१४ जेष्ठ २०७९, शनिबार

‘सङ्घीयतामा शिक्षा’ पुस्तकमा के छ ?


डा. मीनबहादुर शाही
२ माघ २०७८, आईतवार

यो पुस्तक केही महिना र एक वर्षमा लेखिएको होइन । यसले झण्डै २० वर्षको समय लिएको छ । २०५७ सालदेखि सामुदायिक विद्यालयहरूमा गएको बेलामा अवलोकन, अनुभव र महशुस भएको कुराहरूको प्रतिफल भएकाले यसमा ठाडो क्रमवद्धता छ । यद्यपि यसमा उल्लेखित केही कुराहरू परिमार्जित भइसकेका छन् र विकसित रूपमा अभ्यासरत छन् ।

कितावले अन्तिम रूप पाएपछि प्रकाशित भएर विमोचन हुने बारेमा कुरा गर्दा एकजना साथीले एउटा प्रश्न सोध्नुभयो, ‘यसमा के छ ?’ मैलें भनें कि यसमा सबै छ । उहाँले फेरी सोध्नुभयो कि शिक्षक तालिमका बारेमा पनि छ ? मैलें भने, ‘त्यो त झन छुट्नै नहुने कुरा ।’ यत्तिकैमा उहा“ले एउटा पुस्तक लिनु भयो । त्यसको २ हप्तापछि पुस्तक विमोचनको कार्यक्रम थियो । उहाँलाई यो पुस्तक पढ्न १० दिन लागेछ । उहा“को भनाईमा, धेरै ठाउँमा बुझ्न गाह्रो विषयवस्तु थियो । त्यसैले अलमलिदै, दोहोर्याउँदै, सोच्दै, अरुलाई सोध्दै पढ्नुभयो । धेरै दिनलागे पनि सुरुबाट अन्त्यसम्म सिध्याउनु भयो । यसै बींचमा पुस्तकको विमोचन पनि पर्यो । त्यसैले पुस्तकका समिक्षकहरूले गरेका टिप्पणीहरू पनि सुन्न पाउनु भयो रे । अन्त्यमा उहाँको भनाईमा यस पुस्तकले समग्रतालाई उजागर गरेको छ र सिकाइमूकल छ रे । त्यसैले यस पुस्तकको सारांश यसरी गरेको छु ।

विगतको जीवन्तता –भविष्यका लागि इसारा
१९१० सालमा दरवार स्कुलको स्थापना र त्यसपछिको विस्तारका क्रममा स्कुल, शिक्षण सिकाइ वातावरण, शिक्षक, विद्यार्थी, सामग्री र सरोकारवालाहरूको भूमिका तथा सुविधाका बारेमा जीवन्त अभिलेखका रूपमा उभिएको छ यो पुस्तक । समयक्रमअनुसार माथि उल्लेखित सबै पक्षमा सुधार हुँदै गएको छ र जानेछ । तर पनि यस पुस्तकले विगतको जग वा धरातललाई सम्झाई रहनेछ । सुधारका पाटाले लिएको मोडलाई जीवन्तता दिइरहनेछ । सुधारको यात्रामा भित्रिएका नराम्रा पक्षहरूलाई यसले सधैंका लागि कैद गरिदिएको छ । साधन स्रोत र सरोकारवालाहरूको सकारात्मक पक्षलाई सिकाइका रूपमा स्थापित गरिदिएको छ । सरकारी प्रकृयागत कमजोरीहरूलाई छिटै सुधार गर्न सन्देश दिएको छ ।

शिक्षा क्षेत्रमा विद्यमान समस्या र चुनौतीहरू समग्रतामा सम्वोधन नगरी परिवर्तन सम्भव छैन । तर समग्रतामा जानका लागि राष्ट्रको पूँजी आफैमा चुनौंती हो भने नीति निर्माण र कार्यान्वयन तहमा बस्नेको चिन्तन पहिलो चुनौती बनेको छ ।

यसको एउटा शीर्षकमा शिक्षकबाट कति आशा गर्ने भन्ने प्रश्न गरेको छ । शिक्षकको जिम्मेवारी, वाध्यता, सङ्लग्नता र विद्यमान अवस्थामा शिक्षक वा एउटा शिक्षकले चाहेर पनि धेरै गर्न सक्दैन भन्ने प्रष्ट पारिएको छ । त्यसै गरेर तालुक अड्डा दिनहुँ धाउनेमा शिक्षक र प्रधानाध्यापक नै बढी हुन्छन् र त्यसबाट स्कुलमा कति दिनसम्म असर पर्छ भन्ने उल्लेख गरिएको छ । यसै गरेर खाली खुट्टा र पातलो कपडा लगाएर स्कुल जाने बालबालिका हिउँदको समयमा कक्षा कोठामा बस्नभन्दा पनि चौरमा खेल्न मन पराउँछन् र यसबाट सिकाई कसरी प्रभावित हुन्छ भनिएको छ । यी र यस्तै दर्जनौं मुद्दाहरू उठाएर यस पुस्तकको खण्ड ‘ख’ मा ८५ ओटा शिर्षक समेटिएको छ । यही खण्ड नै यस पुस्तकको मुख्य भाग हो । सङ्घीयता र शिक्षाको सन्दर्भलाई लिएर केही उपाय सहित खण्ड ‘क’मा चार वटा शिर्षक उल्लेख गरिएको छ । यसको खण्ड ‘ग’मा स्वदेश र विदेशका केही राम्रा अभ्यासहरू उल्लेख गरिएको छ । जुन कुराहरू नेपालमा पनि निरन्तरता दिन उपयुक्त देखिन्छन् । साथै विदेशका राम्रा अभ्यासहरूलाई कार्यान्वयनमा ल्याउन सक्दा राम्रो हुने सुझाव दिएको छ । उदाहरणका लागि इजरायलको हिला परियोजना र केटीकालागि केटी कार्यक्रम नमूनायोग्य छन् । लेखकले खण्ड ‘घ’मा समेटिएको व्यक्तिगत भोगाइ शिक्षक र विद्यार्थी सबैका लागि प्रेरणादायी हुनसक्छ ।

यस पुस्तकले विगत र वर्तमानलाई, गाउँ र सहरको अवस्थालाई, अनि स्वदेश र विदेशलाई एउटैमा प्रस्तुत गरिदिएको छ । यसले एकातिर हाम्रा स्कुलहरूमा के कस्ता कमजोरीहरू र अभावहरू छन् भन्ने कुरा उजागर गरेको छ भने अर्कोतिर सुधारका उपायहरू सङ्केत गरिदिएको छ । साथै परिवर्तित शासकीय संरचनामा कसरी प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ भन्ने कुरा प्रष्ट्याएको छ । त्यसैले यो पुस्तक शिक्षाका नीति निर्माता देखि विद्यालय र समुदायमा सक्रिय सरोकारवालाहरूका लागि उत्तिकै उपयोगी हुनसक्छ अथवा एउटा सन्दर्भ सामग्री हुनसक्छ । दैलेख जिल्लाका सबै विद्यालयमा कम्तिमा एकप्रति पुर्याउने प्रयास लेखक स्वयम्बाट भइरहेको छ । साथै अन्यजिल्ला र स्थानीय तहका विद्यालयहरूमा लैजानका लागि मनकारी व्यक्ति, संघ संस्था र स्थानीय सरकार अपेक्षा गरिएको छ । यही माघ पहिलो हप्ताबाट यो पुस्तक बजारमा जाँदैछ ।

डा. शाही ‘शिक्षा सरोकार केन्द्र नेपाल’ मा कार्यकारी अधिकृतको रूपमा कार्यरत छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको