१६ आश्विन २०७९, आईतवार

दाजुले नै एक लाख दिएर भाइ–बुहारीको हत्या गर्न लगाए




नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुर निवासी दम्पतीको हत्या योजना दाजुले नै बनाएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भाइ–बुहारी २२ वर्षीय कृष्ण गडरिया र २१ वर्षीया अञ्जली गडरियाको हत्या योजना दाजु विजय गडरियाले बनाएको खुलेको हो ।

मंगलबार बिहान घरमै दम्पती मृत फेला परेपछि प्रहरीले अनुसन्धानका क्रममा विजयमाथि शंका गरेको थियो । भाइ–बुहारीको हत्याको समयमा उनी घरमै रहेको खुलेको छ ।

उनलाई घरबाटै पक्राउ गरेर सोधपुछ गर्दा आफूले एक लाख रुपैयाँ दिएर हत्या गर्न लगाएको तथ्य स्वीकारेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए ।

विजयले भाइ–बुहारीको हत्याका लागि एक लाख दिएर भाडामा प्रयोग गरेका अभियुक्तहरूबारे प्रहरीले विस्तृत खुलाइसकेको छैन ।

घटनाबारेमा अहिले अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले बताएका छन् ।

प्रहरीका अनुसार पत्नी अञ्जली घरभित्र र पति कृष्ण घर बाहिर मृत भेटिएका थिए । प्रहरीका अनुसार घटनास्थलमा चुँडिएको डोरी भेटिएको थियो ।

त्यस्तै घटनास्थल रगताम्य थियो । घटनाका क्रममा ज्यान गुमाएका र आक्रमणमा संलग्नबीच घम्साघम्सी भएको देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको