५ कार्तिक २०७८, शुक्रबार

महाविर पुनको आविस्कार केन्द्रबाट ३ दिनमा ७ वटा भेन्टिलेटर तयार



२८ भाद्र, काठमाडौं । डा. महाविर पुनको राष्ट्रिय आविस्कार केन्द्रले ३ दिनमा ७ वटा भेन्टिलेटर बनाएको छ । देशको एक मात्र नेशनल ट्रमा सेन्टरमा बिग्रिएर रहेका ७ वटा भेन्टिलेटरहरूलाई पुनः निर्माण गरी यी भेन्टिलेटरहरू तयार पारिएको हो ।

आविस्कार केन्द्रका अध्यक्ष डा. पुनका अनुसार यी भेन्टिलेटरहरू वेला भिस्टा कम्पनीका थिए र नयाँमा प्रति भेन्टिलेटर झण्डै १९ लाख रुपैयाँ बजार मुल्य पर्ने कुरा सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । यी भेन्टिलेटरहरू बनाउनको लागि चाहिने सेन्सरहरू केहि दिन अगाडि नयाँ दिल्लीबाट सन्दीप रानाले ९८ हजार रुपैंयाँमा आफैले किनेर ल्याई दान गरेको कुरा डा. पुनले बताएका छन् ।

ती सेन्सरहरू भारतमा प्रति गोटा ५ हजार नेपाली रुपैयाँ पर्ने र यसरी जम्मा खर्च १ लाख रुपैंयाँभन्दा कम मुल्यमा ७ वटा भेन्टिलेटरहरू तयार गरिएको आविस्कार केन्द्रले जनाएको छ । यस कामको लागि राष्ट्रिय आविष्कार केन्द्रका बायो–मेडिकल इन्जिनियरहरूसँग ट्रमा सेन्टरका इन्जिनियरहरू र सो भेन्टिलेटर कम्पनीको सप्लायरका इन्जिनियरले पनि काम गरेका थिए । भेन्टिलेटरहरू पुनः निर्माणका लागि विभिन्न अस्पतालहरूबाट पनि अनुरोध आइरहेको र अरु भेन्टिलेटरहरू पनि सकेसम्म मर्मत गर्ने प्रयास भइरहेको डा. पुनले बताएका छन् ।

डा. पुनले कोरोना महामारीपछि राष्ट्रिय आविस्कार केन्द्रमार्फत् फेसिल, मास्क, पिपिइ टेस्टिङ वुथ, एरुसल बक्सलगायतका १३ वटा स्वास्थ्य सामग्रीहरू उत्पादन गरी निःशुल्क वितरण गरिरहेका छन् । उनको आविस्कार केन्द्रबाट स्वास्थ्यकर्मीहरूले प्रयोग गरेका मास्क, पिपिइलगायतका सामानहरूलाई निर्मलिकरण गर्नका लागि डिसइन्फेक्सन बक्स (UVC) र कोरोना वार्डमा खाना, औषधी र अन्य आवश्यक सामानहरू पुर्याउने नर्सिङ रोवर्ट समेत बनाई प्रयोगमा ल्याइ सकिएको छ । अहिले आविस्कार केन्द्रले कोराना सक्रमण भएको विरामीलाई एक ठाउँबाट अर्को ठाउँमा लिनका लागि आइशोलेशन बक्स निर्माणको प्रक्रिया समेत अगि बढाइरहेको छ ।

पुनको आविस्कार केन्द्रमा काम गर्ने वैज्ञानिकहरू सबै स्वयम्सेवी हुन् । स्वयम्सेवी वैज्ञानिकहरूका लागि सामान्य पकेट खर्च र खाना दिने गरिएको छ । आविस्कार केन्द्र आम नेपाली जनताहरूको सहयोगबाट चलिरहेको डा. पुनले बताए ।

एसियाको नोवेल पुरस्कारका नामले परिचित रोमन म्यागासेसे पुरस्कार विजेता डा. पुन आफैले ३ करोड मूल्य पर्ने २८ रोपनी जमिन आविस्कार केन्द्रका नाममा दान गरी ८ वर्षदेखि विभिन्न नयाँ नयाँ आविस्कारहरू गर्दै आइरहेको छन् । नेपालका सन्दर्भमा परापूर्वकालदेखि नै प्रतिभाहरूको पहिचान गर्ने, मद्दत गर्ने, हुर्काउने र उनीहरूको प्रतिभा देशको विकासमा लगाउने भन्ने संस्कार नै नभएकाले राज्यका तर्फबाट कुनै सहयोग नपाएकोमा डा. पुनको कुनै गुनासो छैन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको