८ जेष्ठ २०७९, आईतवार

अझै मताधिकारबाट वञ्चित छन् राउटे




सुर्खेत । कर्णाली प्रदेश सधैँ केन्द्र सरकारबाट उपेक्षित छ। कर्णाली प्रदेशका विभिन्न स्थानमा घुमन्ते जीवन बिताउने राउटे समुदाय, राज्यको नजरबाट कर्णालीभन्दा पनि पर छन् । उनीहरूले राज्यबाट पाउने सेवा सुविधा पाउन सकेका छैनन् ।

स्थानीय निर्वाचनको सरगर्मी देशैभर बढ्दै गर्दा दैलेख, सुर्खेत, जाजरकोट, अछामलगायतका जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय भने अझै मताधिकारबाट वञ्चित छन् । आफूलाई वनको राजा भन्न रूचाउने राउटे दक्षिण एसियाको एक मात्र फिरन्ते समुदाय हो, जसले आफूलाई नेपालको नागरिक भनेर चिनाउँछन् । देशको नागरिक भए पनि राज्यबाट नागरिकता नपाएका कारण उनीहरू सधैँ मताधिकारबाट भने वञ्चित रहँदै आएका छन् ।

राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले २०७५ सालमा परिचयपत्र दिएको थियो । कर्णाली प्रदेश सरकारले २०७६ मा सोही परिचयपत्रका आधारमा नागरिकता दिने निर्णय गरी नागरिकता वितरणका लागि आधारसमेत तय भइसकेको बताएको थियो । तथापि, उनीहरू अझै जन्मदर्ता र नागरिकताजस्ता संवैधानिक अधिकारबाट वञ्चित छन् । परिचयपत्रका आधारमा उनीहरूले सामाजिक सुरक्षा भत्ता भने पाइरहेका छन् ।

राउटे समुदायको हालको जनसंख्या जनसंख्या १४५ जना रहेको छ । गुराँस गाउँपालिका अध्यक्ष खेमराज वलीका अनुसार १८ वर्ष पूरा भएका र मतदाता हुन योग्य संख्या ६९ छ । ‘‘जन्म दर्ता गराउन नमान्ने राउटे समुदायलाई स्थानीय सरकार बनेपछि हाम्रो गाउँपालिकाले परिचय पत्र दिएको छ,’’ उनले भने, ‘‘नागरिकता नै नबनाएका राउटेले झन मतदाता नामवली हुने त कुरै भएन ।’’

चुनाव विषयमा राउटे समुदायलाई कुनै जानकारी नै नभएको उनीहरूले मतदान चुनावका बिषयमा कुनै जानकारी नै नराख्ने गरेको अध्यक्ष वलीले बताए । ‘‘उनीहरूको आफ्नै खाले संस्कृति र रहनसहन रहेको छ,’ उनले भने, ‘‘उनीहरूको आफ्नै मुखिया प्रणालीमा शासन चलाउने गरेका छन् ।’

राउटे समुदायका मुखिया सूर्यबहादुर शाहसँग मताधिकारबारे राखेको चासोमा उनले भोटबारे अनविज्ञता प्रकट गरे । ‘‘भोट भनेको के हो ? अहिलेसम्म दिएको छैन,’ उनले भने ।

सल्यानको वनगाड कुपिन्डे नगरपालिका–२ स्थित काँडागाउँमा आसपासमा अहिले दलहरूले घरदैलो गरिरहे पनि राउटे समुदायलाई भने निर्वाचनबारे चासो छैन, भोट बारे जानकारी पनि छैन । ‘‘दिनहुँ गाउँ गाउँमा खै केमा भोट देऊ भन्ने चर्चा सुनिन्छ, राउटे युवा प्रकाश शाहीले भने,‘‘यो खास के भएको हो रु हामीले थाहा पाएका छैनौँ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको