२० श्रावण २०७८, बुधबार

म सडक !



म सडक !
हिजो भरिलो अनि आज खाली छु म
जागिरको खोजीमा भौतारिएका हुन् या
विद्रोहका कालोपट्टी बाँधेर लतारिएका हुन्
कहिले देश भोग्नेहरूले त
कहिले देश सोच्नेहरूले
बजारेका बुट-बाजाहरूको
मैले साँचेको छु लामो अनुभव ।
तर नेपाली जनमत जस्तै
मेरो अनुभव अर्थहीन छ
आवश्यकतामा जन्मिएको म
लाग्छ
कुल्चिन नै बनेको हुँ ।

कोलाहलको भारी बोक्न
आफ्ना पखेटा फाली लमतन्निएको मलाई
कतिले दूध ख्वाए रिसको झ्वाँकमा
कतिले रगत ख्वाए संयमताको बोझमा
मेरै छातीमाथि स्वदेशी तरकारी फ्याँकिदा
मेरै माथि यात्रा गरिरहेका छन् विदेशी कमिसनका भारीहरू
तिमी ‘म’मा संवेदना देख्दैनौ ए संवेदनाहीन मानिस हो !
नत्र मेरो छाती रातो अलकत्राले वौरिएको देख्थ्यौ ।
म निरीह छु नेपाली जनताजस्तै
म हेर्न मात्र सक्छु, बोल्न सक्दिन
हो म सडक हुँ ।

कहिलेकाहीँ म चाहन्थेँ
मेरो छातीका पीडक पाइलाहरू मेटिएर जाऊन्
पीडित पाइलाहरूले न्यायको छाया पाऊन्
म लमतन्न सुतूँ कोलाहलमुक्त बनेर
तर अनायास खाली भएका मेरा छातीहरू
ए कोलाहलमा नग्न रक्तपात गराउने मानव हो !
आमाको छातीझैँ रसाएका छन्
तिम्रा अनुपस्थितिमा मेरा पखेटाहरू
आऊ धरपकड गर ममाथि
तर तिमी स्वस्थ रहनू
तिमी स्निग्ध रहनू
म त जन्मदै कालो पोतोले पोतिएको छु
र त तिम्रो मैलिएको कालो चित्रका सामु पनि म कालै छु
उफ्…
हो म सडक हुँ…


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु