८ जेष्ठ २०७९, आईतवार

भेडापालनबाट कसरी समृद्ध बन्यो जुम्लाको लर्मी गाउँ




जुम्ला । तिला गाउँपालिकाको केन्द्रबाट कर्णाली राजमार्गलाई तल छोडेर १ घण्टा उकालो हिँडेपछि पुगिन्छ, जुम्लाको लर्मी गाउँ ।

भिरालो जमिन, खैरो माटो । बोटबिरुवा त्यति देखिँदैन । अग्लाअग्ला भीरको बीचमा छ, तिला गाउँपालिका वडानम्बर २ को लर्मी गाउँ ।

‘माथि लेकलेकमा पानी भइदिए कति राम्रो हुने थियो । त्यहाँबाट ट्याङ्की बनाएर पनि ल्याउन सजिलो हुन्थ्यो ।’ स्थानीयबासी पानीको जोह गर्न सकिने कल्पना यही गाउँमा बसेर गर्छन् ।

पाखोबारीमा उत्पादन राम्रो हुँदैन । वर्षभरि काम गर्‍यो । खान पुग्थ्यो ३ महिना । भूगोलका हिसाबले विकटमा रहेको यो गाउँ उत्पादनका हिसाबले पनि पछि परेको थियो ।

गहुँ, जौँ, मकै, कोदो, सिमी, फापर लगायतका बाली लगाए पनि अपेक्षा गरेअनुसारको उत्पादन हुँदैन । तर गाउँमा पाँच वर्ष अगाडि दामा रावतले व्यावसायीक रूपमा थालेको भेडा पालन व्यवसाय अहिले गाउँकै आम्दानीको आधार बनेको छ ।

लर्मी गाउँमा ८० घर परिवारको बसोबास छ । जहाँ करिब पाँच सय नागरिक छन् । गाउँका ५० घरपरिवारले भेडा पालेका छन् ।

हिउँदको यो समयमा गाउँका मानिसहरू ५ महिना अघि काटेको भेडाको उनबाट राडीपाखी बुन्न व्यस्त छन् । घरघरमा भेडाको उनबाट कपडा बुन्ने चान ९तान० बनाइएको छ ।

दिउँसो होस् कि बिहानबेलुका । मानिसहरू चानमा राडीपाखी, लिउ, फेरुवा, टोपी, स्वीटर बुन्दै गरेको भेटिन्छन् । धान्य रावतले राडीपाखी बेचेर महिनाको ५० हजार कमाउनुहुन्छ ।

पहिले निकै थोरैले राडीपाखी बनाउने गरेको भए पनि हिजोअआज यसमा लाग्नेहरू बढेको उहाँको भनाइ छ । गाउँमा लगभग एक १ हजार भेडा पालिएका छन् । भेडाको उन वर्षमा २ पटक काट्न सकिन्छ ।

परिवारमा उनको कपडा बुन्ने र गोठालो जानेहरू बाँडफाँड हुन्छन् । एउटा राडीपाखी ५ हजारसम्ममा बिक्री हुन्छ । यसरी भेडाको उनबाट एउटा घरले वार्षिक २ लाखसम्म आाम्दानी गर्छन् ।

१० वर्षअघि सम्म अशिक्षा र गरिबी रहेको यो गाउँको मुहार अहिले फेरिदै गएको छ । यसको एक मात्रै कारण हो, भेडा पालन ।

आमाबुवा आर्यआर्जनमा जोडिएपछि गाउँका बालबालिका नियमित विद्यालय जान्छन्, उच्च शिक्षा पढ्नेहरू पनि बढेका छन् । व्यावसायीक रूपमा स्याउ र तरकारी खेती गर्नेहरू बढेका छन्, अनि व्यावसायीक रूपमा पशु पालन गरेर आफ्नो जीवन स्तर उकास्ने र गाउँलाई नै समृद्ध बनाउने अभियानमा यहाँका मासिन अघि बढेका छन् ।

एक जना छात्र बसन्त रावतले पहिला पढ्न समस्या भएको सम्झँदै भन्नुभयो, ‘नाङ्गै खुट्टा हिँड्नुपथ्र्यो । लेख्नको लागि कापीकलम साथमा हुन्नथ्यो । अहिले भेडा बेचेर भए पनि कापीकलम बाआमाले दिनुहुन्छ ।’

उनको कपडा खोज्दै उपभोक्ता गाउँमै पनि पुग्छन् । नभए गाउलेहरू आपसमा मिलेर बजारसम्म झार्ने गरेका छन् । आयआर्जनमा बढेपछि महिलाहरूको जीवनशैली नै फेरिएको छ । स्थानीय पिउसी रावतका अनुसार उहिले एक रुपैयाँ पाउन पनि मुकिल हुन्थ्यो । हिजोआज त ५र६ हजार रुपैयाँ खाली हुँदैन । घरपरिवार चलाउन पनि यहाँका नागरिकलाई सजिलो भएको छ ।

गाउँमा अझैँसम्म सडक भने पुगेको छैन । भेडापालक व्यवसायी सडक, कपडा बुन्ने आधुनिक मेसिन र सीप तथा सामान बिक्रीवितरणको लागि व्यवस्थित बजार भए उत्साह अझैँ थपिने बताउँछन् ।

कर्णाली प्रदेशको विकट जिल्लाको रूपमा चित्रित हुँदै आएको जुम्लाले आफ्नो परिचय बदल्दै गएको छ । स्थानीय सरकार आएपछि, सडक बिस्तार बढेको छ, शिक्षा र स्वास्थ्यको अवस्था फेरिँदै गएको छ ।

व्यावसायीक रूपमा स्याउ र तरकारी खेती गर्नेहरू बढेका छन्, अनि व्यावसायीक रूपमा पशु पालन गरेर आफ्नो जीवन स्तर उकास्ने र गाउँलाई नै समृद्ध बनाउने अभियानमा यहाँका मासिन अघि बढेका छन् ।

भेडापालन व्यवसाय पनि जुम्लाका लागि समृद्धिको आधार बनेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको