१५ जेष्ठ २०७९, आईतवार

प्रदेश सरकारको उपेक्षामा जुम्ला र मुगु, एम्बुलेन्स न शववाहन




सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रनको असर न्यूनीकरण गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकबाट सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुममा एम्बुलेन्स खरिद गर्न २० लाखको दरले रकम विनियोजन गरेको छ । यस्तै, दैलेख, कालिकोट, सल्यान र रुकुममा शववाहन खरिद गर्न १२ लाखको दरले रकम विनियोजन गरिएको छ ।

तर, जुम्ला र मुगुमा सडकको पहुँच हुँदाहुँदै पनि न एम्बुलेन्सका लागि रकम विनियोजन गरिएको छ न त शववाहनका लागि। यो विषयमा कर्णाली प्रदेश सरकारले जुम्ला र मुगुमाथि निकै उपेक्षा गरेको पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताए । ‘कोरोनाको पहिलो र दोस्रो लहरमा संक्रमण रोकथाम र नियन्त्रणमा राम्रो भूमिका निर्वाह गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शववाहन छैन । यो अस्पतालमा संक्रमणले मृत्यु भएको शव ट्याक्टरमा बोक्नुपर्ने स्थिति हुँदा पनि प्रदेश सरकारले शववाहनको व्यवस्थापन नगर्नु दुःखद पक्ष हो,’ शाहीले भने ।

मुख्यमन्त्री जीवनबहादुर शाही भने शववाहन र एम्बुलेन्सको माग नआएको बताउँछन् । सोमबार पत्रकार भेटघाटमा उनले माग आएमा तुरुन्तै निर्णय गरी खरिद गर्न सकिने बताए । तर, विगतमा जिल्ला कोभिड संकट व्यवस्थापन समिति बैठकले केन्द्र र प्रदेश सरकारसँग पटकपटक एम्बुलेन्स र शववाहन माग गर्दैैै आएको छ । शववाहन नहुँदा ट्याक्टरमा शव बोक्न सहज नहुने र महँगो भाडा तिनुपर्ने स्थानीयको बाध्यता रहेको छ ।

सो क्रममा मुख्यमन्त्री शाहीले कोरोना न्यूनीकरणका लागि प्रदेश अस्पताल सुर्खेतको अनलाइन युपिएस सिस्टमका लागि ३८ लाख र आवश्यक मेसिनरी खरिदका लागि दुई करोड रुपैयाँ प्रदेश अस्पतालमा पठाइएको बताए । उनले कर्णालीमा रहेका ६६ वटा सामुदायिक स्वास्थ्य इकाइहरूका लागि पाँच लाखका दरले तीन करोड ३० लाख पठाइएको पनि जानकारी दिए । प्रदेश सरकारले कर्णालीका विभिन्न आठ स्थानमा अक्सिजन प्लान्ट स्थापना गरेको छ । यसैगरी उपचारका लागि जिल्ला बाहिरबाट सुर्खेत आउनेहरूका लागि कर्णाली नागरिक अतिथि गृह निर्माणको काम अगाडि बढेको उनले बताए ।

बजेट खर्च न्यून
कर्णाली सरकारले चालू आर्थिक वर्षको पुस मसान्तसम्म ९।५ प्रतिशत बजेट खर्चको प्रगति देखाएको छ । चालू खर्चतिर १४.७८ र पुँजीगततर्फ ६.०५ प्रतिशत खर्च भएको हो। कर्णाली सरकारले तीन अर्ब ६४ करोड ६७ लाख ६ हजार नौ सय ५२ बजेट प्रस्तुत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको