१४ जेष्ठ २०७९, शनिबार

कालीकोटमा कोभिड–१९ बढेपछि जिल्ला प्रशासन कार्यालयले जारी ग¥र्यो पाँच बुँदे आदेश




सुर्खेत । जिल्ला प्रशासन कार्यालय कालीकोटले कोभिड–१९ संक्रमण नियन्त्रणका लागि भन्दै ५ बुँदे निर्देशन जारी गरेको छ । कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिस एवं गृह मन्त्रालयको निर्णय आज (शुक्रबार) राति १२ बजेदेखि लागू हुने गरि आदेश जारी गरेको हो ।
जस अनुसार सार्वजनिक स्थलमा हुने सबै प्रकार राजनीतिक तथा धेरै जना उपस्थित हुने गरि प्रशासनिक, सार्वजनिक, सामाजिक एंव त्यही प्रकृतिको कार्यक्रम तथा भेला, मेला महोत्सव आयोजना नगर्ने, सार्वजनिक स्थलहरुमा २५ भन्दा बढी भेला हुने गरि कार्यक्रम आयोजना नगर्ने अत्यावश्यक र पहिल्यै तय भैइसकेका हकमा स्थानीय प्रशासनको अनुमति लिएर कोभिड–१९ को स्वास्थ्य सम्बन्धि सुरक्षा मापदण्ड अपनाएर कार्यक्रम गर्न निर्देशन जारी गरेको छ ।
सार्वजनिक स्थानहरुमा(कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, पार्क आदी)मा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड–१९ बिरुद्ध खोप लगाएको कार्ड (मोवाइलमा फोटो भए पनि हुने) साथमा राख्ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउनु पर्ने जिल्ला प्रशासन कालीकोटले जारी गरेको सूचनामा जनाइएको छ । यद्यपी, यो व्यवस्था माघ ७ गतेपछि मात्र लागु हुने जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ ।
त्यस्तै, माघ ७ गतेदेखि सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गर्ने र सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने, यात्रु प्रवेश गर्ने ढोकामा सेनिटाइजर राख्ने र प्रयोगको व्यवस्था गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ ।
कोभिड–१९ को बढ्दो संक्रमणलाई दृष्टीगत गरी घर बाहिर वा सार्वजनिक स्थलमा निस्कदा अनिवार्य मास्कको प्रयोग, भौतिक दुरी कायम गर्ने, समय समयमा साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने लगाएतका स्वास्थ्य सम्बन्धि मापदण्ड अनिवार्य पालना गर्ने गराउने जिल्ला प्रशासन कार्यालयले निर्देशन जारी गरेको छ ।
जिल्लामा कोभिड–१९ संक्रमणको दर बढेकाले जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । ‘जिल्लामा दिनानुदिन कोभिड–१९ का संक्रमित बढ्दै गएका कारणले यो आदेश जारी गर्नु परेको हो ।’ उनले भने,‘यो आजै (शुक्रबार) देखि नै लागु हुनेछ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको