७ आश्विन २०७९, शुक्रबार

साउने संक्रान्तिः कर्णालीको फरक चाडपर्व


माधव चौलागाई
१ श्रावण २०७९, आईतवार

माझफाल गाउँ, डोल्पा । तस्वीरः प्रेमबहादुर बाेहाेरा

यो राँको बाल्ने र लुतो फाल्ने चाडकोरुपमा प्रचलित छ। ठाउँ अनुसार संस्कृति हुन्छन, चाडबाड मनाउने आआफ्नै मौलिक शैली बन्छ, केही समानता र केही फरकपना पनि झल्किन्छ। यहि नै संस्कृतिको रंग हो। जुम्ला क्षेत्रमा मनाईने साउने संक्रान्ति चाडबारे यो टिपोट:
▪️तयारीः संक्रान्तिको दिन नदी, दोभान वा त्रिवेणी स्नान गरिन्छ । दिनभर सरसामानको तयारी हुन्छ । छोरीचेली निम्त्याएर खुवाउने (मैतालु भात खान डाक्ने) गरिन्छ। प्रायः मध्यान्हपछि युवतीहरु गाउँ आसपासको चौरतिर भेलाभएर देउडा खेल्छन् र फर्किंदा फूल टिपेर ल्याउँछन् । युवाहरुले काँडैकाँडाको लौरो (प्रायः ढँटेलोको) ल्याउँछन् । घरमा हुनेहरुले सरसफाई गर्छन् । घरका कुनाकाप्चातिरबाट टिपेको थोरै फोहर, केही उपिंया, उडुस्, जुम्रा जे भेटिन्छ टालोमा पोको पारेर दुईटा काँडे लौरामा बाँध्छन् । लुतो फाल्ने वनस्पति पनि टिपेर ल्याईन्छ, विशेषगरी झारपात गाउँअनुसार पाईने जस्तो गुईय्पाती झार!

▪️साँझपख गाउँलेहरु एक ठाउँमा जम्मा भएर कुखुरो, राँगो, सुँगुर वा बनेल (गाउँ अनुसार फरक हुनसक्छ) लाई पानी छम्केर आफ्नो गाउँको प्रदक्षिणा गर्छन् । गाउँ घुमिसकेपछि त्यो मन्छाएको पंक्षी वा जन्तुलाई फुकालेर लखेट्दै दोबाटोमा चुट्छन् र त्यो काँडैकाँडाको लठ्ठी त्यतै मिल्काउन्छन् (विसर्जन) गर्छन् । यसरी साउने संक्रान्तिमा मन्साउने पंक्षि वा जन्तु जुटाउने मान्छेले मोलस्वरुप घरघरबाट एक मानो अन्न संकलन गर्छ।

▪️त्यसपछि गाउँले सबैजनाले अआफ्नो घरको थाडा (छत) माथि डान्डिल (छत वरिपरिको पातलो ढुंगा) मा फूल (भदुरी वा कुनैपनि मौसमी फूल) पाती ओच्छ्याएर त्यसमाथि सल्लाको झरो (दियालोको काठ) बाल्छन् । त्यसलाई राँका हाल्ने भनिन्छ। यसरी बाल्ने झरोलाई डोरीले बाँधेर मदानीजस्तो अर्थात मसाल बनाईन्छ । घरलगायत मष्टोको थान र अन्य मन्दिरको आँगनमा पनि यसैगरी राँका हालिन्छ। थान मन्दिरमा राँका बलेपछि मात्र मानिसहरुले आआफ्नो घरमा राँका बाल्छन् ।

▪️राँका बलेपछि शंख, घण्ट, थाल, भाँडाकुँडा ठट्याउँदै घरका सबै सदस्यले आआफ्नो टाउकोमा राँको घुमाउँदै एकले अर्को गाउँले (प्रायः खोला वारीपारीको गाउँ जहाँ बल्ने राँको एकअर्काले देख्न सक्छन् )लाई गाली गर्छन्। गालीमा रोगब्याधि, पशुबस्तु, अन्नपात, फलफूलसँगसम्बन्धित प्रसंगहरु जोडिएको हुन्छ।

केही उदाहरणः॰ आऱ्याऽ कोऱ्याऽ लुतो पाउडो, खईन्याऽ खड्कुन्याऽ चिलाउन्याऽ बिझ्याउन्याऽ सप्पै लैजाउ एऽऽऽ फलानो गाउँल्याउ!!! ॰ नाटी गाई लैजाउ, दुहुनी गाई दिइजाउऽऽ!! ॰काँचो फल लैजाउ, पाको फल दिईजाउऽऽ! फाटो फेरुवा लैजाउ, नौलो फेरुवा दिईजाउऽऽ!! ॰दाल्द लैजाउ, स्हः पाडीजाउऽऽ आदि । गालि र भाकामा गाउँ र भेकअनुसारको विशेषता र ससानो भेद भेटिने नै भयो।

▪️राँका हालेर लुतो फालिसकेपछि बलेको राँको लगेर दोबाटोमा बिसर्जन गर्छन् । कतिपय ठाउँमा दुबै गाउँका मानिसहरुको त्यहिं भेटहुन्छ र एकापसमा गाली गर्दै राँको फाल्छन् । यतिबेला गरिने गालीलाई मनोमालिन्य नराखि रोचक र हार्दिकतापूर्ण तबरले लिन्छन् । काँडैकाँडाको दोस्रो लौरो घरको दलिनतिर कोचेर राख्छन् । यसदिन साँझ भात खाँदैनन्। प्रायजसो खीर, टाट्या (पुरी) वा सेलरोटी बनाउँछन् । राँका निभि सकेपछि घरबाहिर जानुहुन्न भन्ने चलन छ।

▪️यो चलन कहिलेबाट र किन गरियो भन्ने यकीन अभिलेख त छैन तर केही विवेचना गरौंः-

▫️यस चाडमा हुने गतिबिधि कृषि र पशुपालनमा जोडिएको समाज सापेक्ष छ। बैशाखदेखि साउनसम्म रोप्ने गोड्ने जस्ता कामको चटारो हुन्छ। गाइबस्तु घरैमा हुन्छन् । छोरीचेली माइति आउन पाउनन्न् । पूजाआजाको फूर्सद हुन्न । साउनबाट बर्खा लाग्छ । छालारोग, पखाला जस्ता रोगब्याधि फैलन्छ। बालबालिका बिरामी पर्छन् । उबेला कर्णालीमा प्रचलित यौटा उखान छ – “चार साउन खाएको छोरो र चार माघ कटाएको थोरो (पाडो) बाँच्यो भन्नु” । साउनबाट बस्तुभाउ लेकतिर राख्नुपर्छ। यहि साउन भदौतिर मानिसहरु केही फुर्सदिला हुन्छन् । साउन पुर्णिमाताका ठाउँठाउँमा पैठ (मष्टो थान पुज्ने मेला) लाग्छन्। मालिकाको यात्रा हुन्छन्। त्यसैले साउने संक्रान्ति यसक्षेत्रमा चाडहरुको शुरुवात पनि हो।

▫️आजको राती भुतको जन्मदिन हो र उनीहरुले पनि जन्मोत्सव मनाईरहेका हुन्छन् भन्ने विश्वास पनि छ। भुतको आवाज मानिसले नसुनियोस् भनेर राँको बाल्ने, शंखघण्ट, थाल ठट्याएर होहल्ला गरिन्छ। त्यसैले राँको निभि सकेपछि घरबाहिर जान हुन्न भनेको हो रे!

▫️कसैले कण्डारक राक्षससँग लुतो पठाईन्छ रे भन्छन् । कसैले फेरी राक्षस धपाउन राँको बालेको रे भन्छन् । खासमा कण्डराक नामगरेको रात्रीकालीन देवता (?) राक्षस (?) (रात्रीचरलाई राक्षस ठानेको हो कि?) बारे केही श्लोक पढ्न मिल्ने रहेछ । यहि नाउँको यौटा ठाउँ पनि त रहेछ उता अफगानिस्तानमा ।

▫️कसैकसैले सितालाई रावणले हरण गरि लंकामा पुऱ्याएपछि हुनुमानले लंकादहन गरेको प्रतीकात्मक सम्झना हो पनि भन्ने रहेछन् । महाभारतकालीन प्रसंग त सुनिएको छैन तर जुम्लाको चाडपर्वमा बलिराजको प्रसंग आउने नै भयो। सोअनुसार उनका पालामा भारतिर मसलमान बिद्रोह जितेर फर्केको खुशियालीमा यो उत्सव मनाउन थालियो पनि भनिन्छ।

चाडपर्वसम्बन्धि यस्ता अनेक पौराणिक कथा र किस्सा हुने गर्दछन् । समयसँगै यस्ता अनेकप्रकारले व्याख्या भयो होला नि त।

▪️मैले माथि उल्लेख गरेको चाड मनाउने स्वरुपमा अचेल हल्का परिवर्तन आईसक्यो । किनकी समाजको अन्तरघुलन र सांस्कृतिक रुपान्तरण तीब्र भईरेहेको ठाउँमा मैलिकपन चाँडै मासिन सक्छ। जस्तै अचेल मानु भरेर अन्न उठाउनुको सट्टा पैंसो दिन ठीक मान्नु, गाउँलाई प्रदक्षिणा गर्ने ठाउँ/सीमा र बाटो नहुनु, जस्ता पाताले ढाकेर पुरानो शैलीको छत बाँकी नहुनु, समुदाय सहभागितामा गरिने सहकार्यमा सक्रियता नहुनु, कृषि/पशुपालकको भन्दा फरक पेशा र दैनिकी हुनेको प्राथमिकता फरक हुनु जस्ता कारणले माथि वर्णित रुप ठ्याक्कै नभेटिन पनि सक्छ।

▪️खैर! जेसुकै होस् ।यो परम्परा त बडो रोचक छ नि हैन? यदि यस्ता संस्कृतिले कसैलाई हानी गर्दैन र कुनै जोखिम छैन भने यी परम्पराले निरन्तरता पाउनु पर्छ। यस्ता अमुर्त सम्पदाहरुले समाजलाई जीवन्त बनाउँछ र यिनै हाम्रा मौलिक पहिचान हुन् ।

आज मेरो गाउँतिर साउने संक्रान्ति भब्य मनाईॅदै छ। तपाईको तिर के छ नि?


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको