१७ आश्विन २०८०, बुधबार

कलेजोेको ज्योतिष हेर्दै वनमान्ठको संरक्षणमा चालागाउँ


समर हुम्ली
११ असार २०७९, शनिबार

समस्या नै समाधानको जननी हो । यसैले चिसोको घाउमा भुजपातको दाउ छ । आँको कोलमा छ मासे भाउ छ । आयाको साथमा जायाको नाउँ छ । र त माया, ममता, संंवेदना र स्पन्दनहरू पनि मेंको रेमा बाँफिएर लामाको डमरुमा चमर जस्तै पबित्र र शुद्ध भएर आकासिएका छन् । जहाँ चाँपाको फाँडोमा याकको घाँडोले जीवनको रन्को दिन्छ । तर, पनि जीवनका लागि के सुविधा के असुविधा भोग्नेको अनुभवले परिभाषित गर्दछ । समय अनुसार जीजिविषाका सार र तारहरू फेरिने गरेका छन् ।

चाला गाउँ

जहाँको बाधा, विवशता, विषमता, विकङ्गाल र विमुख अड्चनहरू मानवीय साहसको अगाडी शिर निहुराएर टोलाईरहेको लुते कुकुर झैँ सावित हुन्छ । रातदिनै ठुलो हुँकारमा आइरहने हिउँ हुरी र पहिरो एक मात्र दृष्टी साक्षी रहेको छ । जुन गाउँमा विश्वकै दुर्लभ जीव वनमान्ठ (वनमान्छे) घुमेर गाउँको रक्षा गर्छ भन्ने सामाजिक संस्कार र मान्यताले सुरक्षा बढाएको छ । जसको आशा, भरोसा, आत्मीयता, स्पन्दन र धड्कनको आहालमा गाउँको सास, बास र पासको रुपमा चाला गाउँको स्वाभिमानी बाँचेको छ । संयमित छ । चञ्चल छ । र छ प्रवाहमय, यो भोटेको गाउँ ।

यो गाउँ कहालीलाग्दा भीरपहराहरूको बीचमा थुक्पा, लाक्पा र चाक्पामा रमाएको प्राक्संस्कृतिको भण्डार हो । घर बनाउनु पर्दा पाँचसात वटा खुड्कीलाहरू बनाएर सयौं खम्बाहरू गाड्दै ससाना समथर ठाउँ बनाउँदै तह तह पारेर घरको जग हाल्ने काम जब पुरा हुन्छ । तब मात्र त्यहाँ घर बनाइन्छ । त्यसरी बनाएको घरभित्रै हिउँदका लागि हिउँ जम्मा गर्ने ससाना हिउँँघरको पनि व्यवस्था गरिएको हुन्छ । जहाँ हिउँबाट पानी निकालेर मान्छे तथा पशुवस्तुका लागि प्रयोग गरिन्छ ।

यो गाउँको भौगोलिक उत्कर्ष हो तर बाहिरबाट हेर्दा हिउँ ंपहिरोमा झुन्डिएको मिलारेप्पाको अलौकिक नौंतले दरबार झैँ लागे पनि भित्र तातो च्यालाक हो । चियाको फुरु हो । छयाङको याङज्या हो । नयाँ मान्छेले जब ती घरहरूको छतबाट यताउता हेर्दा एक छिन त शरीरको रक्तसञ्चार नै बन्द होला जस्तो हुन्छ । यो देख्दा लाग्छ मान्छे प्रकृति र संस्कृतिको जादूगर हो । जहाँ जसरी बसेर पनि समायोजन हुन्छ । यो गाउँ भोटे समाजको कलात्मक सीपभित्र भौगोलिक विजयको उद्घोष हो । कलाको कोलाजपूर्ण बिम्ब हो । यहाँको माटोमा टेरोकोटाको सीप छ । यहाँको काठमा काष्ठकलाको खीप छ । यहाँको ढुङ्गामा प्रस्तरकलाको ट्रीप छ । यहाँको ऊनमा पर्यावरणको दीप छ । यहाँको धागोमा ॐको ध्वनि छ र त चाला, चाला गाउँ भएको हो अरुभन्दा पनि फरक ।

चारैतिर हिउँल, सैपाल, काङराङ, साँका, पुयाँ र सैपाल लाग्ना जस्ता धेरै हिंमशङ्खलाहरूले घेरेको, बेह्रेको र सेह्रेको प्राकृतिक पिजडा हो चाला गाउँ । यो खुला आकाशको बन्द गुफा हो । च्याफुकको सजीव स्पन्दन हो । यहाँको कम्पन वनमान्ठको पदचापमा चल्मलाउँछ । यहाँको स्पन्दन वनमान्ठको धड्कनमा सल्बलाउँछ । रात रातभरी वनमान्ठले गाउँको सुरक्षा गर्छ । बिहानी पखमा अदृश्य फुक् (हिउँ हुरी)मा गएर आराम गर्छ भन्ने सत्यानुभूति चालाको प्राण हो । यो चालाको रक्षक हो । यो चालाको भक्षक हो । यो चालाको किच्चक हो । यो चालाको तक्षक हो । यो चालाको कक्षक हो । यो चालाको इच्छुक हो । यो चालाको भिक्षुक हो । यो चालाको तिक्षुक हो । यो चालाको शिक्षक हो । र त धेरै कथाहरू छन् । र त धेरै व्यथाहरू छन् । र त धेरै सिलोकहरू पनि त छन् वनमान्ठका बारेमा चाला गाउँमा र हुम्लाका धेरै चाला गाउँहरूमा पनि ।

प्रत्येक हिउँदका ह्युँवाने दिनहरूमा वनमान्ठको सिलोक भनेर मिठो निद्राको काखमा गएर भोलिको लागि शुभकामनाको आदानप्रदान गर्छन् हाम्रा अवि र म्हिहरू । तर गाउँमा निन्जे निन्जे गरेर दिन बिताउन भने गाह्रो छ । सर्कमा अनेकौं तारो छ । बाटोमा ह्युँको हारो छ । यतायता हिंडहुल गर्न अति नै गाह्रो छ । च्याँङस्वाको थुक्पा, पाक्चोल र खुरा खाएर मार र डाङ्गको झिर्को हालिन्छ । मक्केका र भत्केका लिउनहरू टालिन्छ । ह्युँको आरनमा पालाङको स्या गालिन्छ । जहाँ फाक्, टाक्, बाग्, साग्, ताक् र खाग्को पंक्तिमा लागेर भग्रनका भग्रनहरूमा छ्यु ख्वाएर प्युको रक्षा गरिन्छ । जीउको सुरक्षा गरिन्छ । र त यो हो चाला गाउँ । मेरो चाला गाउँ, तपाईको चाला गाउँ, हाम्रो चाला गाउँ । नेपालको एक अनमोल सम्पदाको खानी चाला गाउँ ।

चालाको शाब्दिक अर्थ हो घाँस हुने ठाउँ । यसैले चाको अर्थ घाँस र लाको अर्थ उच्च भूभागको हिमाल हुन्छ भने अर्को अर्थमा लाङको अर्थ जग्गा वा ठाउँ हुन्छ । यो स्थान, ठाउँ, क्षेत्र वा भूभागमा पहिला पशुपालनको लागि एक राम्रो खर्क हो पछि यहाँ स्थायी रुपमा बसोबास गर्न थालिएको हो । चाला शब्द स्थाननाम शब्दकोशको परिभाषा अनुसार आर्य र अनार्य जुन वर्गमा परे पनि हुम्लाको अति विकट हिमाली गाउँ हो । यो नाम्खा गाउँपालिकामा पर्छ । हुम्लीहरू चाला शब्दलाई विकट, विमुख, एकान्त, दुर्गम र गुफामयी हिमाली क्षेत्रको उपमा मान्दछन् । एक्काईशौं शताब्दीमा विश्व सञ्चारग्राम बने पनि आधुनिक परिवेशभन्दा त जिल्ला सदरमुकामबाट पनि छ महिना सम्र्पक र सम्बन्ध विच्छेद हुनु के आधुनिकताको उपहासमा कि प्राक्संस्कृति गौरव ? जीवनको मौलिकता कि निस्सारता ? सम्पदाको खानी कि पर्यटनको नानी ?

यो गाउँसँग किम्बदन्तीका अनेकौं सिलोकहरू जोडिए पनि वनमान्छेको सिलोकले अति महत्वपूर्ण जानकारी र यथार्थता बताएको छ । उहिले उहिले बाजे बराजुको पालामा यो गाउँलाई वनमान्छेले सुरक्षा दिने भएकोले त्यसको आहारका लागि उसले प्रत्येक दिन पालो लागाएर एक एक जना मान्छेको आहार गथ्र्यो रे ? तर आहार गर्नुभन्दा अगाडि सात पटक गाउँ घुम्दै गाउँको लागि नराम्रो गर्ने खराब आत्म अर्थात् कर्म (ब्याड स्पीरिट)हरूलाई धपाउने गथ्र्यो रे । त्यसपछि उसले आफ्नो कलेजो निकालेर कलेजोको ज्योतिष हेर्ने गथ्र्यो रे ? त्यसपछि मात्र पालो परेको घरको लोग्ने मान्छेलाई खाने चलन थियो । तर एक दिनको कुरा हो, कलेजोको ज्योतिष हेर्दा एकदमै अचम्मको ज्योतिष देखा परेकोले ऊ नचाहेर पनि आहार गर्न गयो सोचमग्न हुुँदै ?

त्यो दिन साँच्चै ! एक वृद्ध महिला आएर मर्नका लागि तयार भएको पायो र सोधे छ । तपाई किन आउनु भयो आमा, खै तपाईको छोरा ? ति वृद्धाले डराउँदै भनिछन् । हे महामानव, आजसम्म जसरी तिमीले यो गाउँलाई रक्षा गरेका छौ । त्यसरी नै यो गाउँको मानवबस्तीमा लागेको नरहत्याको कलंकको टीकोलाई पुच्छेर युग युगसम्म तिम्रो अमरत्वको गुनगान यो बस्तीले गाउने छ । मान्छौ भने मलाई खाएर यो काम बन्द गर भनेरै म आएकी हुँ । वनमान्ठ सोचमग्न भयो र भन्योे ? हे आँ ! तपाईंले मेरो आँखा खोलिदिनु भयो । म आजदेखि यो बस्तीको सुरक्षा मात्र दिने छु । यो काम बन्द गर्छु भनेर उसले त्यो काम बन्द गरेको हो रे ? भन्ने लोककथन छ । त्यसैले पनि भनिन्छ वनमान्ठले अझै पनि रक्षा गरिरहेको छ भन्ने लोकविश्वास रहेको छ । त्यसपछि ती महिलालाई टुङ्मा (भवानी)को रुपमा पुजा गरिन्छ भने वनमान्ठलाई सुङ्मा (महाकाल)को रुपमा पुजा गर्ने चलन रहेको छ । जहाँ बोनको टुल्बुक, चमर, शंख, घण्ट, डमरु र ढोलको बाजा बजाएर प्रत्येक बिहान बेलुका पूजाआजा गर्ने चलनले सम्मोहन प्रविधिमा लामाको ॐ मणि मदमे हुँको मन्त्र गुञ्जिएको छ । जहाँ आम्चीको ओक्तोले मान्ठको थोक्तोलाई बोक्तो बनाएको छ । दैवी प्रकोप र अन्य संकटको बेलामा प्राकृतिक धर्मको कम्पन मान्छेमा औतारिएर साहस र आत्मउत्थान गर्ने मार्ग निर्देशन दिन्छ । तब त नशा नशामा सजीवताको सञ्चार भई हिउँको चिसो जल संवाहनलाई रक्त सञ्चारको एक एक अंगका रुपमा स्वीकारेर आञ्चलिकताको स्पर्श मान्दछन् चल्यालहरू ।

कालो अक्षर चौंरीगाई बराबर भन्ने मानसिकताले औंठा छाप नै यहाँ शिक्षाको स्तर हो । यहाँ न त शिक्षकको हस्ताक्षर भएको रजिष्ट्रर पाइन्छ । न त शैक्षिक मापदण्डको कुनै स्तर नै छ । न त निरिक्षण छ । न त छ गुणस्तरको लेखाजोखा । शिक्षा सम्बन्धी काम हेर्ने निकायहरू यो खबर पाएर पनि बेखबर जस्तै छन् । बोतलको स्वागत पाए भयो, जहाँ जेसुकै होस् के को चासो र हाँसो चाहियो र ? न त चालाका गाउँलेहरूले लेखाजोखा र खोजी गर्छन् । गाउँभरि केही संख्याले मात्र उच्चशिक्षा लिन पाएका छन् । उनीहरू पनि अहिले चौंरीका ग्वाला भएका छन् । उनीहरूका लागि बर्षायामा खर्क गएर घीउ जम्मा गर्नु र जुमाझोबा बाच्छाहरू उत्पादन गरेर घरधान्नु नै सम्र्पूता हो । स्वास्थ्य, शिक्षा, सञ्चार, यातायात र विकास सबै सातुको धुलोमा हिउँको कुलो भएर बगेको छ । विकेन्द्रीकरणको नाममा केन्द्रीकरण र संघीयताको नाममा अफवाह फैलाउने नीति पनि गोर्खालीको गोर्खेलौरीमा धुम्रकेतु भएर असारमा सार भएको छ । तर सैपालको अन्तगर्भमा बस्ने वनमान्ठले खबरदारी गरी रहेको छ । सत् असत्, असल खराब, राम्रो नराम्रो, निको फुच्चो र दुक् म्हिदुक्लाई छुट्याउने काम गरेको छ । यो नै वषौ वर्षसम्म कखरा रटेर पनि प्रगति नभएर अधोगति प्राप्त गर्ने स्थान हो । जहाँबाट हालसम्म कुनै पनि विद्यार्थीले आठ कक्षाभन्दा माथि उक्लने प्रयास गरेको छैन ।

चाला गाउँमा आगन्तुकहरूलाई चाँपा, मार, छयाङकोल, खुरा, छुरा, थुक्पा, आराक, तारा, लबुक, च्याङस्वा, टौ र चिचीडाई ख्वाएर स्वागत गरिन्छ । चिसो चिसो वातावरणबाट बाँच्नका लागि तातो गर्न लाक्पा, च्यालाग, चुटुक र दुनको प्रयोग गरिन्छ । हिमाली भेगमा शरीरमा पानीको कमी हुने भएकोले धेरै मात्रामा च्या, आरा र ताराको प्रयोग गर्नुपर्छ –वाप्पु । हिउँले एकातिर पानीको स्रोतका रुपमा काम गर्छ भने अर्कातिर वातावरणको संरक्षणकर्ताका पनि मानिन्छ । जुन वर्ष कम हिउँ पर्छ । त्यो वर्षामा घाँस, दउरा र पानीको अभाव हुन्छ । र त हिउँलाई वनमान्ठको कुज्र्या मानेर पहिलो हिउँलाई सौगातको रुपमा लिइने हुनाले त्यसको टसी खादा, जााँड चिण्डो र चाँपाले पुजा गरिन्छ । हिउँदको वातावरण कस्तो रमाइलो हुन्छ भने दिउँसो हिउँ फाल्दै, हिउँका डल्ला हान्दै, घरभित्र गोबर बाल्दै, चापा चाल्दै, च्या खाँदै काम गरिन्छ । याक, नाक, चौंरी, ता, प्यु र पालाङलाई छयु खुवाउँदै दिन बित्छन् भने रातिमा आराको घुट्को सँगै ताराकको बटुको समातेर घरघरमा झरो बाल्दै, लबुक् ताछ्दै, ऊन कात्दै वनमान्ठको सिलोक हालेर रात बिताइन्छ ।

पञ्च भौतिक तत्वको आधार नै यहाँको एक पात्रो हो । यो यहाँको एक भात्तो हो । यो यहाँको एक साइतर हो । यो यहाँको एक कथा हो । यो यहाँको एक व्यथा हो । हो एक निरन्तर क्रिया प्रतिक्रिया पनि हो । जसको संयोग र वियोगमा चालाले निरन्तरता र सजीवताको सास फेर्छ । कस्तुरी, डाँफे, कालिज, नावर, याक, नाक र पालाङको स्या नै चिसोको टनिक हो । चिसोको ओक्तो हो । चिसोको थोक्तो हो । चिसो भगाउने साधन हो । चिसो भगाउने साध्य हो । यसैले लाग्छ चालामा बस्न पाउनु मानौं पिकासोको अर्मृत चित्रकारिता हो । भिन्चीको छाँयाचित्र हो । लैनसिंह वाङदेलको क्यानभास हो । मोहन कोइरालाको आयमिक कविता हो । शंकर कोइरालाको आञ्चलिक भाव हो । देवकोटाको प्रवाहमय मुनामदन हो । धनसुर रोकायाको आञ्चलिक कविता हो भने जयबहादुर रोकाया र कर्णबहादुर रोकायाकोे ग्रामीण समाचार पनि त हो । साँच्चै ! भनौं यो एउटा ग्यालीप्रुफ हो । जहाँका छरिएर रहेका अक्षरहरूले संयोजनबाट सुन्दर काव्यहरू बन्छन् । विशाल गाथाहरू कोरिन्छन् । अथाह भावनाहरू पोखिन्छन् । अनन्त गीतहरू गाइन्छन् । यो एक पेजमेकर हो । यो एक फोटोसप हो । यो एक विन्डोज हो । यो एक फिल्मोरा हो । यो एक इन्डिजाइन हो । एडोव एडीसन र कुल इडिट पनि त हो । जहाँ जसरी रेखा, चित्र, अक्षर र शब्दहरूको जालोले जीवनका रङहरूलाई विभिन्न याम, आयाम, रेखाचित्र, भुजा, कोण र वृत्तहरूमा परिभाषा गरिन्छ । अर्थ दिइन्छ । यो हो चाला, हो यो चाला गाउँ, हुम्लाको तत्कालिन मुचु गाविस र हालको नाम्खा गापाको एक दुर्गम गाउँ चाला हो । यो एक भर्जिनल्याण्ड हो । यो एक जैविक गाउँ पनि त हो ।

बहुपतिको सौगातले सामाजिक, वातावरणीय र मनोवैज्ञानिक विपत्तिभन्दा माथि उठेर भुजपत्रहरूको तोया तोयामा बाँच, बचाऊ र बाँच्न देऊको दार्शनिक पक्षको सबल रुपमा शंखघोष गर्नु नै भौगोलिक यथार्थताको प्रमाण होे । जहाँका भाषिक सम्पदाको पूर्वाधार चाँपा, खुरा, लबुक, आराक, तारा, अल्पी, दोचादोफर, सुम्बा, चोखालाम, च्यालाक, लाक्पा, वक्खु, काम्लो, मल्दुर, याक्चे र पुलिकहरूले गरेका छन् । करीब चार दर्जन ध्वाङ रहेको तीन ससाना गाउँँरूमा विभक्त भएको छ चाला । यहाँको सांस्कृतिक गुफामा लगभग चार सय मानव लामहरू क्रमिक रुपमा नङ मासुको सम्बन्धमा आवद्ध भएका छन् । आधारभूत आवश्यकतारूको पूर्ति याकचौंरी र भेडाबाख्रा जस्ता क्याराभानहरूको पिठँयूमा बोकेर ल्याएको चामलसँग नुन साट्ने स्थान पनि थियो कालन्तरमा । जसलाई रानिसैनको नामले पनि चिनिन्छ । यो एक सम्भावित पर्यटकीय स्पट हुनसक्छ । यो बाटो वस्तुविनियम साधनको प्रवेशद्वार पनि हो । हाल खाम्पा शरणार्थी भगाउने दलालहरूको आम्दानीको स्रोतको आधार पनि भएको छ । यो क्रियाकलापले चालालाई थिच्न थालेको छ ।

यो प्राकृतिक विविधताको मनोरम स्थलमा वनलसुनको गन्ध, वनधनियाँको सुवास, पाँचऔले, च्याउ, झ्याउ जस्ता सयौै वनस्पतिहरूको प्राकृतिक हर्बेरिया हो । त्यसैले सांस्कृतिक सम्पदाभित्रको चिरु, फुरु, युमाला, पोस्योल, सीमाला, किबुक र थाइकुर गहनाहरूले पुरानो संस्कृतिको झझल्को दिन्छ । स्वर्ग, पृथ्वी र पातालको परिकल्पनामा चित्रण गर्ने ग्यान्बाबक्खु र रेशमी राजमार्गको प्रतिच्छायाँको स्मरण गराउने कोइचिनका कपडाहरू प्नि यो समाजमा प्रयोग गरिन्छ । यहाँ खश राजाको स्मृति छ । कल्याणको प्रशासनिक छाप छ । भोटका विभिन्न लगाईँहरूको एक एक साख छ । गौचरणको अमिट गाथाको राप छ । वनमान्ठको तिखो दाप छ । भाग्यको काम छ । विकासे रिक्तताको पाप छ ।

यसैले त खै कहाँ छ नेपाल ? मानचित्रको भौगोलिक इन्दु र संस्कृतिको सिन्धु मानिए पनि भोटको पारितोषक नै फिर्ता हुन्न ? विकास र मानवअधिकार त ल्हुकालको दोमुखे थैलोमा बन्द भएको छ । एकातिर अलुप्त संस्कृतिको भण्डार छ भने अर्कोरित दर्दनाक पीडा खण्डहरू छ । यो चालागाउँको नियति हो । एक्काईसांै शताब्दीको जीउँदो लास र चिसो सास बनेको गाउँ हो । यर्थाथ निकासको लागि पहिलो प्राथमिकतामा मातृभाषाको विद्यालय खोल्नुपर्छ र यसको माध्यमबाट पठनपाठन हुनुपर्छ । ल्होसार, माने र छेदपा जस्ता अनेकौं सांस्कृतिक गरिमाभित्रको यो दुःखान्त सामाजिक कथालाई सुखान्तमा परिणत गरिनु पर्छ । मुल प्रहवामा समाहित हुनु पर्छ । यसका लागि विशेष नैसर्गिक अधिकारको समानताभन्दा पनि सकरात्मक विभेदको आधारमा काम र मामको विकास हुनु अति आवश्यकता देखिएको छ । गाउँ गाउँमा सिंहदरबारको भाका लगाउने कोही दलका माइकलालहरूले यहाँको बारेमा बोल्ने साहस गर्न सकेका छैनन् । तर पनि के यो नै संघीय गणतन्त्रात्मक नेपालको मुल मर्म हैन र ? गाउँ गाउँमा सिंहदरबार, घरमा आधारभूत सेवा सुविधाको आधार व्यावहारिक पक्ष कहिले लागु होला र खैं ?


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको