मनास्लु हिमाल आरोहणका लागि वहराइनका राजकुमार काठमाडौंमा
३१ भाद्र, काठमाडौं । लोबुचे र मनास्लु हिमाल आरोहणका लागि वहराइनका राजकुमार काठमाडौं अवतरण भएका छन् । राजपरिवारका सदस्यसहित राजकुमार बुधबार बिहान काठमाडौं अवतरण भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
१५ जना बहराइनी रोयल अंगरक्षकहरू, ३ जना बेलायतीसहितको राजपरिवारको टोलीलाई शेख इशा एअरवेजको विशेष विमानले काठमाडौं विमानस्थल ल्याएको हो । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक र बाह्य उडान खुलाउने निर्णय गरेसँगै उनीहरू हिमाल आरोहणका लागि नेपाल आएका हुन् ।g

काठमाडौंका लागि उड्नु अघि राजकुमारसहितको टोलीलाई बहराइनस्थित नेपाली दूतावासले विदाइ गरेको थियो । नेपाली दूतावसका अनुसार यो टोली दुई महिना नेपाल बस्ने छ । यो आरोहणलाई उनीहरूले आगामी वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणको पूर्वतयारीका रूपमा लिएको बताइएको छ ।
राजपरिवारका सदस्यसहित पहिलो पटक हिमाल आरोहण गर्न लागेको टोलीले बहराइनको झण्डा सगरमाथामा फहराउन चाहेको बताइएको छ ।