८ जेष्ठ २०७९, आईतवार

तरकारीमा नुन चर्को भएको झोकमा श्रीमतीको हत्या, यस्तो घटना कति सामान्य



बिबिसी । गत महिना भारतको महाराष्ट्र राज्यमा खानामा नुन चर्को बनाएको निहुँमा पत्नीको हत्या गरेको आरोप लागेका एक ४६ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गर्‍यो ।

‘मुम्बईको पश्चिमी सहर थानेमा ब्याङ्कमा जागिर गर्ने निकेश घागले ४० वर्षे जीवनसङ्गिनीले पकाएको साबुदानाको खिचडीमा नुन चर्को भएको झोकमा उनको हत्या गरे,’ प्रहरी अधिकारी मिलिन्द देसाईले भने ।

घटनाका प्रत्यक्षदर्शी घाग दम्पतीका १२ वर्षीय छोरा थिए । उनले प्रहरीलाई बताएअनुसार उनका बुबाले आमा निर्मलालाई नुन चर्को भएको भन्दै पिटेका थिए ।

‘उनले रुँदै आफ्ना बुबालाई रोकिन अनुनय विनय गरेछन्,’ देसाईले भने । ‘तर ती व्यक्तिले श्रीमतीलाई कुट्दै डोरीले घाँटी कसिदिएछन् ।’

घटनालगत्तै घाग घरबाट निस्किएपछि ती बालकले मावलकी हजुरआमा र मामालाई बोलाएका थिए ।

‘हामी घटनास्थल पुग्दा परिवारजनले उनलाई अस्पतालमा पुर्‍याइसकेका रहेछन्, तर त्यस बेलासम्म उनको प्राण बाँकी थिएन,’ प्रहरी अधिकारी देसाईले भने ।

पहिलो घटना होइन
आरोपित ती पुरुषले पछि प्रहरीमा आत्मसमर्पण गरेका थिए । उनले प्रहरी अधिकारीहरूसँग आफूलाई उच्च रक्तचापको समस्या रहेको बताएका छन् । प्रहरीका अनुसार उनलाई कारागार चलान गरिएको छ ।

निर्मलाको परिवारले विगत १५ दिनदेखि घरायसी कुरालाई लिएर घागले उनीसँग झगडा गरिरहेको प्रहरीलाई बताएको छ । तर देसाईले उक्त विषयमा पीडित वा उनको परिवारको तर्फबाट उजुरी नपरेको बताए ।

भारतमा खानाको विषयमा झगडा हुँदा महिलाको हत्या भएको घटनाबाट भारतमा बेलाबेलामा समाचार प्रकाशित हुँदै आएको छ ।

अभियानकर्मी माधवी कुकरेजा ‘मृत्युले ध्यानाकर्षण गराउने’ भए पनि अधिकांश लैङ्गिक हिंसाका घटनाहरू अदृश्य हुने बताउँछिन् ।

‘पति र उनका आफन्तबाट हुने क्रूरता’ अन्तर्गत विवरण राख्ने गरिएका यस्ता प्रकृतिका महिलामाथि हुने घरेलु हिंसाका घटनाहरू हरेक वर्ष बढ्दो क्रममा रहेका सबैभन्दा हिंसक घटनामध्येमा पर्छन् ।

महिला हिंसाको सङ्ख्या बढ्दो
सबैभन्दा पछिल्लो विवरण उपलब्ध भएको वर्ष सन् २०२० मा भारतमा १,१२,२९२ महिलाले हिंसाबारे उजुरी गरेका छन् । यो तथ्याङ्कले हरेक पाँच मिनेटमा एक महिला हिंसाको सिकार बन्ने गरेको देखाउँछ ।

यस्तो हिंसा भारतमा मात्रै हुने चाहिँ होइन । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वभरि हरेक तीनमध्ये एक महिला हिंसामा पीडित भएका हुन्छन् ।

अधिकांश यस्ता हिंसाका घटना घनिष्ठ व्यक्तिहरूबाटै हुने गरेका छन् । भारतको तथ्याङ्क पनि भिन्न छैन ।

यहाँका अभियानकर्मीहरू यस्ता हिंसाबारे मौन बस्ने र आश्चर्यजनक रूपमा हिंसालाई स्वीकार गर्ने संस्कृतिसँग लडिरहेका छन् ।

भारत सरकारले गर्ने विस्तृत घरधुरी सर्वेक्षणको पछिल्लो तथ्याङ्कले यसबारे रहस्योद्घाटन गरेको छ ।

घरेलु हिंसामा उजुरी पर्दैन
चालीस प्रतिशतभन्दा बढी महिला र ३८ प्रतिशत बढी पुरुषले सरकारी सर्वेक्षकहरूलाई निश्चित अवस्थामा पतिले पत्नीलाई कुट्दा आपत्ति नहुने बताएका थिए ।

उनीहरूले सासू–ससुरालाई मानमर्दन गरे, घर र बालबच्चाको ख्याल नगरे, पतिलाई नभनी बाहिर गए, यौन सम्बन्ध अस्वीकार गरे र खानेकुरा राम्रोसँग नपकाए कुट्दा आपत्ति नहुने बताएका थिए ।

चार राज्यमा ७७ प्रतिशत महिलाले पत्नीलाई कुट्ने कुरा उचित भएको बताएका थिए ।

कर्नाटक राज्यमा बाहेक अधिकांश अन्य राज्यमा पत्नीलाई कुट्नु उचित ठान्नेमा पुरुषभन्दा महिला धेरै थिए ।

पत्नीले मिठो खानेकुरा नपकाएको अवस्थामा पतिले कुटपिट गर्नुलाई पनि अधिकांश राज्यमा महिलाले नै बढी उचित ठानेका थिए ।

तर पाँच वर्षअघि गरिएको सर्वेक्षणभन्दा पत्नीलाई पिट्नु उचित ठान्नेहरूको अनुपात घटेको देखिएको छ ।

पाँच वर्षअघि ५२ प्रतिशत महिला र ४५ प्रतिशत पुरुषले पत्नुलाई कुटपिट गर्नु उचित ठानेका थिए । तर अक्सफार्म संस्थामा लैङ्गिक न्यायको विज्ञमा कार्यरत अमिता पित्रे मानिसहरूको सोचमा अझै परिवर्तन नआएको बताउँछिन् ।

हिंसा उचित ठान्ने समाज
महिलाविरुद्ध हुने हिंसा र त्यसलाई उचित ठान्ने कुराको जरो पितृसत्तासँग जोडिएको छ । भारतमा लैङ्गिक हिंसाका घटनाहरूमाथि हुने उच्च स्वीकारोक्तिका कारण यहाँ महिलाहरूलाई तल्लो दर्जाको ठानिन्छ,’ उनले भनिन् ।

‘यहाँ महिलाहरूको चालचलनबारे निश्चित सामाजिक मान्यताहरू छन्ः महिला पुरुहरूप्रति सधैँ अनुगृहीत हुनुपर्छ, निर्णय प्रक्रियामा सधैँ पन्छिनुपर्छ, पुरुषको सेवा गर्नुपर्छ र पुरुषभन्दा कम कमाउनुपर्छ ।’

‘महिलाले यसमा चुनौती दिएको अवस्थामा पुरुषले उनलाई आफ्नो ठेगान लगाउने अधिकारजस्तै ठान्छन् ।’

उनका अनुसार पितृसत्ताले निर्माण गरेको लैङ्गिक मापदण्डका कारण महिला परिवार र समाजको बुझाइमा निर्भर रहन बाध्य छन् ।

देशको सबैभन्दा गरिब क्षेत्रमध्येको एक बुन्देलखण्डमा महिलाहरूको हितका लागि करिब २५ वर्षदेखि परोपकारी संस्था सञ्चालन गरिरहेकी अधिकारकर्मी कुकरेजा महिलाहरूलाई विवाह गर्दा नै ‘डोलीमा चढेर प्रवेश गरेको पतिको घरबाट खट (शव बोक्ने साधन) मा मात्र फर्किन पाउँछ्यौ’ भन्ने गरिएको बताउँछिन् ।
त्यस कारण पनि हिंसामा परेका महिलाहरूले त्यसलाई भाग्यको खेल ठानेर उजुरी नगर्ने गरेको उनी बताउँछिन् ।

संरक्षणको अभाव
‘विगतको भन्दा उजुरीहरू बढेपछि पत्नीमाथि हुने कुटपिटबारे अझै पनि उजुरी पर्दैनन् । यस्ता घटनाहरूको विवरण पाउन समेत कठिन छ । अधिकांश मानिसहरू घरको कुरा घरबाहिर लैजानु हुँदैन भन्ने ठान्छन् । त्यस कारण पनि महिलाहरूलाई प्रहरीसम्म पुग्न निरुत्साहित गरिन्छ,’ उनले भनिन् ।

पतिको घर छोड्नुपर्ने अवस्थामा पनि महिलाहरूको जाने ठाउँ कतै नहुने कुकरेजा बताउँछिन् ।

‘माइतीले पनि फर्केर आउनुलाई सामाजिक कलङ्कको रूपमा लिन्छन् । गरिबीका कारण पनि उनीहरू परिवारमा थप व्यक्तिलाई पालनपोषणको जिम्मेवारी लिन चाहँदैनन्,’ उनी भन्छिन् ।

‘आश्रयस्थलहरूको सङ्ख्या एकदमै थोरै छ र उनीहरूलाई दिइने सामाजिक सुरक्षा भत्ता पनि ५०० देखि १५०० रुपैयाँ मात्रै छ । त्यसले उनीहरूको निर्वाह चल्दैन ।’

महिलाहरूको हितका लागि काम गर्ने वनङ्गना संस्थाकी प्रमुख पुष्पा शर्माका अनुसार पछिल्लो महिना मात्रै उनले पतिले कुटपिट गरेका र बालबच्चासहित अलपत्र पारेका समस्या लिएर दुई महिला आफ्नो संस्थामा आएको बताइन् ।

‘दुवै घटनामा महिलाहरूलाई पतिले कपाल तानेर लतार्दै घरबाट निकालेर छरछिमेकका अगाडि कुटपिट गरेका थिए । दुवै जनालाई खाना मिठो नबनाएको झोकमा घरबाट निकालिएको थियो । त्यो एउटा बहाना मात्रै थियो,’ उनले भनिन् ।

उनका अनुसार महिलाहरू छोरी जन्माएको आरोपमा, कालो वर्णको बच्चा जन्माएको आरोपमा, भने जति दाइजो नल्याएको निहुँमा, पतिले मातेको झोकमा वा घर फर्किने बित्तिकै पानी र खाना छिटो नदिएको बहानामा मात्रै नभएर नुन बढी वा कम हालेको निहुँमा पनि पिटिने गरेका छन् ।

सन् १९९७ मा वनङ्गना संस्थाले मानिसहरूमा घरेलु हिंसाबारे संवेदनशीलता जगाउने उद्देश्यले ‘मलाई उत्तर देऊ’ शीर्षकमा सडक नाटक प्रस्तुत गरेको थियो ।

कुकरेजाका अनुसार उक्त नाटकको आरम्भ नै दालमा नुन नभएको संवादबाट सुरु हुन्थ्यो ।

‘हाम्रो २५ वर्षको अभियानपछि थोरै परिवर्तन त आएको छ । तर हामी अझै पनि विवाह बचाउनका लागि सबै थोक सहन तयार हुन्छौँ,’ उनले भनिन् ।

‘यो सोचमा परिवर्तन आउन आवश्यक छ । हामीले महिलालाई सशक्त बनाउनैपर्छ । उनीहरूले कुटपिट सहनु हुँदैन ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको