२४ श्रावण २०७९, मंगलवार

प्लास्टिक खाने कीरा पत्ता लाग्दा वैज्ञानिकहरू उत्साहित




बिबिसी । प्लास्टिक खान रुचाउने एक किसिमको लार्भाले फोहोर रिसाइक्लिङ गर्न र प्रदूषण घटाउन सघाउने आशा अनुसन्धानकर्ताहरूले व्यक्त गरेका छन् ।

अस्ट्रेलियाका वैज्ञानिकहरूले ‘सुपरवर्म’ को सङ्ज्ञा दिइएको जोफोबास मोरियो नामक एक किसिमको खपटेकीराको लार्भा पोलिस्टाइरीन खाएर बाँच्न सक्ने पत्ता लगाएका हुन् ।

उनीहरूका अनुसार उक्त लार्भाको पेटमा हुने विशेष प्रकारको एन्जाइम (पाचनरस) ले प्लास्टिक पचाउन सहयोग गर्छ ।

उक्त अध्ययनमा संलग्न एक अनुसन्धाताका अनुसार यसले पुनःप्रयोगको प्रयास अघि बढाउन ठूलो सहयोग गर्न सक्छ ।

‘सुपरवर्म सानो पुनःप्रयोग कारखानाजस्तै हो । मुखले पोलिस्टाइरीन टुक्रा पार्ने र पेटमा भएका ब्याक्टेरियालाई खुवाउने,’ डा. क्रिस रिन्कले भने ।

कसरी पत्ता लाग्यो
यूनिभर्सिटी अफ क्वीन्सल्यान्डका अनुसन्धानकर्मीहरूले तीन समूहमा राखिएका सुपरवर्मलाई तीन सातासम्म छुट्टाछुट्टै आहारा दिएका थिए ।

पोलिस्टाइरीनको खाना दिइएका लार्भाको तौल बढेको उनीहरूले पाए ।

उनीहरूले सुपरवर्मको पेटमा पोलिस्टाइरीन र स्टाइरीन पनि गलाउन सक्ने धेरै एन्जाइम भएको पत्ता लगाए । रेस्टुराँले बेच्ने खानेकुरा राख्न प्रयोग गरिने टेकअवे कन्टेनर र इन्सुलेशन तथा कारका पाटपुर्जा बनाउन पनि पोलिस्टाइरीन र स्टाइरीन चाहिन्छ ।

अब के गर्न सकिन्छ
यो अनुसन्धानले प्लास्टिक रिसाइकल गर्ने कारखानाका रूपमा काम गर्न सक्नेगरी ती कीराको खेती गर्न सघाउँदैन ।

यद्यपि वैज्ञानिकहरूले ती कीराको पेटमा हुने सर्वाधिक प्रभावकारी जैविक रस चिन्ने प्रयास गर्ने छन् । त्यसबाट प्लास्टिक रिसाइक्लिङका लागि प्रयोग गर्न मिल्नेगरी ठूलो परिमाणमा ती जैविक रसको उत्पादन गर्न सकिने छ ।

माइक्रोबिअल जीनोमिक्स नामक वैज्ञानिक जर्नलमा यसबारे एउटा शोधपत्र प्रकाशित भएको छ ।

उक्त शोधपत्रका अनुसार एन्जाइम हालेर प्लास्टिक गाल्नका लागि उपकरण प्रयोग गरेर पहिला प्लास्टिकका ससाना टुक्रा पार्नुपर्छ ।

डा. रिन्कका अनुसार त्यो विधिबाट बनेको पदार्थ प्रयोग गरेर अरू सूक्ष्मजीवले बायोप्लास्टिकजस्ता मूल्यवान् यौगिकहरू बनाउन सक्छन् ।

अनुसन्धानले यसअघि नै केही प्रजातिका खपटेकीराका लार्भाले पोलिस्टाइरीन खाने देखाएको थियो ।

तर यो अनुसन्धानले ूएक कदम अगाडिू बढाएको अस्ट्रेलियन न्याश्नल यूनिभर्सिटीका अनुसन्धानकर्ता कोलिन ज्याक्सनले बताए ।

उनी यो अनुसन्धानमा संलग्न थिएनन् ।
‘यो अध्ययन धेरै अघि बढेको छ र यसले (सुपरवर्मको) पेटमा भएको ब्याक्टेरियाले कसरी अणुको तहसम्म काम गर्छ भन्ने बुझाउँछ,’ प्राध्यापक ज्याक्सनले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशनसँग भने ।

त्यसैले यो बुझ्नु र यस प्रकारको विधि प्रयोग गर्नु यो अनुसन्धान महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

यसअघि अन्तर्राष्ट्रिय स्तरमा अन्य अनुसन्धानकर्ताहरूले पनि प्लास्टिक गाल्न सक्ने क्षमता भएका ब्याक्टेरिया र ढुसी पत्ता लगाएका थिए ।

‘यस्तो प्रकारका अनुसन्धानमा थप अध्ययन सधैँ चुनौतीपूर्ण हुन्छ । किनभने प्लास्टिकले सिर्जना गरेको ठूलो समस्या र भविष्यमा प्लास्टिकको उत्पादन कति सस्तो पर्छ भन्ने कुराहरूसँग यो जोडिएको छ,’ ज्याक्सनले भने ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको