७ जेष्ठ २०७९, शनिबार

आगामी साताबाट देशभर इन्टरनेट बन्द हुन सक्नेः आइस्पान




काठमाडौं । आगामी सातादेखि नेपालभर इन्टरनेट बन्द हुने सम्भावना रहेको इन्टरनेट सेवाप्रदायकहरूको छाता संगठन इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले चेतावनी दिएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै आइस्पानले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टाटा, एयरटेल, सिफ्फीलगायत अपस्ट्रिम प्रोभाइडर कम्पनीलाई भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस गर्न बन्द गरेकाले तीन कम्पनीहरूलाई ६ महिनादेखि भुक्तानी गर्न नसक्दा आगामी हप्तादेखि इन्टरनेट बन्द हुने स्थिति आएको आइस्पानले जनाएको छ ।

‘अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियतवश अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्नका लागि विदेशी मुद्रा सिफारिस रोकेकोजस्तो देखिन्छ । किनभने, हाम्रो सार्वभौम देश नेपालको संघीय संसद् सार्वजनिक लेखासमितिबाट दूरसञ्चार नियमावली २०५४ को नियम २६ र अनुसूची ६ ९क० अनुसार सपोर्ट चार्ज, वार्षिक मर्मत, प्राविधिक चार्ज र सुपरिवेक्षण चार्जजस्ता गैरदूरसञ्चार सेवामा आरटिडिएफ र रोयल्टी नलाग्ने देखिएकाले बेरुजु लागत हटाउन निर्देशन दिइसकेको अवस्थामा यसको उल्टो दिशातर्फ मन्त्रालय लागेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

सो निर्णयलाई पालना नगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सिफारिस रोकेर निजी क्षेत्रका इन्टरनेट सेवा नै बन्द गर्न लागिपरेको आइस्पानको आरोप छ । अत्यावश्यक सेवालाई विदेशी मुद्रा सिफारिसमा रोक लगाउन नपाइने राज्यको नीतिविपरीत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अगाडि बढेको आइस्पानले जनाएको छ ।

त्यस्तै, उच्चस्तरीय समितिलाई विद्युतीय पोल प्रयोग तथा सोको भुक्तानी एवं उपभोग सम्बन्धमा सिफारिस गर्न गठित समितिको प्रतिवेदन दिएको छ । जसको कुनै पनि बुँदाको कार्यान्वयन नहुँदा नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रवाह गर्न प्रयोग भएका तार काट्ने, आफूखुसी भाडादर कायम गर्नेजस्ता कार्यहरू गरेका कारण सेवाप्रदायकहरू समस्या परेको जनाएको छ ।

नेपाल इन्टरनेटमा चर्को कर ४५ प्रतिशतभन्दा बढी लगाउने मुलुकभित्र पर्ने मुलुक रहेको आइस्पानको भनाइ छ । कोभिड–१९ को महामारीमा इन्टरनेटबाट नै देशको अर्थतन्त्र, शिक्षा, अन्य अत्यावश्यक सेवाहरू चलायमान भएको विषयलाई राज्यले बेवास्ता गरेको आइस्पानले जनाएको छ । -नयाँ पत्रिकाबाट


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको