८ जेष्ठ २०७९, आईतवार

क्यान्सर जितेर १०४ दिनमा १०४ म्याराथन दौडिएकी कीर्तिमानी अमेरिकी महिला




बिबिसी । क्यान्सरका कारण देब्रे खुट्टा गुमाएपछि दौडन सुरु गरेकी एक महिलाले लगातार सबैभन्दा धेरै म्याराथन दौडने विश्व कीर्तिमान भङ्ग गरेकी छन् ।

ज्याकी हन्ट–ब्रोएर्सले ४६ वर्षको उमेरमा गत ज्यानुअरीको मध्यदेखि प्रत्येक दिन एउटा म्याराथन दौडेकी छन् ।

एउटा म्याराथन पूरा गर्न झन्डै पाँच घण्टा लाग्छ ।

शनिवार उनले १०४ दिनमा १०४ म्याराथन दौडेकी छन् र त्यो उपलब्धिलाई गीनीज बुक अफ वर्ल्ड रेकर्ड्सले प्रमाणित गर्ने आशा गरेकी छन् ।

एक प्रवक्ताले त्यो उपलब्धि प्रमाणित गर्ने कार्यका लागि तीन महिना जति लाग्ने बताएका छन् ।

आइतवार धेरे दिनपछि म्याराथन नदौडनु पर्दा अनौठो लागेको उनले बताइन् ।

‘म एक हिसाबले यो सकिएकोमा खुसी थिएँ,’ अमेरिकी हन्ट–ब्रोएर्सले बीबीसीलाई भनिन् । ‘अर्कोतर्फ म सोचिरहेँ कि म दौडन जानुपर्छ ।’

उनको शरीरले पनि लामो मिहिनेतपछि विश्राम खोजिरहेको छ । ‘१०४ म्याराथन दौडेपछि मलाई अलि असहज भएको छ,’ उनले भनिन् ।

दक्षिण अफ्रिकामा जन्मेर उतै हुर्केकी हन्ट–ब्रोएर्सलाई दौडले त्यो आत्मविश्वास दिएको छ जुन उनलाई क्यान्सरपछि कहिल्यै नपाइने डर थियो ।

सन् २००२ मा नेदरल्यान्ड्समा चिकित्सकले उनलाई विरलै देखिने हड्डीको क्यान्सर लागेको पत्ता लगाए ।

उनी २६ वर्षको हुँदा उनको जीवन रक्षाका लागि त्यसको दुई सातापछि नै उनको देब्रे खुट्टा काटियो ।

‘सबै कुरा तीव्र गतिमा भयो,’ उनी सम्झन्छन् ।

पहिलो दुई वर्ष उनलाई बद्लिएको जीवनसँग सङ्घर्ष गर्नुपर्‍यो । क्यान्सर लागेकोमा उनी क्रुद्ध थिइन् र खुट्टा नभएकोमा लज्जित महसुस गरिरहेकी थिइन् । सार्वजनिक स्थानमा नक्कली खुट्टा नदेखाउन उनी लामो लुगा लगाउँथिन् ।

सन् २०१६ मा भने उनले दौडन सुरु गरिन् ।

उनले लामो दूरीको दौड दौडने पतिको हौसला त बढाउँथिन् तर त्यो काम अनौठो सोख भएका मानिसले मात्रै गर्ने ठानेर आफू दौडने सोचेकी थिइनन् ।

लामो दूरीका धावकहरूले प्रयोग गर्ने नक्कली खुट्टा किनेर उनले १० किलोमिटर दौडमा भाग लिन नाम लेखाइन् ।

दौडको अघिल्लो दिन उनले आफ्नो नाम हाफम्याराथनमा सारिन् र त्यसयता उनले पछाडि फर्केर हेरेकी छैनन् ।

‘म कि सबै गर्ने कि गर्दै नगर्ने खालको व्यक्ति हुँ । त्यसैले म दौडमा पूरै लागेँ,’ उनी भन्छिन् ।

यो वर्षको सुरुमा हन्ट–ब्रोएर्सले आफैलाई नयाँ चुनौती दिइन्, लगातार सबैभन्दा धेरै म्याराथन दौडने ।

गीनीज बुक अफ वर्ल्ड रेकर्ड्समा महिलाले लगातार सबैभन्दा धेरै म्याराथन दौडेको कीर्तिमान अलिसा अमोसको नाममा छ । उनले दुई वर्षअघि महामारीसँग लड्न लगातार ९५ म्याराथन दौडेकी थिइन् ।

पुरुषको नाममा रहेको कीर्तिमान इटलीको इन्जो कापोरासोको छ जसले लगातार ५९ म्याराथन दौडेका थिए । हुन त स्पेनका रिकार्डो अबादले लगातार ६०७ म्याराथन दौडेको दाबी गरेका छन् ।

दुई बच्चाकी आमा हन्ट–ब्रोएर्सले प्रत्येक दिन कम्तीमा म्याराथनको दूरी पार गरेर दौडँदै यो कीर्तिमान भङ्ग गर्न खोजेकी हुन् ।

उनले १०४ दिनमा दुई म्याराथन प्रतियोगितामा भाग लिइन् र अन्य दिन स्थानीय बाटो वा ट्रेडमिलमा पनि दौडिइन् ।

उनले सुरुमा १०० दिन दौडने योजना गरेकी थिइन् तर यसैबीच ब्रिटिश केट जेडेनले अलिसाको कीर्तिमान १०१ म्याराथन दौडेर भङ्ग गरेको दाबी गरिन्, हन्ट–ब्रोएर्सले त्यसलाई जित्न १०४ दिन दौडिइन् ।

उनले यी १०४ दिनमा कूल ४,४०० किलोमिटरको दूरी दौडिएकी छन् ।

आफ्नो प्रयासलाई सोसल मिडियामा अद्यावधिक गर्दै उनले ८८ हजार अमेरिकी डलर खुट्टा नभएका धावकहरूलाई सहयोग गर्ने संस्थालाई सहयोग जुटाइन् ।

‘दौडले मेरो मानसिक अवस्थामा धेरै फरक पारेको छ र मलाई मेरो शरीर कति बलियो हुन सक्छ भनेर देखाएको छ । यसले मलाई म जस्तो छु त्यही स्वीकार्न सहयोग गरेको छ ।’

उनको अबको लक्ष्य अक्टोबरमा आयोजना हुने ३८६ किलोमिटरको कठिन दौड पूरा गर्नु रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको