युक्रेनको राजधानीमा रहेका नेपाली भन्छन्– ‘विस्फोटको आवाज सुनियो’
काठमाडौं । युक्रेनको राजधानी किएभमा अध्ययनरत एकजना नेपाली विद्यार्थीले बिहीवार सबेरै आफूले तीनवटा विस्फोटनको आवाज सुनेको बताए ।
नेपालको पोखरा घर भएका लोकेश मगरले बीबीसीसँग टेलिफोनमा कुराकानी गर्दै ‘यहाँ भर्खरै बिहान भएकाले हामी अपार्टमेन्टबाट बाहिर निस्केका छैनौँ तर हामीले तीनवटा ठूला विस्फोटनका आवाज सुन्यौँ ।’
‘अब यहाँ ठूलो लडाइँ होला जस्तो छ, त्यसैले हाम्रो चाँडै उद्धार होस् भन्ने चाहेका छौँ ।’
पुटिनद्वारा युक्रेनमाथि सैन्य कारबाहीको घोषणा
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा ‘सैन्य कारबाही’को घोषणा गरेका छन् ।
पुटिनले पूर्वी युक्रेनस्थित युद्ध क्षेत्रबाट आफ्ना हतियारहरू बिसाउन र घर फर्कन युक्रेनी सेनालाई आग्रह गरेका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आक्रमणले युरोपेली महाद्वीपमा ‘ठूलो युद्धको सुरुवात हुनसक्ने’ बताएका छन् ।
उनले राति ढिलो गरी देशवासीलाई सम्बोधन गर्दै यदि रुसले हमला गरे ‘हामी आफ्नो रक्षा आफैँ गर्छौँ’ भन्ने वाचा गरेका थिए ।
युक्रेनको स्थानीय समय अनुसार बिहीवार राति १० बजेदेखि एक महिना लामो सङ्कटकालीन अवस्थामा प्रवेश गर्दैछ ।
क्रेमलिनले युक्रेनबाट टुक्रिएका दुईवटा पूर्वी क्षेत्रले ‘युक्रेनी सेनाको आक्रामक व्यवहारविरुद्ध’ सहयोगका लागि अपील गरेको बताएको छ ।
विश्लेषकका भनाइमा त्यस्तो खाले अपील गरिएको भनेर रुसी सञ्चारमाध्यमले जनाएको कुरा पूर्ण स्तरको आक्रमणको बहाना हुनसक्छ ।
एकजना अमेरिकी वरिष्ठ अधिकारीले रुस पूर्ण स्तरको सैन्य आक्रमणका लागि तयार भएको बताएका छन् ।