७ जेष्ठ २०७९, शनिबार

निजी स्कुलले सातामा दुई दिन बिदा नदिने 



काठमाडौं । निजी विद्यालयहरूले सातामा दुई दिन बिदा नदिने भएका छन् । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन, हिसान र एनप्याब्सनले सातामा दुई दिन बिदा दिने निर्णय अमान्य भएको जनाएका हुन् । सातामा दुई दिन बिदा दिँदा विद्यार्थीको पठनपाठनमा असर पर्ने उनीहरूको भनाइ छ । सरकारले जेठ एक गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

प्याब्सन अध्यक्ष डिके ढुंगानाले दुई दिन सार्वजनिक बिदा दिँदा विद्यार्थीको कक्षा घण्टी नपुग्ने बताए । यसले पठनपाठनको नियमिततामा समस्या उत्पन्न गर्ने उनको भनाइ छ । उनले भने, ‘सरकारले केही दिनका लागि यो निर्णय गरेको हो भने मान्न सकिन्छ तर दीर्घकालीन रूपमा दुई दिन सार्वजनिक बिदा दिँदा अन्य बिदा कटौती गर्नुपर्छ ।

दुई दिन बिदाका विषयमा सरोकारवालासँग छलफल नै नगरी सरकारले एकतर्फी निर्णय गरेको आरोप उनको छ । पेट्रोलियम पदार्थको खपत घटाउन सातामा दुई दिन बिदा दिने निर्णय गरेको बताइएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले सरकारले निजी शैक्षिक संस्थाहरुसँग छलफल बिना साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भन्दै असन्तुष्टि जनाए । उनले भने, ‘सरकारले दिने सर्वाजनिक बिदा पनि धेरै छ । सार्वजनिक बिदा कटौती नगरी हप्ताको दुई दिन बिदा दिँदा पाठ्यक्रम पूरा हुन सक्दैन ।’

यस्तै राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ (एनप्याब्सन) ले पनि दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू गर्न नसकिने स्पष्ट पारेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको