७ जेष्ठ २०७९, शनिबार

इटहरीमा बम बिस्फोट हुँदा दुई जना घाइते



इटहरी । इटहरीमा बिस्फोटक पदार्थ पड्किँदा दुई जना घाइते भएका छन् ।

इटहरी उपमहानगरपालिका–२ स्थित नवजागृत टोलको एक घरमा सोमबार राति पौने ११ बजेतिर सुतली बम पड्केको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार इटहरी–२ नवजागृत टोलमा रहेको अमित श्रेष्ठको घरमा बिस्फोट भएको हो । श्रेष्ठको घरमा डेरा गरी बस्ने २२ वर्षीय रविन थापा र लमजुङ–५ ढोडेनीका २३ वर्षीय शेरजङ गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । गुरुङ दुई सातादेखि थापाको कोठामा बस्दै आएका थिए ।

घाइते भएका थापाको आँखामा चोट लागेकाले विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ । अर्का गुरुङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको हात र तिघ्रामा चोट लागेको छ ।

कोठाभित्र झोलामा रहेको सुतली बम बिस्फोट भएको प्रहरीको अनुमान छ । बिस्फोटको सम्बन्धमा अहिले प्रहरीले अनुसन्धान गरिरहेकाले यसबारेमा अनुसन्धानपछि विस्तृत जानकारी दिने एसपी थापाले बताए ।

घटनास्थलबाट प्रहरीले हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद गरेको छ । गत फागुनदेखि यो परिषद्ले सशस्त्र संघर्ष थालेको बताएको थियो ।

संघीयता खारेजीलगायत माग राखेर यो परिषद्ले सशस्त्र संघर्ष सुरु गरेको बताएको थियो ।

सुनसरीको इटहरी उपमहानगरपालिका–२ को जागृतिटोलमा बम ल्याउने मान्छेबाट बिस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गएराति सुतली बम बिस्फोट भएको थियो । दुई जना घाइते भएका छन् । बिस्फोट घटनालगत्तै खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा योजनाबद्ध ढंगले पहिले नै ल्याइ बम राखेर बिस्फोट नगराएको पाइएको हो ।

प्रदेश १ का प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरुणकुमार बिसीले भने, ‘बम राखेको भन्दा पनि लिएर आउने मान्छेबाट बिस्फोट भएको देखिन्छ ।’

बिस्फोटबाट २२ वर्षीय रवीन थापा र लम्जुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् प्रहरीले उनीहरूलाई पनि निगरानीमा राखेको छ ।

डिआइजी बिसीले बिस्फोटको घटनापछि प्रदेश मातहतका सबै प्रहरी युनिटलाई सतर्क रहन निर्देशन दिएका छन् ।

‘रातिको घटनाले हिमाल सुरक्षा परिषद्को गतिविधि बढ्यो भन्न त सकिँदैन । किनभने अन्य स्थानमा देखिएको छैन’, उनले भने, ‘तर, बढी निगरानी राख्ने र प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी युनिटहरूलाई सतर्क रहन निर्देशन दिएका छौँ ।’

गत १५ फागुनमा परिषद्ले पर्चामार्फत सशस्त्र युद्धको घोषणा गरेको थियो । हिन्दु राष्ट्र घोषणा, राजतन्त्र स्थापना, संघीयता खारेजलगायत मुद्दा उठाउँदै युद्धको घोषणा गरेको थियो । घोषणा गरेको ठिक एक महिनामा बिस्फोटको घटना भएको हो ।

घटनाको अनुसन्धानको क्रममा चन्दा असुल्न बिस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको