सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि बनायो कार्यदल
२७ साउन, काठमाडौं । वर्षौँदेखि समाजमा व्याप्त मिटरब्याजी अपराध नियन्त्रणका लागि सरकारले कार्यदल गठन गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव भिष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको खाणको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपाय पहिचान गरी अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।
प्रधानमन्त्री देउवाले यस्तो समस्या भविष्यमा आउन नदिन आवश्यक पहलकदमी लिन निर्देशन पनि दिएका छन् । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश समेत दिइएको छ ।
कार्यदलका सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहट्टा छन् ।
कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ ।