८ जेष्ठ २०७९, आईतवार

फिल्मभन्दा नाटक मनपर्ने कार्म



काठमाडौं । अभिनेता कार्म रंगमञ्च हुँदै फिल्ममा भित्रिएका हुन् । स्कूले जीवनदेखि नै उनी नाटकसँग नजिक थिए । स्कूलमा हुने नाटकमा उनी अनिवार्य अभिनय गर्थे । पछि गुरुकुलमा लामो समय नाटकमा काम गरेका उनलाई रंगमञ्चले नै फिल्मको हिरो बन्ने बाटो खोल्यो । फिल्म ‘सानो संसार’बाट अभिनेताको रुपमा सुखद् डेब्यू गरेका उनी फिल्ममा आएपछि पनि नाटकबाट टाढा हुन सकेका छैनन् ।

कोरोना महामारीभन्दा अगाडि ‘आर्ट’ नामक एक नाटकमा अभिनय गरेका उनी फिल्मभन्दा आफूलाई नाटकमै काम गर्न मनपर्ने बताउँछन् । एक भेटमा कार्मले भने( ‘तीन वर्षपछि मैले हालै ‘उलार’ नाटक हेरेको थिएँ । नाटक हेरेर निस्कने बेला मैले निहालेर मञ्चतर्फ हेरेँ । त्यसबेला मलाई चुम्बकले तानेको झैं भान भयो । मैले किन नाटकमा काम गरिरहेको छैन भन्ने प्रश्न मनमा उठ्यो ।’

नाटकप्रति आफ्नो बेग्लै लगाव रहेको र नाटकबाट टाढा बस्ने कुराको आफूले कल्पना पनि गर्न नसक्ने उनी बताउँछन् । ‘कतै फिल्मको छायांकन भइरहेको छ भने मलाई हेर्न पनि मन लाग्दैन । फिल्मको छायांकनले मलाई तान्दै तान्दैन,’ उनी अगाडि भन्छन्, ‘तर, कहिँ नाटक भइरहेको छ भने म हेर्छु । सायद थिएटरबाट आएका सबैलाई नाटकप्रति यो अट्याचमेन्ट हुन्छ होला ।’

उनी थिएटरमा जत्ति आफूले फिल्ममा मेहेनत नगरेको पनि सहर्ष स्वीकार गर्छन् । फिल्ममा चित्तबुझ्दो काम गर्न सकिएन भन्ने कुरा आफूलाई सधैं लाग्ने गरेको उनको आत्मबोध छ । उनी भन्छन्, ‘नाटक र फिल्ममा हामीले गर्ने अभिनय नै हो । तर, थिएटरमा नाटक गर्नुअघि रिहर्सलमा बसेर क्यारेक्टरलाई निचोड्न जसरी मेहेनत गर्छौं, त्यो चाहिँ मैले अहिलेसम्म फिल्ममा भेटाएको छैन ।’

रंगमञ्चको दाँजोमा फिल्ममा रिहर्सल नहुने गरेको उनको बुझाई छ । ‘म सधैं मेकरलाई भन्ने गर्छु कि थिएटरमा म महिनौं रिहर्सलमा मेहेनत गर्न सक्छु भने नाटकभन्दा सयौं गुण कमाई हुने फिल्ममा किन मेहेनत गर्न सक्दिनँ ? मलाई प्रयोग गर्नुस् भनेर बारम्बर भन्ने गर्छु । म दिनरात खटिन तयार छु भन्दा पनि वास्था गरिन्न । हामीले थिएटरमा जत्ति मेहेनत फिल्ममा गरेका नै छैनौं,’ उनी सुनिए ।

कार्म अभिनीत नयाँ फिल्म ‘षट्कोण’ यही बैशाख २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छन् । पछिल्लो समय फरक धारका फिल्ममा काम गर्दै आएका उनी आफूलाई घिसिपिटी लभस्टोरीभन्दा ‘षट्कोण’ जस्तो फिल्ममा काम गर्न मन लाग्ने बताउँछन् । यो फिल्ममा उनी एक मर्डर मिस्ट्रीको अनुसन्धान गरिरहेको पत्रकारको भूमिकामा छन् । फिल्मलाई लिएर उनी निकै उत्साहित छन् । (फिल्मीखबर)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको