नौमती बाजा संरक्षणमा पालिकाको चासो
बागलुङ । बागलुङको पहिचानका रुपमा रहेको नौमती बाजा पछिल्लो समय लोप हुँने अवस्थामा छ । नौमती बाजा लोप हुन थालेपछि यहाँका स्थानीय सरकार नौमती बाजा संरक्षणमा जुटेका छन् ।
पुस्ता हस्तान्तराण अभाव, नौमती बाजाप्रति युवाले चासो नदिँदा र युवा विदेश पलायन भएका कारण बागलुङमा नौमती बाजा लोप हुने खतरा बढेपछि बागलुङका केही स्थानीय तहले वडा तहमा नौमती बाजा संरक्षण थालेका छन् ।
उनीहरुले नौमती बाजा बजाउने दलित समुदायका स्थानीयलाई प्रोत्साहनस्वरुप नौमती बाजा दिने अभियान चलाएको छ । बागलुङ नगरपालिका–७ को वडा कार्यालयले तीन वर्षअघिनै स्थानीय नौमती बाजा समूहलाई नौमती बाजा सहयोग गरेको थियो ।
यसलगत्तै काठेखोला गाउँपालिकाले दुई वर्षअघि नौमती बाजा संरक्षणका लागि पालिकाको प्रमुख नीति तथा कार्यक्रम नै बनायो । नौमती बाजा समूह विवाह, व्रतबन्धका साथै सुखद कार्यक्रममा शुभकार्यका लागि बाजा बजाउने प्रचलन छ ।
काठेखोला गाउँपालिकाले आठवटै वडामा एक(एक नौमती बाजा समूहलाई नौमती बाजा उपलब्ध गराएको थियो भने जिल्लाको ढोरपाटन नगरपालिकाले समेत नौमती बाजाको संरक्षणका लागि नौमती बाजा समूहलाई नौमती बाजा वितरण गरिसकेको छ ।
काठेखोला गाउँपालिकाका आठवटै दलित समुदयाका बाजा समूहलाई बाजा सेट प्रदान गर्न गाउँपालिको रु १० लाख बजेट विनियोजन गरेर कार्यान्वयन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्कीले जानकारी दिए ।
स्थानीय पालिकाले हराउन थालेको नौमती बाजा संरक्षणमा चासो देखाएपछि नौमती बाजा बजाएर जीविका चलाउँदै आएका दलित समुदायका कलाकारलाई हौषला मिलेको थियो । काठेखोला गाउँपालिकाको सिको अन्य पालिकाका वडाले समेत गर्न थालेका छन् ।
जनताको घरदैलोको सरकारले नौमती बाजा बजाउनेलाई प्रोत्साहनका लागि बाजाका उपकरण सहयोग गरेपछि नयाँ बाजा खरिद गर्नै नसक्ने युवालाई समेत राहत पुगेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा बागलुङको गलकोट नगरपालिका–७ मल्मले नौमती बाजा संरक्षणका लागि बाजा समूहलाई नौमती बाजा उपलब्ध गराउने गरी बजेट विनियोजन गरेर कार्यान्वयन गरेको छ ।
मल्म वडा कार्यालयको रु दुई लाख र स्थानीय बाजा समूहको रु ४५ हजार साझेदारीमा बाजा समूहलाई एक÷एक थान नयाँ नौमती बाजा उपलब्ध गराइएको वडाध्यक्ष राजबहादुर थापाले जानकारी दिए ।