१९ जेष्ठ २०८०, शुक्रबार

कोरोना र दलसिंहको सपना



तेह्रथुम जिल्ला आठराई गाउँपालिका वाड नं. चार । कालीपा गाउँ सिरानको शान्त परिवेशमा पूर्व ब्रिटीस आर्मी सुवेदार जलसिहं गुरुङको घर थियो । सुवेदार जलसिंहले प्रशस्तै सम्पति जोडेका थिए । पाँचै भाइ छोरालाई बराबरी अंश दिएर छुट्याइसकेका थिए । श्रीमती भने पहिल्यै मरीसकेकी थिई । आफूसँग बस्ने कान्छो छोरो धनसिंह र आफुलाई तिनखला खेत, सयडेढ सय भेडीको गोठ, दुई खायल घरबारी, बस्तुभाउ सबै कुरा भागमा परेकाले टन्जमन्ज थियो । खाँचो केहीको थिएन ।

समय बितेसँगै जलसिंह बुढा हुँदै गए । उनका हात पाखुरा बसे । बिडो थाम्नुपर्ने छोरो धनसिंह भने अलिक असमझ र अव्यहारिक निस्क्यिो । भएको धनसम्पत्ति, खेतखला, भेडीगोठ सबै तास जुवा र जाँडरक्सीमा सिध्याउँदै लग्यो । यसरी चौबिसै घण्टा रक्सीले मातेर हिँड्ने धनसिंहले एकदिन सग्रान्ती बजारबाट घर आउँदा–आउँदै बाटैमा लडेर दुःख निभायो । सुबेदार बुढा जलसिंह पनि आफूभन्दा पहिल्यै छोरो बितेको र सम्पत्ति सबै सकिएको पिडाले सुतेकै ठाऊँमा हृदयघात भएर बिते ।

बुहारी चन्द्रमायाले छोरा दलसिंह र छोरी कलीमायालाई हुर्काउँदै लगिन् । अब बचेको सम्पत्तिको नाममा त्यही कालीपा गहिराको बारी, आठ नौँ वटा भेडा, केलिङ स्कुल मुन्तिरको पाँच सात मुरी धान फल्ने खोल्सी खेत मात्र बाँकी थियो । रै पनि उनले आफ्नो धीरतालाई तलमाथि हुन दिइनन् । जाँगरिली, मिहिनेती र ईमान्दार थिइन् । राडी बुनेर बेचिन् । बाख्रापाठा हुर्काएर बेचिन् । गाईबस्तु लगायत सबै सिर्जना जोड्दै लगिन् । दलसिंह र कलीमाया पनि बाँसका तामा जस्तै हलक्क बढ्दै गए । छोरालाई ससुरो जस्तै ब्रिटीस आर्मी बनाउने रहर चन्द्रमायाका मनमा झाँगिदै थियो । छोरीलाई भने उनले पाँच कक्षाभन्दा बढि पढाउन सकिनन् ।

छोरो सोह्र बर्ष पुगेर सत्र नलाग्दै लाहुरे बन्न भनी खाम्लालुंगमा आउने गल्लावालासँग धाएको तिनचोटी भईसक्यो । दुई तीन सय भिडेका ठाउँमा प्राक्टीकलमा तेश्रो चौँथोमा नाम निकाले पनि लिखित र मौखिकमा फेल भइहाल्थ्यो । तेश्रोपाली अर्को चरणका लागि धरानको घोपासम्म लाने भए । गाउँभरी यसपाली दलसिहँ अव लाहुरे हुने भयो भन्ने हल्ला भयो तर दुर्भाग्य, के तालमेल मिलेन यसपटक पनि फर्कियो । बिचरा उसको भाग्यमै खोट लागेपछि के लाग्यो । ऊ बाजे सुबिदार जलसिंहको तक्मा भिरेको ठुलो फोटो हेर्दै टोलाई रहन्थ्यो । लाहुरे हुने उसका सपनाहरू त्यसै ओईलाएर गए । जसोतसो एस्.एल.सी पास गर्यो तर एघार बाह्र पास गर्नै सकेन । शिक्षक लाईसेन्समा पनि धेरै चोटी भिड्यो तर नामै निस्केन ।

दलसिंह एकदम सोझो ईमानदार, लगनशील, खेलकुद र नाँचगानमा सिपालु भएको हुँदा र बिद्यालय स्थापनाका लागि हजुरबा लाहुरे जलसिंहले गरेको योगदानलाई कदर गर्दै केलिङ प्राबि व्यवस्थापन समितिले उसलाई निजी शिक्षकमा नियुक्ति दियो । गाउँका सबैले दलसिंह सर भन्न थाले । मानईज्जत बढ्दै गयो ।

बिस्तारै आय आर्जनमा पनि परिवर्तन हुँदै गयो । नजिकै बगाले गाउँकी हरीमाया गुरुङसगँ उसको बिहे भयो । आमा पहिले देखि कै मेहनती । उनीहरू पनि जोडी ढुकुरजस्तै साँच्चै मेहनती निस्किए । भेडाबाख्रा थपे । हलगोरू जोडे । खेतको पल्लापट्टी भित्तामा र बारीको यसो घुमेको चिसो ठाउँमा अलैँची रोपे । बढेकी बहिनी कलीमायाको पनि बिहे गरे । पुरानो घर मर्मत गरेर बरन्डा गाँसे । घर अब साँच्चै सुन्दर देखियो । सबैले सुवेदार जलसिंहको घर भन्दै गरेको ठाउँमा अब दलसिहँ सरको घर भन्न थाले ।

दलसिंहकी आमा , तिन छोराछोरी र उनीहरू दुईजोडीलाई के खाउँ, के लाउँ थिएन । पाँच सालको आयस्थाले साँखु खेत पूर्व बाह्र मुरी धान फल्ने खेत खलो जोडे । मोहन बिमलीको खड्के बारी पछि अलैँची फल्नेछ भन्दै किने । हेर्दाहेदै दलसिंह स्कुलको सर मात्र नभएर गाँउको गन्नेमान्ने साहु , भद्रभलाद्मी नै बनिसकेको थियो । उसलाई सदा साथसहयोग गर्ने उसका बालगुरू अनिरुद्र, कचिन्द्र, डम्बर र चक्र बुढा सरहरूको भरथेग उसले पाइरहन्थ्यो । उसका सहकर्मी शिक्षक र हेडसरले समेत उसलाई खुबै आदर गर्थे ।

अचानक माल्टा घुम्यो । उ पाँचथरको सदरमुकाम फिदीम बजार गएको थियो । होटलमा भात खान पर्खिदा टेबलमा राखिएको स्थानीय पत्रिकाको एउटा बिज्ञापनमा उसका आँखा अडिए, “मलेसीया जानेको लागी सुनौलो अवसर । एग्रीकल्चर फर्मको काम । उमेर चालीस नकटेको । बिज्ञापन नं. १ ः योग्यता एस्. एल्. सी, पद सुपरभाइजर । लागत तीन लाख दश हजार । सुरू स्केल मासिक नेपाली पैँसठ्ठी हजार । दुई देखी तीन घण्टा अनिवार्य ओटी ।”

उसले आफुलाई तुलना गर्यो । योग्यता एस्, एल्. सी, उमेर अड्तीस । अब कहाँको निजी श्रोतको बाह्र हजार, कहाँको हजुरबाले परेड खेलेको ठाउँ मलायाको पैँसठ्ठी हजार । अब उसको सुर नै हानेको तिर जस्तै त्यही सपनामा केन्द्रीत भयो । उसले पत्रिकाको फोन नम्बर हेर्दै टुईँ टुईँ फोन लायो । अफीस त्यही फिदीम बजार हाई स्कुल छेउमा रहेछ । भात पनि हतारहतार खाएर पत्रिका बोक्दै ऊ त्यतै लाग्यो ।

ठ्याक्कै एक जना भलादमी बाटामा उभिइरहेका थिए । जम्का भेटमै पहिचान भई गयो । कति सानदार अफिस । बोली बचन कति नरम, ओठैमा घिउ दले जस्तो । सोझो गुरूङ ओटी समेत गरेर असीहजार कट्ने लोभले भुतुक्क भयो । उसका मनभित्र धेरै कल्पनाका लड्डुहरु पाके । पाँच बर्ष बसेँ भने कसो गणेश अंकलको साउखेत जोड्न नसकिएला र ? उ भावनामै दौडीयो ।

घरसल्लाह गर्दै चारदिन भित्रमा पासपोर्ट र एक लाखको बिटो लगेर त्यही अफीसमा बुझायो । यताउता साहु खोज्यो तर थप पैसा भेटेन । जसोतसो अनिरुद्र सरले पचास हजार तीन महिनालाई हाल्दिए । एकलाखमा अलैँची बारी घुमाउने माहिलोलाई बन्धकीमा बेच्यो । अझ पैसा पुग्ने कुरै भएन । हलका गोरू बेच्यो । भेडा बाख्रा बेच्यो । यी हलगोरू र अलैँचीबारी बेच्दा आमा र श्रीमती साँच्चै रोएका थिए । बाबु जाने कुरा बुझरे छोराछोरी पनि त्यसै निराश भएका थिए । इष्टमित्र, नातागोता, स्कुलका सरहरू, गुरूहरु अनिरूद्र, डम्बर र चक्रले तँलाई यहीँ राम्रो छ, अब उमेर बित्यो भनेर कति फकाए तर उसले सुन्ने छाँट देखाएन ।

श्रीमती र आमाले पनि विदेश जाने मान्छेले धेरै दुःख पाएको कथा यताउताबाट सुनिसकेछन् क्यार । श्रीमतीले कती फकाई, लाख बिन्ति गरी । तर उसले कसैको कुरा सुनेन । उसले पुन ः हजुरबुबाको फोटा हेरेर मनमनै भन्यो , “म आर्मी नै नभए पनि ठाउँ त उही हो । म जान्छु । अब यो अठोटमा मेरो कति पनि फेरबदल हुँदैन ।”

नभन्दै हिड्ने दिन आइपुग्यो । सुटकेस कस्यो । हिँड्नको तयार भयो । तल केलिङ चोकमा गाडीले हर्न बजाउँदै थियो । उ हिँड्नको हतारमा थियो । आमा र श्रीमतीले मनमा गाँठो पारेर, आँशुका धारा चुहाउँदै टिका र माला लगाइदिए । छोराछोरी पनि सुँक्क सुक्क गरेर रूँदै थिए ।

“नरुनु, दुख नमान्नु, राम्रो पढ्नु । म तिमीहरुकै भाग्य कमाउन गएको । टिभी ल्याएर डिसहोम हालिदिउँला । नेट जोडी दिउँला । दिनै नेटमा कुरा गरौला ।” भन्दै ऊ हिँड्यो । उ हिँडेपछि पटक्कै पछाडी फर्केन । बुढी आमा, श्रीमती, छोेराछोरी सबै रूँदरूँदै उ गएको बाटो देखिउन्जेल हेरिरहे । ऊ बाटामा भेटिएका साथीभाइलाइ पनि बाइ बाई भन्दै हात हल्लाउँदै गयो ।

फिदीम पुग्यो । ग्याँट बुझायो । काठमान्डौं हुँदै पाँच दिनका दिनमै मलेसीया पुग्यो । तर कहाँको एग्रिकल्चर फार्म ? कहाँको सुपरभाइजर ? उसले त जोरभारु जङ्गल पूर्वपटटीको रबर फर्ममा पो ड्यूटी पायो । सुत्ने बस्ने सामान्य घर । खाने पैसा आफ्नो । रबरको चोप जती निकाल्न सक्यो त्यति पैसा पाइने । एक महिना त नजानेको काम सिक्दैमा बित्यो । कैले परदेश नआएको उसलाई जन्मभूमी, घर परिवार र साथी भाईको मायाले सताईरह्यो । त्यो महिना मरेर खर्च कटाएर बिस हजार भन्दा बढि जम्मा गर्नै सकेन । त्यो महिनाको पैसा उसले साथीलाई सापट दियो ।

तिन महिनापछि साथीसँग केही पैसा सापट मागेर घरमा नेट जोड्न र खर्च गर्न भन्दै रु तीसहजार र अनिरुद्र सरको तिर्न भन्दै रु पचास हजार पठायो । तर उसलाई बाह्र घण्टा ड्यूटी गर्दा साँच्चै गाह्रो हुन थाल्यो । आफुले काटेका रूखको टोक्री अर्काले उठाइदिन्थ्यो । भाषा नबुझेको हुँदा ठेकदारले ठग्ने आदी समस्या हुँदाहुँदै पनि उ सुन्थ्यो, पुराना काम गर्ने इन्डोनेसीयनहरूले महिनाको साठी देखि असी हजार सम्म थाप्छन । यो सुन्दा उसका मनमा आशाका किरणहरु फेरी पलाएर आउँथे ।

चौँथो महिनाको काम चल्दै थियो । घर परिवार ईष्टमीत्र सबैसँग नेटमा कुरा हुँदै थिए । विश्व नै कोरोना सङ्क्रमणले आक्रान्त भएको कुरा समाचारमा उसले सुन्न र हेर्न भुलेको थिएन । नभन्दै मलेसिया पनि कोरोना सङ्क्रमणबाट छुट्न सकेन । हजारौँ सङ्क्रमित भए । सयौंको संख्यामा मानिसहरू मर्न थाले । नेपाली पनि मरे । काममा नाकबन्दी भयो । पैसा आउन ठप्प भयो ।

बस्ने ठाउँ भएपनि खानेकुराका समस्याले उनीहरू ग्रसित भए । पसलेले बाँकी दिएन । थोरै पैसाले चिउरा, चाउचाउ र पानीको भरमा छ दिन बिताए । त्यसपछि त्यो पनि किन्ने पैसा नभएर नबाँचिने भयो भन्दै उनीहरू अन्यौलमा परे ।

पल्लो क्वाटरको इन्डोनेशिएनले त्यहाँभन्दा डेढ सय किलोमिटर टाढा मालिकको घर देखेको रहेछ । फुका चिउरा र चाउचाउ चपाउँदै चपाउँदै उनीहरू मालिकको खोजीमा हिँडे । चार दिनको दिन मालिकको घर पत्ता लाग्यो । मालिकको उनीहरूलाई केही खानेकुरा र ओढ्ने ओछ्याउने दिँदै गोदाममा थन्क्यायो र कोरोना परिक्षण गर्ने स्वास्थ्य टोलिलाई खबर गर्यो ।

दुर्भाग्य ! दलसिंह र एउटा ईन्डोनेसियन कोरोना भाइरसले संक्रमित भइसकेका रहेछन् । मालिक असल हुनाले पुलिसलाई खबर गरेर ति दुईलाई आईसोलेनमा पठायो भने अरूलाई क्वारेन्टाईनमा राख्यो । दिलसिंहका सबै सपनाहरु चकनाचुर भए । ऊ जीवनदेखि पुरै थाक्यो, मानौँ उ अव निकट समयमै मर्दै छ । यता बिरामको चाप छुट्टै थियो, उता आँखा अगाडी नाँच्ने बुढी आमा, श्रीमती, छोराछोरी, प्यारो जन्मभूमी र आफन्तको याद अर्कै थियो ।

यता कालीपा गाउँमा हाहाकार मच्चियो । दलसिंह कोरोना सङ्क्रमित भयो अरे । उसलाई चिन्ने जान्ने सबैले ठाडाठाडा कान लगाउँदै दुःख ब्यक्त गरे । घरमा आमा श्रीमती छोराछोरी भक्कानिएर रून थाले । उसले घरमा फोन गर्ने आँट गरेन । बरू अनिरूद्र सर लगायत अरू इष्टमित्रलाई बारम्बार फोन गर्दै, “घरव्यवहार र रिनपान छ, अव म बाँचिन । सरहरूकै जिम्मा ।” भन्दै घुँक्क घुँक्क रोयो । सरहरू र इष्टमित्रहरू पनि दलिसिंहको बिजोग सम्झेर दुःख मान्दै चुक्चुकाउन थाले ।

दलसिंहकी श्रीमती र आमा घरीघरी रूँदै सरहरूकहाँ पग्थे । सरहरू पनि के गरून र ? उपाय हुँदै छ भन्दै सान्तवना दिने काम न हो । अनिरूद्र, चक्र लगायत गाउँलेहरुको अव के गरौँ भन्दै बैठक बसाए । हरिसरको छोरो शंखर पनि त्यही ठाउँमा अलपत्र थियो । उनीहरू सबै मिलेर स्थानीय दुई पूर्वसंसद लगायत बिभिन्न पार्टी पंक्तिमार्फत मन्त्रालयदेखि राजदुताबाससम्मका शक्ति भिडाउन थाले ।

चौतर्फी दबाबपछि नेपाल सरकारले पनि विपतमा अलपत्र परेकालाई स्वदेश ल्याउने तयारी गर्यो । त्यो ठाउँका सङ्क्रमित दलसिंह र शंखरका लागि सत्तरीसत्तरी हजारका दरले टिकटको पैसा जम्मा भयो । तर फिर्ता हुने बेला शंखरको कोरोना रिपोर्ट नेगेटिभ आयो र ऊ आउने निश्चित भयो । तर दुर्भाग्य ! संक्रमीत दलसिंहको अझै पोजेटिभ रिपोर्ट आएको हुँदा नेपाल सरकारले उसलाई ल्याउन सकेन ।

ओहो प्रकृति पनि कस्तो ? कालीपाको गहिरो खोँच सात दिन अगाडीदेखि परेको पानीसँगै हुस्से र कुहीरोले ढाकिएर त्यसै उराठ देखिन्छ । दलसिंहका पिडाले कसैका ओठमा हाँसो छैन । परिवार सबै मुर्छीत छन् ।

अब कहिले जाला यो कोरोना कहरको डर ? अनि कहिले बन्ला खै दलसिंहको स्वदेश फिर्ने परिस्थिति ? उसलाई निर्धक्क अँगालो हाल्ने उसको परिवारका सपना कहिले पुरा होलान ?

(प्रगतिशील लेखक संघ झापाका अध्यक्ष उपन्यासकार राजेन्द्र सङ्ग्रौलाका दृष्टि, तुँवालेभित्र, तुलेका पाइलाहरू, गरिबीका रेखाहरू र रोजगारको खोजीमा गरेर पाँचवटा उपन्यासहरू प्रकाशित छन् । उहाँको छैटौँ उपन्यास “लकडाउन डायरी” प्रकाशनको तयारीमा छ ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको