‘परदेशी २’ फर्स्टलुक सार्वजनिक, निराश मुद्रामा प्रकाशदेखि केकीसम्म
काठमाडौं । फिल्म ‘परदेशी २’ आउँदो दशैंमा प्रदर्शन हुने भएको छ । बुधवार निर्माण टिमले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै २०७९ सालको दशैंमा फिल्म प्रदर्शन गर्ने घोषणा गरेको हो । तर, फिल्मको प्रदर्शन मिति तोकिएको छैन । फर्स्टलुकमा भने प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा सिवाकोटी फिचर छन् । पोस्टरमा उनीहरुलाई गम्भीर मुद्रामा देख्न सकिन्छ ।
नारायण इन्टरनेशनलको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले संयुक्त रुपमा निर्माण गरेको फिल्मले परदेशीको कथा-व्यथालाई उठाएको छ । दशैंलाई फिल्मको प्रदर्शन मिति घोषणा गर्नुको कारणबारे निर्माता वंशल भन्छन्, ‘परदेशीले चाडपर्वमा आफ्नो गाउँ, परिवारलाई अझ बढी सम्झन्छन । फिल्मले पनि परदेशीकै कथा भन्ने भएकाले प्रदर्शनका लागि दशैं रोजेका हौं ।’
नारायण रायमाझीको निर्देशनमा तयार भएको फिल्ममा नीर शाह, सुशिल पोख्रेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, रोशनी कार्की, देबेन्द्र बब्लु लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् । निर्देशक रायमाझीले आफ्ना अघिल्ला फिल्मको दाँजोमा ‘परदेशी २’लाई अझ राम्रो बनाउने प्रयास गरेको बताएका छन् । यो फिल्मको कथा रमेश बि।जी।ले तयार पारेका हुन् ।
बि.बि. अनुरागीको संगीत, गोबिन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनको छायांकन तथा दीर्घ खड्काको सम्पादन छ । फिल्मका गीतहरुमा नारायण रायमाझी, प्रशान्त तामाङ्ग, निशान भट्टराई, प्रताप दास, मीना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटा लगायतका गायक-गायिकाले स्वर दिएका छन् ।