७ जेष्ठ २०७९, शनिबार

भ्यागुताहरू



चुक घोप्ट्याए झै चकमन्न
औंसीको अध्यारो रात
आकाशगङ्गामा एकसाथ
टिल्पिल टिल्पिल टुल्पिलाइरहेका
अनन्त आकाशका
जज्वल्यमान जुन र ताराहरु
लुकिरहेछन ! कुदिरहेछन !!
एक्कासि बदलिएको आकाशमा
मडाइरहेको कालो बादलभित्र ।
घरिघरि विस्फोट हुदै
पड्किरहेछन बम र बारुदहरु ।
झिल्लिक्क ! झिलिक्क !!
झिल्मिलाइरहेछन बिष्फोटका झिल्काहरु ।
नियाल्दै सारा दृश्यहरु
जोस्सिरहेछन
कुवाका एक हुल भ्यागुताहरु
घन्काइरहेछन गगनभेदी नाराहरु
ट्वारट्वार ! ट्वारट्वार !!
।।१।।
बर्षौ भयो उ हराएको
जुन तारासङ्ग लुकामारी खेल्दै
कालो बादलसङ्ग मितेरी लाउदै
घरी चट्याङ पठाएर तर्साउछ उ
घरी घनघोर बर्षात गराउछ उ
घरीघरी बाढी पठाउछ कुवामा
उठिबास गराउन लाग्दैछ रे उ !
कुवा छोडेर उतै बस्ती सारेपछी
भ्यागुताको प्रजाती बदलेपछी
भ्यागुताको मालिक बनेपछि
उ भ्यागुतो रहेन अब
भ्यागुताहरु तर्क-वितर्क गरिरहेछन
शङ्का उपशङ्का गरिरहेछन
आफैले चुनेको आफ्नै नेताप्रती
भ्यागुताहरुको भेलामा
आफ्नै नेता खोजीरहेछन भ्यागुताहरु ।
आकाशमा चम्किने बिजुली हेर्दै
चम्किला जुन र ताराहरु नियाल्दै
उज्याला सुर्यका किरणहरु पर्खिदै
भ्यागुताहरु कुवाको डीलमुनिबाट
उफ्रिदै उफ्रिदै लङ्कारिरहेछन
ट्वारट्वार ! ट्वारट्वार !!
।।२।।
भक्कानिदै भ्यागुताहरु
भूत र भविष्य खोतलिरहेछन
घामपानीबाट जोगिनुछ
भोक र रोगबाट बच्नुछ बचाउनुछ
ज्ञान विज्ञानको दीप सल्काउनुछ
यो कुवाको अन्धकार हटाउनुछ
एकले अर्काको खुट्टा तानेर होइन
हात समातेर यो डिल नाघ्नुछ
काधमा काध थाप्नुछ
भ्यागुताहरुको मुक्तिको लागि
स्वतन्त्रता र समानताको लागि
एकजुट भएर जुध्नुछ
दुश्मनको किल्लामा धावा बोल्नुछ
बम र बारुद भएर पड्किनुछ
ज्वालामुखी जस्तै विस्फोट हुनुछ
मृत्यु वा मुक्ती रोजेर अब
अन्तिम लडाइ लड्नुछ
यस्तै यस्तै भाषण भट्याएको
भ्यागुताहरुको कानमा
प्रतिध्वानी गुन्जायमान हुन्छ ।
।।३।।
ठिक त्यसैबेला आइपुग्छ उ
सपना या विपना भ्रमित हुने गरि
बर्षौपछि उहीँ नेता,
उस्तै गुनासा बोकेर उहीँ कुवामा
उस्तै पीडा र रोदन ओकल्दै
उसैगरी उनीहरुलाई सुनाउदै भक्कानिन्छ ।
उसका मन्त्री हुन नपाएका पीडा छन
ठेक्कापट्टा नमिलेका समस्या छन
बजेटको लागि उ लडेको छ
दल अदलबदल भोगेको छ
मानौं, उ एक बहादुर सिपाही
लडाइको मोर्चामा लड्दालड्दै
थाकेर उ लखतरान छ ।
तर उसले हार मानेको छैन
लडाइ जारी छ
जित्नु अनिवार्य छ
त्यसैले फेरि एकपटक उसैलाई
जिताउनु अनिवार्य छ
किनकी चुनाव फेरि आएको छ
फेरि भोट चाहिएको छ
कुवाको रुपरङ्ग बदल्ने उसका
रङ्गिन सपनाहरू अधुरै छन ।
भक्कानिदै भ्यागुताहरु
नेता चुनेर पठाउदैछन
फेरि उसै गरि उसैलाई ।
उहीँ आशा र विश्वासमा
उहीँ स्वर र लयमा
ट्वार ट्वार ! ट्वार ट्वार !!


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको