१० आश्विन २०७९, सोमबार

पहिलो पटक फिल्मको गीतमा नेपथ्यका अमृत गुरुङको आवाज




काठमाडौं । नेपथ्य ब्रान्डका चर्चित गायक अमृत गुरुङले पहिलो पटक गाएको नेपाली फिल्मको गीत सार्वजनिक भएको छ । उनको आवाज रहेको फिल्म ‘दोख’को ‘वन चरी उड्यो’ बोलको गीत शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । गीतमा कवि तथा गीतकार श्रवण मुकारुङको शब्द रचना रहेको छ भने आभाषको संगीत छ । गीतमार्फत् फिल्मको कथा भन्न खोजिएको छ ।

गीत सार्वजनिकमा गायक गुरुङले भने– ‘फिल्ममा गीत गाउँदिनँ भनेर बसेको थिएँ । नजिकको साथी अनुप बराल (निर्देशक) ले आग्रह गरेपछि उसकै लागि गीत गाएको हुँ ।’ गायक गुरुङ र निर्देशक तथा रंगकर्मी अनुप बराल स्कूले साथी हुन् । दुवैले आ(आफ्नो क्षेत्रमा गर्विलो नाम बनाएका छन् । ‘वन चरी उड्यो’ गीत लाइभ रेकर्डिङ गरिएको पनि कार्यक्रममा जानकारी गराइयो ।

माओवादी द्वन्द्वकालिन समयमा सामुदायिक वनको मुद्धालाई लिएर दुईवटा गाउँबीचको किचलोको कथालाई निर्देशक बरालले फिल्ममा प्रस्तुत गरेका छन् । फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, राज थापा, सुरज मल्ल, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, साजन थापा मगरलगायतको अभिनय छ । सविन ज्ञवाली र मनोज अधिकारी फिल्मका निर्माता हुन् ।

असार २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा शैलेन्द्र डि. कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन र राजन कठेतको कथा छ । फिल्मको कार्यकारी निर्मातामा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा र एसोसियट निर्मातामा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल र युबराज भट्टराई छन् । फिल्म ‘फिटकिरी’पछि अनुप निर्देशनमा फर्किएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको