सभामुखद्वारा बाह्रविसे पहिरोको स्थलगत अवलोकन
२८ भाद्र, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकामा गएको पहिरोको स्थलगत अवलोकन गरेका छन् । नगरपालिकाको वडा नम्बर ७ स्थित नागपुजे, भीरखर्क र नेवार टोलमा गएरातीको भीषण पहिरोले पुर्याएको मानवीय एवम् भौतिक क्षतिबारे जानकारी लिन सभामुख सापकोटा आइतबार घटनास्थल पुगेका हुन् ।
सभामुख सापकोटाले जिल्लामा पछिल्लो समय प्राकृतिक विपत्तिहरू बढिरहेको उल्लेख गर्दै जोखिमयुक्त सूचिकृत नभएका बस्तीहरूमा समेत पहिरो जानुले थप चिन्तित तुल्याएको बताएका छन् । बाढी पिडितहरूलाई सान्त्वना दिदै सभामुख सापकोटाले भने, ‘तत्काल उद्धार, राहत, अस्थायी स्थानान्तरणमा ध्यान दिइने छ । स्थायी स्थानान्तरणका लागि सिन्धुपाल्चोक भूगोलको विस्तृत भौगर्भिक अध्ययन गरिने छ ।’

सभामुख सापकोटाले जिल्लामा परेको विपत्तिका विषयमा विज्ञहरूसँग छलफल गरेर स्थानीयलाई सुरक्षित रूपमा बस्ने व्यबस्था गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । अवलोकनका क्रममा सापकोटाले पहिरो पीडित र प्रभावितहरुको सुरक्षित बसोबासका लागि आफ्नो तर्फबाट सबै पहल गर्ने बताए ।
आजै सभामुखले बाढी पहिरोले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रविसेदेखि चीनसँगको सीमाना लिपिङसम्मको स्थलगत अवलोकन गरेका छन् । ‘अरनिको राजमार्ग व्यबस्थित गर्ने र तातोपानी नाका सुचारू गर्ने विषयमा आफूले पहल थाल्छु ।’ सापकोटाले भने ।
यसैबीच सभामुख सापकोटाले भीरखर्क, नागपुजे र नेवारटोलका पहिरोमा परेर ज्यान गुमाएहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पहिरोमा परि ज्यान गुमाएका शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे ।
पहिरोमा परि घाइते भएका ६ जनाको उद्धार गरी उपचारका लागि पठाइएको छ । आज साँझसम्म ११ जनाको शव निकालिएको छ भने २० जना अझै बेपत्ता रहेका छन् । पहिरोका कारण भीरखर्कका ४, नाकपुजेका ११ र नेवार टोलका ७ गरी २२ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने १७ घर जोखिममा छन् ।
यो पनि पढ्नुहोस् :