७ जेष्ठ २०७९, शनिबार

स्थानीय आवश्यकताका आधारमा जनताको माग वमोजिम विकास योजनाहरू निर्माण गर्नेछौंः सूर्य शाही


सूर्यबहादुर शाही
२३ बैशाख २०७९, शुक्रबार

राष्ट्रब्यापी हुन गइरहेको स्थानीय निर्वाचन अन्तर्गत यही बैशाख ३० गते हाम्रो चामुण्डाविन्द्रासैनी नगरपालिकामा पनि सम्पन्न हुन गइरहेको छ । नेपाली जनताको प्यारो पार्टी नेकपा (एमाले) का नेता तथा कार्यकर्ता साथीहरूले अगाध विश्वास गरी मलाई यस पालिकामा सर्वसम्मत रूपमा नगर प्रमुखको उम्मेदवार बनाउनु भएको छ । पार्टीले उपप्रमुख लगायत वडाका उम्मेदवारहरू पनि सर्वसम्मत रूपमा चयन गरी चुनावी मैदानमा होमिसकेको छ ।

पञ्चायतकाल देखि नै अनवरत प्रजातन्त्रको लडाई लड्ने क्रममा २०४६ सालमा मलाई तत्कालिन पञ्चायत सरकारले सबैभन्दा पहिला जेलका चिसा छिडीमा लिएर राखेको थियो । त्यो बेला म कलिलो जवानीमै थिएँ । तत्कालिन सरकारले पञ्चायतका विरुद्ध चुप लागेर शान्तसँग बस्ने आग्रहलाई नमानी मैले जेल रोजेको थिएँ ।

चुनाव उपयोग गरेर जनतालाई सचेत पार्दै राजनीतिक परिवर्तन गर्नु पर्दछ भन्ने सोचले जम्बुकाँध गाउँ पञ्चायतबाट वि.सं. २०४३ सालमा जनपक्षीय उपप्रधान हुँदै आफ्ना संघर्षका दिनहरू शुरु गरेको थिएँ । युवाकाल देखिनै वाम प्रजातान्त्रिक राजनीतिमा होमिएको आज करिव ४ दशक पुग्न लागिसकेको छ । यस बीचमा गडाजिउला र रामघाटमा थुप्रै पानी बगिसकेको छ । म लगायत साथीहरूले गाउँ गाउँमा पुगेर गरिव, निमुखा र पिछडिएका जनतालाई उनीहरूका हक अधिकारप्रति सचेत बनाउने कार्य गरेका थियौं । हाम्रा बैठक र मिटिङ माल्ली र थामकोटका जङ्गलहरूमा हुने गर्दथे । हामीले यो बीचमा रक्सी विरोधी आन्दोलन, जाली फटाह विरोधी आन्दोलन र शैक्षिक संस्थाहरूको निर्माण गर्ने अभियान आदिको समेत नेतृत्व गरेर जनतालाई सचेत गराउने कार्यको अगुवाइ गरेका थियौं । पञ्चायतकाल देखि नै अनवरत प्रजातन्त्रको लडाई लड्ने क्रममा २०४६ सालमा मलाई तत्कालिन पञ्चायत सरकारले सबैभन्दा पहिला जेलका चिसा छिडीमा लिएर राखेको थियो । त्यो बेला म कलिलो जवानीमै थिएँ । तत्कालिन सरकारले पञ्चायतका विरुद्ध चुप लागेर शान्तसँग बस्ने आग्रहलाई नमानी मैले जेल रोजेको थिएँ ।

जनयुद्धकालमा समेत म ज्यान जोखिम राखी अपहरण हुँदा समेत प्रजातन्त्र र वाम आन्दोलनको सही दिशाबाट कहिल्यैं विचलित भइन । प्रजातन्त्र विरुद्ध राजा ज्ञानेन्द्रबाट भएको ‘कु’ का कारण देशब्यापी विचलन देखिएको अवस्थामा समेत म अविचलित रूपमा लोकतन्त्रका पक्षमा डटेको थिएँ ।

२०५४ सालमा म पार्टीको तर्फबाट जिल्ला विकास समितीको उपसभापति हुँदा दैलेख जिल्लामा महत्वपूर्ण सडक निर्माण तथा क्याम्पस स्थापनाको अगुवाई गरेको थिएँं । दैलेख जिल्लाको भौतिक तथा शैक्षिक पूर्वाधार विकासका निमित्त यो एक महत्वपूर्ण जग थियो ।

मेरो पार्टीले मेरा केश फुलेको यो अवस्थामा मलाई चामुण्डाविन्द्रासैनी नगरपालिकाको विकास र समुन्नतीका लागि विश्वास गरी सर्वसम्मतिले उम्मेदवार घोषणा गरेको छ । म सँगैका थुप्रै साथीहरू संंघ र प्रदेशको सांसद र मन्त्री भइसक्नु भएको छ । मेरो व्यक्तिगत इच्छा जे जस्तो भएता पनि मेरो रगत र पसिना बगाएको मेरो जन्मथलोमै सेवा गर्न पठाएकोमा म खुशी नै छु । यही भूमिमा मैले प्रजातन्त्रको लडाइँ लडेको हुँ । राष्ट्रियताको पक्षमा आवाज उठाएको छु । यहाँका निहत्ता जनता र दाजुभाईका पक्षमा बोलेको छु । मैले सधै सबै दाजुभाई दिदिवहिनीहरूको भलो चिताएरै काम गरेको छु । म मेरो परिवार चरम आर्थिक संकटबाट गुज्रिदा अनि पारिवारिक दुर्घटना र दुःख पिंडामा समेत पेटमा आफै डाइवेटिज (सुगर)को सुई लगाउँदै पार्टी, जनता र दाजुभाई दिदीवहिनीको सेवा गर्न कहिल्यै पछि परेको छैन । आगामी दिनमा पनि पार्टी काम र जनताको सेवा गर्न पछि पर्ने छैन । म चाहन्छु यस घडीमा मेरो जन्म थलोका जनता र दाजुभाइहरूले सुनलाई कसी लगाए झै गरी मेरो सही मुल्याङ्कन गरिदिनु हुनेछ ।

मलाई के विश्वास छ भने प्रजातन्त्रका लागि लडेका र लडिरहनेहरूले मलाई एक प्रजातान्त्रिक योद्धा र साथीका रूपमा सम्झिदिनुहनेछ । राष्ट्रलाई माया गर्नेहरूले मलाई एक राष्ट्रवादी सम्झेर सहयोग गर्नु हुनेछ । वामपन्थीहरूले मलाई दैलेख जिल्लाको वाम आन्दोलनमा निष्ठापूर्वक लागेको एक योद्धाका रूपमा र चामुण्डाविन्द्रासैनीमा माक्र्सवादको सतबीज छर्ने एक अगुवाका रूपमा मुल्याङ्कन गरिदिनु हुनेछ । विकासप्रेमी र समाज सुधारकहरूले मलाई दैलेख जिल्लाको विकास र समाज सुधारमा होस्टेमा हैसे गर्दै अगि बढ्ने एक अगुवा हो भन्ने सम्झिनु हुनेछ । यहाँको यही शुभेच्छा र सदिच्छा मेरा लागि सदा अमूल्य रहनेछ ।

मलाई के विश्वास छ भने प्रजातन्त्रका लागि लडेका र लडिरहनेहरूले मलाई एक प्रजातान्त्रिक योद्धा र साथीका रूपमा सम्झिदिनुहनेछ । राष्ट्रलाई माया गर्नेहरूले मलाई एक राष्ट्रवादी सम्झेर सहयोग गर्नु हुनेछ । वामपन्थीहरूले मलाई दैलेख जिल्लाको वाम आन्दोलनमा निष्ठापूर्वक लागेको एक योद्धाका रूपमा र चामुण्डाविन्द्रासैनीमा माक्र्सवादको सतबीज छर्ने एक अगुवाका रूपमा मुल्याङ्कन गरिदिनु हुनेछ । विकासप्रेमी र समाज सुधारकहरूले मलाई दैलेख जिल्लाको विकास र समाज सुधारमा होस्टेमा हैसे गर्दै अगि बढ्ने एक अगुवा हो भन्ने सम्झिनु हुनेछ । यहाँको यही शुभेच्छा र सदिच्छा मेरा लागि सदा अमूल्य रहनेछ ।

चामुण्डाविन्द्रासैनीको विकासका लागि मेरा पनि तपाईँका जस्तै सपनाहरू छन् । तपाईँ, तपाईँका परिवार, छिमेक र साथीहरूका सपना नै मेरा सपना हुन् । यी सपना नै मेरा साथीभाइ र पार्टीका सपना पनि हुन् । म स-साना र व्यवहारिक विकासका कुराबाट यस पालिकालाई रूपान्तरण गर्न चाहन्छु । पालिकामा बनेको पहिलो सरकारले धेरै कुराहरूको सुरूवात गरी जग निर्माण गर्ने कार्य गरेको छ । हामी चाहन्छौं कि तपाईँहरूसँग मिलेर हरेक वडामा हाम्रा बालबालिका पठनपाठन गर्ने हाम्रो र राम्रो नमुना स्कुल बनाउन सकियोस् । हाम्रा युवा पनि डाक्टर र इन्जिनियर पढ्ने अवसर पालिकाले जुराउन सकोस् र उनी दक्ष बनी हाम्रो पालिकामा सेवा गर्न सकुन् । हामी चाहन्छौं कि तपाईँहरूसँग मिलेर हाम्रो पालिका केन्द्र हुँदै खम्मगाडे जाने सडक कालोपत्रे बनाउन पहल गर्न सकियोस् । विद्युतीकरणको कार्य छिटोभन्दा छिटो विस्तार गरी सबै बस्ती बस्तीमा उज्यालो छर्न सकियोस् ।

हामी प्रतिवद्ध छौ कि तपाईँहरूसँग मिलेर चामुण्डाविन्द्रासैनी सुख्खा डाँडोमा प्रयाप्त खानेपानी होस् । यसका लागि मझुवाबाट सिधै डौंसुर जाने डेडिकेटेट लाइन हामीले सञ्चालन गर्नै पर्दछ । कर्णाली लिफ्टिङ लगायत डाँडा वरिपरीका मुहानबाट साना लिफ्टिङ योजना हामीले सञ्चालनमा ल्याउनै पर्दछ । यसो गर्न सकिएमा खानेपानी मात्र होइन डाँडाहरू नै हरियाली र रमणिय बनाउन सकिनेछ । हामी चाहन्छौं कि तपाईँसँगै मिलेर हामीले अति सुख्खा बस्तिमा आकासे पानी घैटाहरू निर्माण गर्न सकौं र महिला दिदिबहिनीका टाउकोमा गाडिएका बरियाका छापहरू विर्साउन सकौं ।

हामी चाहन्छौं कि तपाईँहरूसँग मिलेर पालिकामा कम्तिमा एक बहुद्देश्यिक प्राविधिक शिक्षालय बनाउन सकियोस् । १५ शैयाको अस्पताल विशेषज्ञ सहित अझ सुविधा सम्पन्न बनाउन सकियोस् । हाम्रा बालबालिका खेल्ने खेल मैदानहरू कभर्ड हलसहित स्तरोन्नती गर्दै जान सकियोस् । एउटा सुविधा सम्पन्न पालिका सभा हल निर्माण गर्न सकियोस् । निर्माणाधिन पार्कलाई पूर्णता दिई रमणीय गन्तब्य बनाउन सकियोस् । जीर्ण तिर्थस्थलहरूलाई पुनः निर्माण गरी धार्मिक पर्यटकहरूलाई आकर्षण गर्न सकौं । पादुका स्थानदेखि भैरी कुण्डसम्मका पञ्चकोशी तिर्थयात्रीका लागि सेवा र सुविधामय आश्रयस्थल बनाउन सकियोस् ।

हामी चाहन्छौं कि तपाईँहरूसँग मिलेर चामुण्डाविन्द्रासैनी नगरपालिकालाई अझ व्यवस्थित, सुन्दर र हरियाली नगरका रूपमा विकास होस् । यो डाँडोमा सबै दाजुभाई दिदिवहिनीहरू निर्धक्क भई हिँडडुल गर्न सुरक्षित महशुस गरुन् । हामीले शान्त र भातृत्वपूर्ण नगरका रूपमा यसलाई विकास गर्ने सपना बुनेका छौं । म प्रतिवद्ध छु कि तपाईँहरूसँग मिलेर यस नगरपालिकालाई भष्टाचारमुक्त र सुशासनयुक्त पालिकाका रूपमा विकास गर्न सकियोस् ।

चामुण्डाविन्द्रासैनीका दाजुभाई दिदिबहिनीसँग अरू थुप्रै सपनाहरू छन् । आर्थिक उपार्जन सहित समुन्नतिका सपना । हामी चाहन्छौं कि उत्पादनमा आत्मनिर्भर बनौ र पालिका मै रोजगार र स्वरोजगार सिर्जना होस् । हाम्रो रैथाने बालीलाई प्रवद्र्धन गर्दैं बजारीकरण र ब्रान्डिङ गर्न सकियोस् । किवी, अलैची, आँप, लिची, आवुकादो आदिको खेती गरी पालिकालाई फलफूलमय बनाई हामी आय आर्जन गर्न सकौं । मध्यपहाडी राजमार्गले हाम्रो पालिकालाई बेरेर अगाडी बढेको छ । हामी चाहन्छौ राजमार्ग छेउछाउ व्यवसायिक तरकारी र फलफूल खेती गरी जनताको आयमा वृद्धि गर्न सकियोस् । हाम्रो सुन्दर लेक र पाखालाई हरियाली बनाई बाख्रापालन विस्तार गर्न सकियोस् । भैसी पालनलाई व्यवसायीकरण गरी दुग्ध प्रवद्र्धन गर्न सकियोस् । अल्लो प्रशोधन गरी कपडा बुन्न सकियोस् । यी हामीले देखेका सपनाहरुका केही उदाहरणहरू मात्र हुन् । यी सपना जस्ता लागे पनि पालिका नेतृत्व र जनता दत्तचित्त भएमा यी सबै कुरा गर्न सम्भव छ । पालिका, प्रदेश र संघको स्रोत साधन परिचालन गरी जनताका यी सपनाहरूलाई पुरा गर्न सम्भव छ ।

हामीले यस नगरपालिकामा नेतृत्व गरेपछि कुनै व्यक्ति विशेषको अनुहार नहेरर स्थानीय आवश्यकता र औचित्यताका आधारमा आम जनताको माग बमोजिम विकास योजनाहरू निर्माण गर्नेछौं । विगतमा कहि कतै कमि कमजोरी भएका छन् भने त्यसलाई सच्याएर अगि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।

हामीले यस नगरपालिकामा नेतृत्व गरेपछि कुनै व्यक्ति विशेषको अनुहार नहेरर स्थानीय आवश्यकता र औचित्यताका आधारमा आम जनताको माग बमोजिम विकास योजनाहरू निर्माण गर्नेछौं । विगतमा कहि कतै कमि कमजोरी भएका छन् भने त्यसलाई सच्याएर अगि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु । तपाईँको हरेक मतको भारीलाई म र मेरा साथीहरूले शिरोपर गरी जनताका यी सपनाहरू पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको