१४ जेष्ठ २०७९, शनिबार

कर्णालीमा सिटामोलको चरम अभाव



सुर्खेत । पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना भाइरस ओमिक्रोन तेस्रो भेरियन्ट तीव्र रुपमा बढिरहेको छ । सङ्क्रमण बढ्दै जाँदा भने जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको पाइँदैन । सरकारी तथा सार्वजनिक कार्यालयमा सेवाग्राहीका भीड लाग्न रोकिएको छैन । नागरिकले स्वास्थ्य संस्था, यातायात, मालपोत, निर्वाचन कार्यालयमा सुरक्षा सावधानी बिनै सेवा लिँदै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन यही माघ १ गते १२ बुँदे आदेश जारी गरिसकेको छ । एकै ठाउँमा २५ भन्दा बढी सहभागी नहुने, अनिवार्य मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गरेर दैनिक क्रियाकलाप गर्नेलगायतका प्रशासनको १२ बुँदे जारी आदेश पालना भएको छैन ।

सङ्क्रमणको दर भने दैनिक उकालो लाग्दै गएको छ । वीरेन्द्रनगरमा बिहीबार मात्र १३७ कोरोना परीक्षण गर्दा १०५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यद्यपि धेरैले कोरोना परीक्षण गरेका छैनन् । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार बिहीबार कर्णालीमा ३२७ मा गरिएको कोरोना परीक्षणमा ११२ मा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण दर बढ्दै जाँदा भने बजारमा प्राप्त हुने खाद्यवस्तु, औषधिलगायतका मानव जीवनका दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव बढ्न थालेको छ । यही अवस्थालाई मध्य नजर गर्दै जिप्रकाले बिहीबार सुर्खेतका मुख्य बजारमा औषधि सप्लायर्स पसलको आकस्मिक अनुगमन गरेको थियो । (रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको