१४ आश्विन २०७९, शुक्रबार

रातारात काठमाडौंको फोहोर उठाइँदै, टेकुमा व्यवस्थापन गरिने



२६ साउन, काठमाडौं गाईजात्रा पर्वलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले राजधानीका कोर–सिटीको फोहोर उठाउने भएको छ । नगरकार्यपालिका बैठक सकिएलगत्तै बसेको फोहोर व्यवस्थापन समिति बैठकले बिहीबार रातिदेखि नै फोहोर उठाएर टेकुमा राख्ने निर्णय गरेको हो ।

जात्रा पर्वकये लागि वातावरण सहज बनाउन तत्काल फोहोर उठाउने निर्णय गरिएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनले भने, ‘फोहोर टेकुमा राख्ने निर्णय भएको छ । रातभरिमा कोर–सिटीको फोहोर उठ्नेछ । त्यहीअनुसार अहिले फोहोर उठिरहेको छ ।’ उठाउन बाँकी रहेको फोहोर भोलि र पर्सि उठ्ने मानन्धरले बताए ।

मानन्धरका अनुसार यस्तै शुक्रबार स्थानीयसँग हुने वार्ता सफल भए माग सम्बोधन गरी शुक्रबारदेखि नै फोहोर सिसडोल लैजान सकिने छ ।

फोहोर बोकेर गएका गाडी तोडफोड भएपछि उहाँहरूको गाडी बनाइदिनुपर्ने र तोडफोड गर्ने व्यक्तिलाई सजाय दिनुपर्ने माग छ, उनले भने, ‘यस्तै उहाँहरूलाई गाडी चलाउँदा सुरक्षाको व्यवस्था गरिदिनुपर्ने माग राख्नुभएको छ ।’

बिहीबार बसेको सातौं कार्यपालिका बैठकमा काठमाडौंमा वडाध्यक्षले केही सातादेखि फोहोर नउठेर सडकमा असरल्ल थुप्रिएपछि सरकारको ध्यानाकर्षण गराउन खुलामञ्च, भिआइपी हिँड्ने बाटो वा बागमती नदीमै विसर्जन गर्ने चेतावनी दिएका थिए ।

‘सरकारले असहयोग गरेको हो भने भिआइपी हिँड्ने बाटोमै फोहोर फाल्दा हुन्छ’ ३० नम्बरका वडाध्यक्ष दलबहादुर कार्कीले भने, ‘त्यो पनि नभए बागमतीमै फाल्दा हुन्छ । युएन पार्कमा लगेर फाल्दा हुन्छ । त्यति गरेपछि बल्ल सरकारको ध्यान जान्छ । यसो गर्दा गोली हान्छ भने हामी गोली खान तयार छौं ।’

वडाध्यक्षहरूले शुक्रबारको गाईजात्रा र आगामी दिनमा हुने अन्य सांस्कृतिक पर्वहरूलाई विचार गरेर कम्तीमा भित्री सहरको फोहोर तत्काल सफा गर्नुपर्नेमा जोड दिएका थिए ।

गाईजात्रा क्रममा मध्यशहरका विभिन्न क्षेत्र घुम्नुपर्ने हुँदा कम्तीमा शुक्रबारका लागि फोहोर पन्छाउन खुलामञ्चमा व्यवस्थापन गर्न सकिने वडाध्यक्षहरूको राय थियो । यसका लागि रातभरि काम गर्नुपरे पनि सबै तयार हुने उनीहरूले बताएका थिए ।

मेयर बालेन शाहले काठमाडौं उपत्यकाको फोहोर फाल्ने ठाउँ बञ्चरेडाँडा र सिसडोलमा समस्या आएकाले फोहोर नउठेको जानकारी दिएका थिए । यता टेकुमा पनि फोहोर भरिएकाले त्यहाँ राख्न सक्ने अवस्था नभएको उनले उल्लेख गरेका थिए ।

वडाध्यक्षहरूले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिनुपर्ने धारणा राखे ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको