई उपचारका लागी काठमाडौं लगिएको वडाअध्यक्ष लामाले बताए ।
घाइते हुनेहरुमा ९ वर्षीय रुप बहादुर दोङ, २३ वर्षीय पासाङ दोङ, ६० वर्षीया केवारीङ दोङ र ४३ वर्षीया जुनु दोङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधव काफ्लेले जानकारी दिए ।
यसैगरी गम्भिर घाइते भएका एमजी लामालाई मनाङ एअरको हेलिकप्टरबाट काठमाडौंको ट्रमा सेन्टर लगिएको छ ।
अहिले प्रहरी, सेना र स्थानीयवासी उद्धार कार्यमा खटिएका छन् । पहिरोले पुर्याएको क्षतिको निरिक्षण गर्न सभामुख अग्नी सापकोटा पनि घटनास्थलमा पुगेको बताइएको छ ।
