२१ मंसिर २०७९, बुधबार

आफ्नै खर्चमा गएका कर्णालीका खेलाडीले अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ल्याए २ स्वर्ण




सुर्खेत । बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण कराँते प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडीले २ स्वर्ण पदक प्राप्त गरेका छन् । बंगलादेश गोजुरियो कराँते दो संघको आयोजनामा गत डिसेम्बर २६ तारिखदेखि २९ तारिखसम्म चलेको बि.जी. अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा सहभागि कर्णालीका खेलाडीले २ स्वर्णसहित २ काँस्य पदक जितेका हुन् ।
प्रतियोगितामा सुर्खेतका प्रकाश खड्काले एकल कातामा स्वर्ण र ७५ के.जी. कुमितेमा कास्य पदक जिते । त्यस्तै, दैलेखका हिक्मत रोका मगरले ६५ के.जी. कुमितेमा १ स्वर्ण र सुर्खेतका सन्दिप महतले ७० के.जी. कुमितेमा कास्य पदक जिते ।
आफ्नै निजी खर्चमा बंगलादेश पुगेका सुर्खेतका २ र दैलेखका १ खेलाडीले पदक जितेर फर्केको जिल्ला खेलकुद विकास समिति सुर्खेतले जनाएको छ । जिल्ला गोजुरियो कराँते संघ सुर्खेतले बुधबार एक कार्यक्रमको आयोजना गरी पदक जित्ने खेलाडीलाई सम्मान गरेको छ ।
सरोकारवाला निकायसँग कर्णालीका खेडालीको खेल सहभागिता र खर्चका सम्वन्धमा ध्यानाकर्षण गराइने सम्मान जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरीले बताए ।
नेपाल कराँते महासंघ कर्णाली प्रदेशका टेक्निकल कमिटीका अध्यक्ष प्रदिपकुमार राईले आफ्नै खर्चबाट पदक जितेर राष्ट्रको शान र कर्णालीको गौरब बढाएकोमा खेलाडीलाई बधाई दिंदै यसमा प्रदेश सरकार पनि जिम्मेवार भएर लाग्नुपर्ने बताए ।
आगामी दिनमा प्रतियोगितामा अधिकतम पदक ल्याउने सितेरियो कराँते लगायतका मार्शल आर्ट्स र एथलेटिक्सका खेलाडीका लागि विशेष प्याकेज ल्याउनुपर्नेमा जोड दिए । उनले कर्णालीमा बढीभन्दा बढी प्रतियोगिता आयोजना गर्नुपर्ने र विभिन्न प्रतियोगिताहरुमा खेलाडीको सहभागिता बढाउन कर्णाली सरकारले जिम्मेवार भएर लाग्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको