नेपाली सेनाको विमान तिनकुने सडकमा किन गुड्यो ?
२८ भाद्र, काठमाडौं । यो तस्विर देख्नेबित्तिकै तपाईंहरूको मानस्पटलमा सवाल उठ्यो होला कि नेपाली सेनाको विमान सडकमा किन ? शनिबार नेपाली सेनाको विमान तिनकुने सडकमा उडिरहेको होइन गुडिरहेको अवस्थामा देखियो ।
तर कुनै वातावरणीय प्रतिकुलता या प्राविधिक समस्याका कारण विमान सडकमा गुडाइएको भने होइन । लामो समयदेखि त्रिभुवन विमानस्थलमा थन्किएको नेपाली सेनाको ‘एभ्रो विमान’ नारायणहिटी सङ्ग्राहलयमा राख्न लगिदै रहेछ ।
गत वर्ष नै रक्षा मन्त्रालयले पूर्वराजाहरूले प्रयोग गरेका विमान, हेलिकप्टर र सवारी साधनहरू नारायणहिटी सङ्ग्राहलयमा राख्ने निर्णय गरेको थियो । त्यही निर्णय बमोजिम सेनाले विमानस्थलबाट ‘एभ्रो विमान’ नारायणहिटीमा राख्न लगेको त्रिभुवन विमानस्थल कार्यालय प्रमुख देवेन्द्र केसीले बताए ।
गुडाउँदै लेजाने क्रममा विमानको पछाडिको भाग तिनकुनेस्थित रेलिङमा ठोक्किएपछि केहिबेर बाटो अबरूद्ध भएको थियो । सडकमार्गबाट गुडाएर लग्नको लागि पहिले नै विमानको पखेटा झिकेर अगाडिबाट गाडीले तान्दै लगिएको हो ।
यो ‘एभ्रो विमान’ वि.सं २०३१ सालमा राजपरिवारका सदस्यहरूको भ्रमणमा प्रयोग गर्न खरिद गरिएको थियो । तत्कालिन राजा वीरेन्द्रले आफ्ना भ्रमणहरूमा यहि विमान प्रयोग गर्ने गरेका थिए ।
यो विमानलाई नारायणहिटी भित्रको ‘बदाम चौर’ राखिने सङ्ग्राहलयका प्रमुख भेषनारायण दाहालले बताएका छन् । प्राविधिक कार्यहरू सम्पादन भइसकेपछि सर्वसाधारणले पनि विमानको अवलोकन गर्न पाउने भएका छन् ।