५ कार्तिक २०७८, शुक्रबार

दैलेख जिल्लामै पहिलो नमुना डेरी चामुण्डाविन्द्रासैनी नगरपालिकामा



२७ भाद्र, काठमाडौं । चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नम्बर २ चाल्ने चौतारामा दैलेख जिल्लाकै पहिलो नमुना डेरी स्थापना भएको छ । सृजन चामुण्डामाई बहुद्देश्यीय सहकारीले स्थापना गरेको डेरी शुक्रबार कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख शाहीले समाजको आर्थिक समृद्धिको लागि कृषि महत्वपूर्ण पाटो भएको बताए । डेरी स्थापना गर्ने चामुण्डा बहुद्देश्यीय सहकारीलाई धन्यवाद दिँदै शाहीले कृषि प्रवद्र्धन कार्यक्रमका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कर्णाली प्रदेश भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला के.सी. ले कृषि नै समाज रूपान्तरणको मुख्य पाटो भएको भन्दै कृषि व्यावसायी तथा उद्यमीलाई मन्त्रालयले सहुलियतपूर्ण ऋण कार्यक्रम सञ्चालन गरेको बताइन् ।

उद्घाटनमा उपस्थित चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीले सहकारीलाई धन्यवाद दिदै डेरीलाई थप आधुनिक बनाउन नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उप–प्रमुख तारा शाहीले ग्रामिण नगरपालिकामा नमुना डेरी स्थापना हुनु व्यावसायिक कृषिमा महत्वपूर्ण सुरुवात भएको बताइन् । कार्यक्रम सहकारी संस्थाका अध्यक्ष भिमबहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको हो ।

भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखबाट १ करोड, चामुण्डाविन्द्रासैनी नगरपालिकाबाट ३१ लाख, सृजन चामुण्डामाई बहुद्देश्यीय सहकारीबाट ३० लाख र सुर्खेत डेरीबाट प्राप्त भएको ६ लाखसहित १ करोड ६७ लाख लागतमा डेरी स्थापना भएको हो ।

रारापाटीसँग कुरा गर्दै डेरी सञ्चालक समितिका सचिव रविन्द्र कँडेलले लिटरका आधारमा नभएर दुधको गुणको आधारमा मूल्य निर्धारण गरिएको बताए । उनले भने, ‘कृषकबाट प्रतिलिटर ६० देखि ६५ रूपैयाँमा दुध खरिद गर्छौं। दुधमा रहेको फ्याटको मात्राअनुसार प्रतिलिटर ९० देखि १०० रूपैयाँसम्ममा पनि खरिद गर्ने गरेका छौं ।’ सचिव कँडेलका अनुसार एउटा पनि भैंसी नपालेका कृषकहरू अहिले २ वटा, २ वटा भैंसी पालिरहेका कृषकहरू ४ वटा भैंसी पाल्न थालेका छन् ।

नगरपालिका भित्रै डेरी स्थापनासँगै स्थानीयस्तरमा उत्पादित दुधले उचित मुल्य पाउने भएको छ । दुधलाई दहि, दहिलाई मोही पारेर नौनी र नौनीबाट घ्यू तयार गरेपछि मात्रै दूधको मुल्य पाउने कृषकहरू अहिले निकै उत्साहित छन् । यसरी स्थानीयस्तरमै कृषिजन्य उत्पादनले उचित मूल्य पाउने अवस्था बन्दैगयो भने नगरवासीको रोजाई बैदेशिक रोजगार होइन कृषि बन्नसक्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको