सिन्धुपाल्चोक केन्द्र बनाएर गएको भूकम्प गोरखा भूकम्पकै परकम्प हो : भूकम्प मापन केन्द्र प्रमुख
३१ भाद्र, काठमाडौं । राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर बुधबार बिहान गएको भूकम्प गोरखा भूकम्पकै परकम्प भएको बताएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीले आज बिहान गएको ६ रेक्टरस्केलको भूकम्प २०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पको परकम्प भएको बताएका हुन् ।
यसअघि गइरहेका परकम्पका तुलनामा यसको प्रभाव अलि बढि देखिए पनि यो भूकम्प पनि गोरखा भूकम्पकै परकम्प भएको अधिकारीले बताए ।
ठुला भूकम्प गएपछि सयौं वर्षसम्म परकम्प गएका उदाहरणहरू रहेको बताउदै अधिकारीले भने, ‘हाम्रो गोरखा भूकम्पको परकम्प पनि कम्तिमा १० वर्षसम्म आइरहने अुनमान भुकम्प मापन केन्द्रले गरेको छ ।’
अधिकारीका अनुसार ७ रेक्टर स्केल भन्दा माथिको भूकम्पलाई विनासकारी मानिने हुँदा बुधबार बिहान गएको भूकम्प मध्यम खालको हो । ५ वर्षअघि गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको भूकम्पलाई ७ दशमलव ८ रेक्टरस्केल मापन गरिएको थियो ।
गोरखा भूकम्पपछि हालसम्म ४ रेक्टरस्केलभन्दा माथिका ५ सय ४८ परकम्प गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ ।