सर्वाधिक कमाउने फुटबलरको शिर्षस्थानमा लियोनल मेस्सी
३० भाद्र, काठमाडौं । सन् २०२० मा सर्वाधिक आम्दानी गर्ने फुटबल खेलाडीको शिर्ष स्थानमा लियोनल मेस्सी अटाएका छन् । खेल कौशल र आचरणका हिसाबले पनि विश्वमै उत्कृष्ट मानिने अर्जेन्टाइन फुटबलर मेस्सीलाई फोर्ब्स म्यागजिनले शिर्षस्थानमा राखेको हो ।
फोर्ब्सका अनुसार मेस्सीले सन २०२० मै १२६ मिलियन अमेरिकी डलर आम्दानी गरेका छन् । जसमध्ये बार्सिलोनाको नियमित तलबबाट ९२ मिलियन अमेरिकी डलर र प्रायोजनमार्फत् ३४ मिलियन अमेरिकी डरल आम्दानी गरेको फोर्ब्सले उल्लेख गरेको छ ।
बार्सिलोनाबाट व्यावसायिक फुटबल करिअर सुरू गरेयाता मेस्सीको कमाई १ बिलियन अमेरिकी डलर पुगेको फोब्र्सले जनाएको छ । १६ वर्षको फुटबल करिअरमा आफुलाई उत्कृष्ट सावित गर्ने दर्जनौं रेकर्डहरू कायम गरिसकेका छन् मेस्सीले ।
समकालिन फुटबलर मध्ये कुन उत्कृष्ट भन्ने सवालमा सबैभन्दा बढि तुलना हुने खेलाडी मेस्सी र क्रिस्टियानो रानाल्डो हुन् । तर यो वर्ष पोर्चुगिज स्टार रोनाल्डोलाई उछिन्दै मेस्सी विश्वकै सर्वाधिक कमाई गर्ने खेलाडी बन्न सफल भए । लामो समय रियल म्याड्रिडबाट खेलेका स्ट्राइकर रोनाल्डो अहिले अहिले इटालियन क्लव युभेन्ट्सबाट खेल्छन् ।
फोर्ब्सका अनुसार रोनाल्डोको वार्षिक कमाई ११७ मिलियन अमेरिकी डलर छ । जसमध्ये रोनाल्डोले तलबबाट ७० मिलियन अमेरिकी डलर र प्रायोजनमार्फत् ४७ मिलियन अमेरिकी डलर आम्दानी गरेका छन् । उनको आफ्नै ब्रान्ड सिआर–७ मार्फत् आम्दानी बढेको फोर्ब्सले जनाएको छ ।
त्यस्तै सर्वाधिक आम्दानी गर्ने फुटबलरको तेस्रो स्थानमा ब्राजिलियन फरवार्ड नेइमार रहेका छन् । उनले तलबमार्फत् ७८ मिलियन र प्रायोजनमार्फत् १८ मिलियनसहित ९६ मिलियन अमेरी डलर आम्दानी गरेका छन् । मेस्सीसँगै बार्सिलोनाबाट लामो समय फुटबल खेलेका नेइमार अहिले पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्छन् ।