नेकपा महाधिवेशन चैत्रमा : तीन महिनापछि यसरी टुङ्गियो विवाद
२६ भाद्र, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अपरान्ह ४ बजे सकिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रस्तुत गरेको प्रस्ताव पारित गर्दै शुक्रबार स्थायी कमिटी बैठक सकिएको हो ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ । बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १३ नेताले आफ्ना धारणा राखे ।
नेताहरूले दिएको लिखित र बैठकमा आएको सुझावलाई समेत समेटेर प्रस्ताव पारित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । श्रेष्ठका अनुसार अब पार्टीलाई विधि र पद्धतीमा अगाडि बढाइने र सरकार पार्टीको मागर्दशनमा चल्नेछ । सरकारको दैनिक कार्यमा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत विषयमा पार्टीमा परामर्श गरेर मात्र निर्णय लिइनेछ । बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको छ । त्यसको तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटी बैठक बोलाइने भएको छ ।
गत असार १० गते सुरु भएको नेकपाको स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको थियो । पछिल्लो पटक साउन १३ गते तय गरिएको बैठक स्थगित भएपछि आज पहिलो पटक बसेको हो । यसबीचमा पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्वय ओली र प्रचण्डले महासचिव बिष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय विवाद समाधान कार्यदल गठन गरेका थिए । साउन ३० गते गठन गरिएको कार्यदलमा स्थायी कमिटी सदस्यहरू भीम रावल, जनार्दन शर्मा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र पम्फा भुसाल सदस्य रहेका थिए । कार्यदलले प्रतिवेदन बुझाएपछि बिहीवार मात्रै अध्यक्षद्वय ओली र प्रचण्डले स्थायी कमिटी बैठकका लागि साझा प्रस्तावलाई अन्तिम रूप दिएका हुन् ।
अध्यक्षद्वयको प्रतिवेदन पारित भएसँगै दुई अध्यक्षको कार्यविभाजन भएको छ भने अव नेतादेखि साधारण सदस्यसम्म कडा अनुशासनमा बाँधिनु पर्ने भएको छ । अवदेखि सामाजिक सञ्जाल र कमिटीभन्दा बाहिर आफ्नो आक्रोश जथाभावी पोख्न पाइने छैन । नेकपामा अहिलेसम्म सामाजिक सञ्जालमार्फत् पार्टी नेताविरुद्ध एकअर्कालाई आरोप प्रत्यारोप लगाउने परिपाटी रहदै आएको थियो ।
असार १० गतेबाट सुरू भएको स्थायी कमिटी बैठकमा चर्को विवाद हुँदा झण्डै पार्टी बिभाजन हुने तहमा पुगेपछि कार्यदल गठन गरिएको थियो । हाल अध्यक्षद्वयको प्रतिवेदन तयार भएपछि तिन महिना देखि चल्दै आएको विवाद सहमतिमा पुगेर समाधान भएको छ । यो बैठकसँगै नेकपामा देखिएको विवाद पुर्ण रूपमा समाप्त भएको नेताहरूले बताएका छन् ।