२४ श्रावण २०७९, मंगलवार

‘बेथिति’ विभाग : ५४ कर्मचारीलाई ८२ सवारीसाधन




काठमाडौं । सरकारले सार्वजनिक खर्च कटौती गर्न जारी गरेको निर्देशिकामा सहसचिवसम्मलाई मात्र गाडी सुविधाको व्यवस्था छ, तर सिंहदरबार छेवैको वन विभागलाई त्यसको वास्तै छैन, ५४ कर्मचारी रहेको कार्यालयमा ८२ सवारीसाधन छन्, महानिर्देशक दुईवटा गाडी प्रयोग गर्छन्, उपसचिव पनि सरकारी गाडी चढ्छन्

सार्वजनिक खर्च कटौतीका लागि सरकारले जारी गरेको कार्यसञ्चालन निर्देशिका, २०७५ अनुसार मन्त्री, संवैधानिक पदाधिकारी, सचिव, विशिष्ट श्रेणी र सहसचिवले मात्र गाडी सुविधा पाउँछन् । तर, सिंहदरबार छेउकै बबरमहलस्थित वन तथा भूसंरक्षण विभागलाई भने निर्देशिकाले छोएको छैन । महानिर्देशक डा। राजेन्द्र केसी दुईवटा गाडी प्रयोग गर्छन्, उपसचिव पनि सरकारी गाडी चढ्छन् ।

विभागमा ५४ कर्मचारी कार्यरत छन्, तर उनीहरूका लागि दुई स्टाफ बससहित ८२ वटा सवारीसाधन चलिरहेका छन् । २२ चारपांग्रे र ६० वटा दुईपांग्रे सवारी विभागमा छन् । महानिर्देशकदेखि उपसचिवसम्म गाडी चढ्छन् भने कार्यालय सहयोगीसम्मलाई मोटरसाइकल सुविधा छ । केही वरिष्ठ कर्मचारीले त दुई–तीनवटा गाडी र इन्धनको सुविधासमेत लिएका छन् ।

अर्थ मन्त्रालयले जारी गरेको सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, २०७८ मा ‘सवारीसाधनको सुविधा प्रयोग गर्ने सुविधा प्राप्त पदाधिकारीलाई प्रचलित कानुन वा नेपाल सरकारले तोकेको अवस्थामा बाहेक एकभन्दा बढी सवारीसाधन उपलब्ध गराइनेछैन’ भनिएको छ । मन्त्रालय, निकाय वा अन्तर्गत भएका सवारीसाधनको संख्या र प्रयोगको अवस्थासहितको अद्यावधिक अभिलेख राख्नुपर्ने हुन्छ ।

तर, वन विभागमा भने महानिर्देशक डा. राजेन्द्र केसीका लागि दुईवटा गाडी छन् । पेट्रोलबाट चल्ने बा.२झ २०६४ र डिजेलबाट चल्ने बा.२झ १२०८ नम्बरका गाडी उनका लागि वन विभागमा रहन्छन् । तर, महानिर्देशक केसीले भने आफू बा.२झ २०६४ नम्बरको गाडी मात्र चढ्ने गरेको दाबी गरे । ‘म दुईवटा गाडी चढ्ने डिजी होइन । सरकारले कानुनअनुसार दिएको सुविधाबापत एउटा मात्र गाडी चढ्छु,’ उनले भने, ‘यहाँ आएर हेरे हुन्छ ।’ प्रशासनका उपसचिव घिमिरेले महानिर्देशकले दुईवटा गाडी चढ्ने नभई ब्याकअपका लागि थप गाडी पुलमा राखिएको बताए ।

लेखा शाखाका उपसचिव रामकृष्ण पन्थी पनि नियमविपरीत चारपांग्रे र दुईपांग्रे सवारीसाधन चढ्छन् । कानुनतः उनलाई गाडी सुविधा दिन मिल्दैन । तर, उनले बा.२झ १६६५ नम्बरको चारपांग्रे चढ्छन् । उनले आफ्नो नाममा बा.२ब ९६८५ नम्बरको मोटरसाइकल पनि बुझेका छन् । प्रशासन शाखाका उपसचिव घिमिरे आफैँ नियमविपरीत बा.२झ ६१६ नम्बरको गाडी चढ्छन् ।

विभागमा महानिर्देशकसहित चार सहसचिव, १७ उपसचिव, २० जना शाखा अधिकृत छन् । त्यसबाहेक नायब सुब्बा, खरिदार, कार्यालय सहयोगी छन् । प्राप्त विवरणमा हाल ५४ कर्मचारी कार्यरत रहेको उल्लेख भए पनि यहाँ एक सय १२ जनाको दरबन्दी छ । ‘हामीसँग भएका सबै गाडी सञ्चालनमा छैनन्, केही मर्मत गर्नुपर्ने अवस्थामा छन् । केही पुलमा छन्,’ कर्मचारी प्रशासन शाखा प्रमुख प्रेम घिमिरेले भने, ‘कर्मचारीभन्दा गाडी बढी भन्न मिल्दैन ।’ यो समचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको