मनघरी फाउण्डेसनद्वारा सुर्खेत र जाजरकोटमा स्वास्थ्य सामग्री सहयोग
२७ भाद्र, काठमाडौं । कोरोना महामारीले पुरै नेपाललाई नै आतङ्कित बनाएको छ । नेपालमा दिन प्रतिदिन कोरनाका कारण मानिसहरूको मृत्यु भइरहेकोे छ भने संक्रमितको दर पनि बढ्दो छ । कोरोना महामारी सुरु भएसँगै कर्णालीका विभिन्न जिल्लामा स्वास्थ्य सामग्री सहयोग गर्दै आएको मनघरी फाउण्डेसनले यसलाई निरन्तरता दिएको छ ।
फाउण्डेशनले जिल्ला अस्पताल र नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका साथै सुर्खेत शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जाजरकोट जिल्ला अस्पतालका लागि २० थान पिपिई सेट, २० थान फेस सिल्ड, २० थान के ९५ मास्क, ५ सय सर्जिकल मास्क र ५ लिटर सेनिटाइजर पठाएको छ । त्यस्तै जिल्लामा पत्रकारहरूका लागि १० थान प्रेस ज्याकेट, १० थान सेनिटाइजर, १० थान फेस सिल्ड, १० थान के ९५ मास्क हस्तान्तरण गरेको हो ।
यसैगरी फाउण्डेशनले नेपाल पत्रकार महासंघ सुर्खेतका लागि प्रेस ज्याकेट २० थान, सेनिटाइजर २० थान, के ९५ मास्क २० थान, फेस सिल्ड २० थान हस्तान्तरण गरेको हो । त्यस्तै जिल्ला अस्पताल रुकुम तथा नेपाल पत्रकार महासंघ रुकुम शाखाका लागि प्रेस ज्याकेट १० थान, सेनिटाइजर १० थान, के ९५ मास्क १० थान, फेस सिल्ड १० थान र जिल्ला अस्पतालका लागि १५ थान पिपिइ सेट, २० थान फेस सिल्ड सहयोगस्वरूप उपलब्ध गराएको छ । जिल्ला अस्पताल सल्यानका लागि १५ थान पिपिइ सेट, १५ थान फेस सिल्डका साथै नेपाल पत्रकार महासंघ सल्यान जिल्लाका लागि प्रेस ज्याकेट १० थान, सेनिटाइजर १० थान, के ९५ मास्क १० थान, फेस सिल्ड १० थान पठाउनका लागि तयारी भइरहेको फाउण्डेशनले जनाएको छ ।
फाउण्डेशनले यस अघि हुम्ला, डोल्पा, मुगु र दैलेख जिल्लाका सबै स्थानीय तहलाई पिपिइ सेट, मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री पठाइसकेको छ । नेपाल पत्रकार महासंघ दैलेख शाखा र डोल्पा शाखाका लागि पनि प्रेस ज्याकेटका स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए । पहुँच र सुविधाका हिसाबले कर्णाली पछी परेको छ । एक अर्काबीच हातोमालो गर्दै अघि बढेमा कोराना नियन्त्रण गर्न सकिने भएकाले कोरोना नियन्त्रणमा अग्रमोर्चामा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी तथा सहि सूचना प्रदान गरिरहेका पत्रकारहरूको हौसला प्रदान गर्न स्वास्थ्य सामग्रीहरू प्रदान गरेको थापाले बताए ।
पछिल्लो चरणमा सुर्खेत, जाजरकोटमा वितरण गरिएको तथा सल्यान र रुकुम पठाउन लागिएको स्वास्थ्य सामग्रीहरू मनघरी फाउण्डेशनका सल्लाहकार सि.ए. मनोज ज्ञवाली र डा. रविन खड्का, समाजसेवी चन्दु थापा, खेलकर्मी एवम् समाजसेवी रवीन्द्र चन्द ठकुरी, प्रारम्भ सामाजीक संस्था, आनी छोइङ डोल्मा फाउण्डेशन, राष्ट्रिय आविष्कार केन्द्र र दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीले सहयोग गरेका हुन् ।
सुर्खेतमा मनघरी फाउण्डेशनका सल्लाहकार डा.रवीन खड्काले नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सदस्य कलेन्द्र सेजुवाल र नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष माया थापालाई हस्तान्तरण गरेका छन् । त्यस्तै जाजरकोटमा भेरी नगरपालिकाका उप–प्रमुख भावना भण्डारीले स्वास्थ्य सेवा कार्यालय जाजरकोटका अध्यक्ष धर्मशिला बस्नेतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन् ।