संक्रमित बढेपछि कुलेश्वर वल्खु क्षेत्र सिल, उपत्यकामा बढ्यो जोखीम
३० साउन, काठमाडौं । कुलेश्वर क्षेत्रमा फलफुल व्यवसाय गर्नेहरुमा कोरोना देखिएपछि कुलेश्वर वल्खु क्षेत्र सिल गरिएको छ । वडा अध्यक्ष शोभा सापकोटाका आनुसार वल्खुमा २ जना र लाम्पाटी क्षेत्रमा पनि कोरोना संक्रमित भेटिएपछि कुलेश्वर वल्खु क्षेत्र सिल गरिएको हो ।
काठमाडौं महानगपालिकाको वडा नम्बर १४ विभिन्न टोलमा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ । वडाअध्यक्ष सापकोटाले भनिन्, ‘बुधबार २९ जनामा कोरोना पुष्टि भएकोमा बिहिबार थप थप १० जनामा संक्रमण पुष्टि भएपछि स्थिति असामान्य बन्ने देखिएको छ ।’
घरबाट खासै बाहिर ननिस्कनेहरुमा पनि कोरोना देखिएपछि भाइरस समुदायस्तरमा फैलिसकेको आशंका बढेको वडा अध्यक्ष सापकोटाले बताईन् । घरमै बस्नेहरु दैनिक उपभोग्य सामान खरिद गर्न पसल आवतजावत गर्दा घरमै बस्नेहरुलाई कोरोना सरेको हुनसक्ने अनुमान गरिएको छ ।
कोरोना देखिएका कुलेश्वर, वल्खुलगायतका क्षेत्रहरुमा बार लगाएर बाटो र गल्लीहरु पूर्ण रुपमा बन्द गर्न थालिएको छ ।
‘कोरोना यहाँबाट अन्य क्षेत्रमा फैलियो भने उपत्यकामा भयावह स्थिती सिर्जना हुनसक्छ ।’ सापकोटाले भनिन्, ‘सुरक्षा मापदण्ड अपनाएर मानिसलाई सकेसम्म घरमित्रै बसिदिन आग्रह गरेका छौं ।’
धेरैजसो फलफुल व्यवासायिहरुमा संक्रमण देखिएकाले समुदायस्तरमै कोरोना फैलिसकेको अनुमान गरिएको छ । वडाले गरेको आग्रहलाई मानीसहरुले त्यति गम्भिरतापूर्वक लिएको नदेखिएकोले महानगरपालिका र केन्द्रले वडा पूर्णरुपमा सिल गर्न सहयोग गर्नपर्ने उनले बताईन् ।
टेकु लगायतका अस्पतालका आइसोलेशनमा राखिएका संक्रमितहरुको अवस्था सामान्य छ । संत्रलमितको सम्पर्कमा आएका व्यक्तिहरुको तथ्यांक संकलन गरी कोरोना परिक्षणका लागी स्वाल लगिएको वडाअध्यक्ष सापकोटाले जानकारी गराईन् । वडाले कोरोना देखिएका क्षेत्रमा डिसइन्फेक्शन् औषधि छर्ने कार्यलाई पनि तिब्रता दिएको छ ।
अहिले बिहान ५ देखी ९ बजेसम्म मात्रै फलफुल र तरकारी विक्रि वितरण गर्न अनुमति दिइएको छ ।