महाराष्ट्र सरकार र कंगना विवाद : समर्थनमा ‘मणिकर्णिका’ साडी
२९ भाद्र, काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावत, शिवसेना र महाराष्ट्र सरकारबीचको विवादले उग्ररूप लिइरहेको छ । हालै मुम्बई नगर निगमले डोजर चलाएर मुम्बइस्थित कंगनाको कार्यालय तोडफोड गरिदिएपछि यो विवाद उच्च अदालतमा पुगिसकेको छ ।
महाराष्ट्र सरकार र शिवसेनासँग कंगना एक्लै लडिरहेकी छन् । यसबीचमा देश तथा विदेशमा कंगना रनावतमा पक्षमा ठुलो माहोल सिर्जना भइरहेको छ ।
तर कपडा व्यावारीहरूले कंगनालाई बडो अनौठो शैलिमा समर्थन जनाएका छन् । भारतको ‘सुरत’ कपडाको शहरको रूपमा परिचित छ । यहि शहरका प्रतिष्ठित व्यापारीहरूले कंगना अभिनित बहुचर्चित चलचित्र ‘मणिकर्णिका’ प्रिन्टवाला साडी बजारमा ल्याएका छन् । साडीको बुट्टे तालको छेउमा लेखिएको छ, ‘आई सपोर्ट कंगना रनौत’ । सुरतस्थित आलिया प्रिमियमका छोटुभाई र रजत डावरले महाराष्ट्र सरकारको बलमिच्याइ विरूद्ध साडीमार्फत् कंगनाको समर्थन जनाएका छन् ।
कंगनाको अनुपस्थितिमा मुम्बई नगर निगमले अन्यायपूर्ण तरिकाले उनको सम्पत्तिमाथी डोजर चलाएकोप्रति सुरतका व्यपारीहरूले सामुहिक विरोध जनाएका छन् । त्यहि विरोधको स्पष्ट रूप उनिहरूले साडीमा देखाएका छन् ।
कोरोना महामारी चलिरहेको प्रतिकुल समयमा पनि महिलाहरूले अनलाइनमार्फत् साडिको बुकिङ सुरू गरिसकेको छोटुभाइले बताएका छन् । उनले भनेका छन्, ‘साडीको बुकिङ हेर्दा कंगनाप्रति महिलाहरूको गहिरो समर्थन रहेको बुझ्न सकिन्छ ।’