८ जेष्ठ २०७९, आईतवार

आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्रले प्रजातन्त्रमाथि ‘कु’ गरेको दिन




काठमाडौं । आज माघ १९ गते । १७ वर्षअघि आजकै दिनमा तत्कालीन राजा ज्ञानेन्द्रले राजनैतिक ‘कु’ गरेर निरङ्कुश शासनको सुरुवात गरेका थिए । मुलुकमा जारी हिंसात्मक द्वन्द्वलाई देखाएर उनले जनताका मौलिक अधिकार निलम्बन गरेका थिए ।

प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गरी तत्कालीन राजा ज्ञानेन्द्रले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएर ‘राजनैतिक कु’ गरेको दिनलाई कालोदिनका रुपमा सम्झने गरिन्छ ।

संसदीय व्यवस्थाबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हटाई प्रत्यक्ष निरङ्कुश शासन व्यवस्था लादेको भन्दै आजको दिनलाई कालोदिनका रुपमा सम्झिने गरिन्छ । सम्पूर्ण राजकीय अधिकार आफ्नो हातमा लिई राजनीतिक सहमतिका आधारमा बनेको सरकारलाई अपदस्थ गरेका थिए ।

प्रमुख राजनीतिक दलका नेताहरूलाई पक्राउ गरी नजरबन्दमा राखिएको थियो । राजाको कदमबाट २०४६ सालमा स्थापित बहुदलीय प्रजातन्त्रको मान्यताहरू पूर्णरुपमा समाप्त भएपछि दलहरूको आन्दोलन चर्किएको थियो ।

ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम भएको भन्दै अपदस्त गरेर आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए । दरबार हत्याकाण्ड लगत्तै राजा बनेका ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराएका थिए भने रेडियोमा समाचार रोक लगाइएको थियो । तर यो अवस्था धेरै दिन रहन सकेन ।

ज्ञानेन्द्रको यस कदमले जनयुद्ध चलाइरहेको तत्कालीन माओवादी र संसदवादी दलहरूलाई एकजुट बनायो । दलहरू राजाको उक्त प्रत्यक्ष शासनको विरुद्ध एकजुट भए र आन्दोलन चर्किँदै गयो । २०६२, ०६३ को जनआन्दोलनको सूत्रपात पनि यही दिनको कदम मानिन्छ ।

२०६२ मङ्सिरमा दिल्लीमा द्वन्द्वरत माओवादी र तत्कालीन सातदलबीच १२ बुँदे समझदारी भएपछि माओवादीसहित ८ राजनीतिक शक्तिले राजसंस्था विरुद्ध आन्दोलन गरेका थिए । त्यही आन्दोलनको सफलतापछि २ सय ३८ वर्षीय राजसंस्थाको अन्त्य भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको