८ जेष्ठ २०७९, आईतवार

सासुहरुप्रति नरम हुन पोपको आग्रह




एजेन्सी । विश्वभरका क्याथोलिक धर्मावलम्बीका सर्वोच्च धार्मिक गुरु पोप फ्रान्सिसले क्याथोकिलहरुलाई वयोवृद्धको सम्मान गर्न आग्रह गरेका छन् । बुधबार सेन्ट पिटर्स स्क्वायरमा उपस्थित स्रोताहरुलाई सम्बोधन गर्ने क्रममा पोपले उक्त कुरा बताएका हुन् ।

सम्बोधन अवधिभर उनले पारिवारिक सम्बन्धलाई महत्व दिन आग्रह गरेका छन् । त्यस अवसरमा पोपले सार्वजनिक रुपमा खासै वहस नहुने सासुको विषयमा पनि बोले । उनले समाजमा सासुहरुप्रति धेरै नकारात्मक धारणा रहेको र त्यसबाट उनीहरु ‘पीडित’ हुने बताए ।

‘सासुहरुलाई सधैं अपमानजनक रुपमा प्रस्तुत गरिन्छन् । उनीहरुलाई राक्षस जसरी हेर्न छाड्नुपर्छ । सासु भनेका तपाईंकी श्रीमती वा श्रीमानको आमा हुन् भनेर हेर्नुस् न,’ पोपले भने, ‘तपाईले माया गर्ने व्यक्तिलाई जन्माउने महिलाको खुसीबारे सोच्नुस् ।’

पोपले समाजमा सासुबारे नकारात्मक धारणादेखि मजाकसम्म व्याप्त रहेको औंल्याउँदै भने, ‘हामी आफैंलाई भन्छौं –सासु जति टाढा भए त्यति राम्रो हुन्छ । तर त्यस्तो होइन । उनी एक आमा हुन् । समाजकी जेष्ठ नागरिक हुन् । कुनै महिलाको लागि हजुरआमा हुनु सबैभन्दा सुन्दर कुरा हो । आफ्नो सन्तानको पनि सन्तान जन्मिँदा उनी भित्रको जीवन पुनः जागेर आउँछ ।’

पोपले सम्बोधनमा सासुहरुलाई पनि सुझाव दिएका थिए । ‘सासुहरुले पनि बोली व्यवहारमा सजगता अपनाउनुस्,’ पोपले भने । पोपले सासुबारे पहिलोपटक बोलेका भने होइनन् । सन् २०१५ मा फ्रान्सिसले हजारौं अमेरिकी भक्तालुको भिडलाई सम्बोधन गर्दै भनेका थिए( ‘पारिवारहरुमा झगडा हुन्छ र कहिलेकाँही भाँडाकुँडा हानाहान हुन्छ । र बालबालिकाको टाउको दुखाईको कारण बन्छ । यहाँ सासुबारे म कुरै गर्दिन ।’ –द गार्जियनबाट


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको