११ मंसिर २०७८, शनिबार

कोरोनामय बाल दिवस : सामान्य अवस्थाभन्दा १५ प्रतिशत बढ्यो हिंसा



यमुना राना
२९ भाद्र, काठमाडौं । कोरोना महामारीका बावजुत आज देशभर राष्ट्रिय बाल दिवस २०७७ मनाइएको छ । हरेक वर्ष हर्षोल्लासका साथ मनाइने यो दिवस यस वर्ष भने भर्चुअल माध्यमबाट केही सीमित कार्यक्रमहरू गरी मनाइयो । कोरोना महामारीको बीचमा परेको बाल दिवसको यस वर्षको नारा पनि ‘विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिवद्धता’ तय गरिएको छ ।

कोरोना महामारीका कारण नेपालमा विगत ६ महिनादेखि शैक्षिक कार्यक्रमहरू ठप्प छन् । विशेषगरी पठनपाठन बन्द हुँदा र कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण बालबालिकाका शैक्षिक गतिविधी पनि घरको कठाभित्रै सिमित भएका छन् । उनीहरूले आफ्नो शैक्षिक अधिकार त उपयोग गर्न पाएका छैनन् नै त्यसमाथि घरमै लामो समय कुण्ठित भएर बस्दा बालबालिकाहरूले मानसिक समस्या र अन्य हिंसा पनि भोगेका छन् ।

राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले अभिभावकको रोजगारी गुम्दा त्यसले मानसिक रूपमा बालबालिका पनि प्रभावित भएको बताएका छन् । उनले भने, ‘अभिभावकको रोजगारी गुम्दाको समस्याले परिवारमा कलह ल्याउँदा बालबालिका हिंसामा पर्ने गरेका छन् ।’ महामारीका कारण घरमै बस्दा बालबालिकाले पुरै समय इन्टरनेटको प्रयोग गर्ने गरेको उल्लेख गर्दै निर्देशक धरेलले उनीहरूमा इन्टरनेटको लत बस्ने समस्या देखिएको बताए । ‘इन्टरनेटको लत बस्दा बालबालिकाको सामाजिकीकरण नै प्रभावित हुने, शिक्षासँगै बौद्धिक विकासबाट बन्चित हुनुको साथै हिंसामा पर्ने खतरा बढ्दो क्रममा छ’ धरेलले भने ।

बन्दाबन्दीका घरमै बस्दा बालबालिका मात्रै होइन विशेषगरी शहरका सबै मानिसहरूले इन्टरनेटको माध्यमबाट सामाजिक सन्जालको अधिकतम प्रयोग गरीरहेका छन् । पेसा, व्यावसाय, रोजगार सबै बन्द प्राय भएका कारण फुर्सदको समयलाई सहजै कटाउने अस्त्र बनेको छ इन्टरनेट । तर बालबालिकाहरूमा पनि इन्टरनेटको सहज पहुँच र उनीहरूको इन्टरनेटमा हेर्ने सामग्रीहरूबारे अभिभावकले निगरानी नराख्दा यसबाट पनि बालबालिका अञ्जानमै पिडित बनिरहेको प्रहरी साइबर व्युरोका प्रहरी वरिष्ठ उपरिक्षक नविन्द अर्यालले बताए ।

पछिल्लो समय बालबालिका अपरिचित व्यक्ति भन्दापनि चिनजानकै र आफन्तहरूबाटै यौनजन्य हिंसामा पर्ने गरेका छन् । यो समयमा झन् त्यस्ता पिडक आफन्तहरू पनि घरमै सँगै हुने हुँदा बालबालिकासम्बन्धी हुने हिंसा बढ्ने बाल अधिकारकर्मीहरूको भनाई छ । बाल अधिकारकर्मी सुम्निमा तुलाधरले लकडाउनको बीचमा बालबालिकामा हुने यौनजन्य हिंसामा करिब १५ प्रतिशतले वृद्धि भएको बताइन् । तुलाधरका अनुसार अनुसार सामान्य अवस्थामा आफन्त र चिनजानकै व्यक्तिहरुबाट ६० प्रतिशत बालबालिका यौन हिंसामा पर्ने गरेकोमा लकडाउनको अवधीमा त्यो बढेर ७५ प्रतिशत पुगेको छ ।

यस्ता खालका हिंसाबाट जोगाउनका लागि विशेषगरी अभिभावकनै चनाखो भई बालबालिकाको क्रियाकलापमा निगरानी राख्नुपर्ने बाल अधिकारकर्मीहरूको सुझाव छ । साथै इन्टरनेट उपलब्ध गराउने कम्पनीहरूले पनि केही कुराहरूमा प्रतिवन्ध लगाउनु पर्ने राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक धरेलको सुझाव छ ।

नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धि १९८९ अनुमोदन गरेको दिनका अवसरमा बाल दिवस मनाउन थालिएको हो । उक्त महासन्धि अनुमोदन भएको ३० वर्ष पुगेको छ । नेपालमा प्राथमिक तहमा बालबालिकाको खुद भर्ना ९७ प्रतिशत पुगेको छ तर टिकाउ दर बढाउने चुनौती कायमै छ । त्यो चुनौतीलाई कोरोना महामारीले झनै सशक्त बनाइदिएको छ ।

कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुन जरूरी छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको