ट्रकले मोटरसाइकललाई ठक्कर दिदा राष्ट्रिय क्रिकेट खेलाडी भण्डारी घाइते
२८ भाद्र, काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारी घाइते भएका छन् । कञ्चनपुरमा ट्रकले ठक्कर दिदा मोटरसाइकलमा सवार भण्डारी घाइते भएका हुन् ।
धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनी ट्रकले विपरित दिशाबाट आउँदै भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कञ्जनपुरले जनाएको छ । क्रिकेट खेलाडी भण्डारीको मोटरसाइकल पछाडि बस्ने करण ठगुन्न पनि दुर्घटनामा परी घाइते भएका छन् ।
घाइते दुवै जनाको धनगढी माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । भण्डारीको टाउको, हात र कम्मरमा चोट रहेको कञ्चनपुरका डीएसपी अमर थापाले बताए । मेट्रो अस्पतालका चिकित्सकका अनुसार अहिले भण्डारीको स्वास्थ्य अवस्था मध्ययम छ ।
ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि फरार चालकको खोजी भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।