१५ जेष्ठ २०७९, आईतवार

कर्णालीका २९८ मतदानस्थल अति संवेदनशील




सुर्खेत । स्थानीय तह चुनावका लागि कर्णालीमा ९०७ मतदान स्थल रहेकोमा त्यसमध्ये २९८ वटा मतदानस्थल सुरक्षाका दृष्टिकोणले अति संवेदनशील क्षेत्रमा परेका छन् । यस्तै ४११ मतदानस्थल संवेदनशील र १९८ सामान्य रहेका छन् ।

कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार दशवटै जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी १३८ मतदानस्थल रहेकोमा २० अतिसंवेदनशील, ८५ वटा संवेदनशील र ३३ वटा सामान्य छन् । हुम्लामा सबैभन्दा कम ५२ वटा मतदानस्थल रहेकोमा ९ वटा अति संवेदनशील, ३० संवेदनशील र २३ सामान्य छन् । तर, सुरक्षा संवेदनशिलताका आधारमा सबैभन्दा बढी कालिकोट देखिएको छ । कालिकोटमा ७३ स्थल अति संवेदनशील, ३० संवेदनशली र १३ स्थान सामान्य छन् ।

दैलेखमा ४६ अति संवेदनशील, ५५ संवेदनशली र ३५ सामान्यगरी १३६ मतदानस्थल रहेका छन् । सबैभन्दा सुरक्षित जिल्लाका रुपमा भने जाजरकोट देखिएको छ । जाजरकोटमा अति संवेदनशील १, संवेदनशील ५४ र सामान्य ३० गरी ८५ मतदानस्थल रहेका छन् । सल्यानमा ४१ अति संवेदनशील ५७ संवेदनशील र १६ सामान्य गरी ११४ मतदानस्थल रहेका छन् ।

रुकुम पश्चिममा १९ अति संवेदनशील, ४५ संवेदनशील र १२ सामान्य गरी ७६ मतदानस्थल रहेका छन् । डोल्पामा २३ अति संवेदनशील, २६ संवेदनशील र १७ सामान्य गरी ६६ स्थल रहेका छन् । जुम्लामा ४० अति संवेदनशील, १४ संवेदनशील र २५ सामान्य गरी ७९ स्थल छन् । मुगुमा २६ अति संवेदनशील, १९ संवेदनशील र १६ सामान्य गरी ६१ मतदान स्थल रहेका छन् ।

यस्तै दश जिल्लाका ९०७ मतदानस्थलमा १ हजार ३ सय ८५ मतदान केन्द्र रहने निर्वाचन आयोग प्रदेश कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिइन् । उनका अनुसार सुर्खेतमा २९१, दैलेखमा २०७, जाजरकोटमा १४२, सल्यानमा २०१, रुकुम पश्चिममा १३९, डोल्पामा ६६, जुम्लामा १०२, मुगुमा ६४, हुम्लामा ५४ र कालिकोटमा ११९ मतदान केन्द्र रहने छन् ।

सुरक्षा संवेदनशीलतालाई हेरेर प्रहरी परिचालन गरिने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी हिरा पाण्डेले बताए । अहिले प्रदेशका सबै जिल्लाको अवस्था रिपोर्टिङ प्रहरी प्रधान कार्यालयमा गरिएको र केन्द्रबाट सुरक्षा योजना आएपछि सोहीअनुसार सुरक्षाकर्मी खटाइने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको