७ जेष्ठ २०७९, शनिबार

विगतलाई फर्केर हेर्दा अनौठो लाग्छ : प्रचण्ड




काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतलाई हेर्दा आफूलाई अनौठो लाग्ने बताएका छन् । आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा उनले शान्ति प्रक्रियापछिको समयलाई फर्केर हेर्दा आफूलाई अनौठो लाग्ने बताए ।

पहिलो संविधानसभा निर्वाचनपछि माओवादी पहिलो पार्टी बनेको तर आफूहरुको खुट्टा भुँइमा नरहेको उल्लेख गरे । उनले आफूले शान्ति सम्झौता गर्दा गिरिजाप्रसाद कोइरालासँग सम्झौता गरेको पछि कोइरालालाई राष्ट्रिपति बन्न नदिएर ठुलो भुल गरेको बताए ।

‘ठूलो पार्टीका रुपमा स्थापित भएपछि हाम्रो खुट्टा भुइँमा भएन । गिरिजाप्रसाद कोइराला विचरा, त्यो बुढो मान्छे । जोसँग हस्ताक्षर गरेर शान्ति सम्झौता भएको हो । उहाँले राष्ट्रपति बन्न खोज्दा दिइएन’, प्रचण्डले भने, ‘खुरुक्क गिरिजाप्रसादलाई राष्ट्रपति दिन पाएको भए पाँचै वर्ष हाम्रो सरकार हुन्थ्यो । अहिले फर्केर हेर्दा अनौठो लाग्छ ।’

उनले अहिले माओवादीलाई सिध्याएर नेपालमा २ दलीय व्यवस्था लागु गर्न विदेशी शक्तिले चलखेल गरिरहेको बताए । त्यसका लागि विदेशी षड्यन्त्र असफल पार्न आफ्नो दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने दबाब रहेको प्रचण्डले बताए । उनले अहिलेको चुनाव सामान्य नरहेको भन्दै नेता–कार्यकर्तालाई गम्भीर रुपमा त्यसको तयारीमा लाग्न निर्देशन दिएका छन् । उनले विदेशी शक्ति २ दलीय व्यवस्थाका लागि लागेको र यो चुनाव माओवादीले नजिते जनक्रान्तिका उपलब्धी, समावेशी, समानुपातिक लोकतन्त्रले मात्र नभई नेपाल राष्ट्रले हार्ने उनले बताए ।

माओवादीलाई घेराबन्दी गरेर कमजोर पार्ने कोसिस भए फेरि कठोर संघर्षको बाटोमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि तयार रहन प्रचण्डले कार्यकर्तालाई निर्देशन दिए । प्रचण्डले समावेशी लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफूहरुको निरन्तरको निष्ठा रहेकाले त्यसलाई उल्ट्याउने षड्यन्त्र असफल पार्न परिस्थितिले जे माग गर्छ त्यही गर्न तत्पर रहेको पनि उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको